राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको भूकम्प पाँच वर्षअघि गोरखा केन्द्रविन्दु भएर गएको विनासकारी भूकम्पकै परकम्प भएको बताएका छन्।
बुधबार बिहान पाँच बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प भएको थियो।
‘आज बिहान गएको भूकम्प ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प हो,’ नेपालखबरसँग अधिकारीले भने, ‘यो अलि ठूलो भएको कारण परकम्प होइन कि भन्ने पनि कतिपयलाई लागेको हुनसक्छ। तर, यो पनि गोरखा भूकम्पकै परकम्प हो।’
ठूला भूकम्प गएपछि परकम्प निकै लामो समयसम्म गइरहने उनले बताए। ‘परकम्प कहिलेसम्म जान्छ यकिन भन्न त सकिँदैन,’ उनले भने, ‘तर विश्वमा ठूला भूकम्प गएपछि सयौँ वर्षसम्म पनि परकम्प गएका उदाहरण छन्। हाम्रोमा गोरखा भूकम्पको परकम्प कम्तिमा पनि १० वर्षसम्म गइरहने अनुमान हामीले गरेका छौँ।’
उनले ठूलो भूकम्प गएको केही घण्टापछिदेखि सयौँ वर्षसम्म पनि परकम्प गइरहने बताए।
‘नेपालमा भूकम्पको व्यवस्थित मापन गर्ने प्रणालीको विकास करिब २० वर्षअघिबाट हुन थालेको छ। त्यसअघि नेपालमा गएका ठूला भूकम्पको परकम्प कहिलेसम्म गयो, हाम्रो रेकर्डमा छैन,’ अधिकारीले भने, ‘अब हाम्रोमा पनि व्यवस्थित मापन गर्ने प्रणालीको विकास भएको छ। त्यसैले भूकम्पको मापन पनि वैज्ञानिक ढंगले हुन थालेको छ।’
उनले बुधबार बिहान गएको ६ रेक्टरस्केलको भूकम्प मध्यम खालको भएको बताए।
‘यो मध्यम खालको भूकम्प हो। सात रेक्टर स्केलदेखि माथिका भूकम्पलाई मात्रै विनासकारी मान्न सकिन्छ,’ उनले भने। पाँच वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर सात दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको थियो।
अहिलेसम्म गोरखा भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिका पाँच सय ४८ वटा परकम्प गइसकेका छन्। ‘गोरखा भूकम्पछि चार रेक्टर स्केलभन्दा साना भूकम्प त पचासौँ हजार गइसकेका छन्। तर, चार रेक्टर स्केलभन्दा तलका भूकम्पको खासै अर्थ हुँदैन। रेकर्ड पनि राखिँदैन,’ अधिकारीले भने।
याे पनि बिहानै ६ रेक्टरको भूकम्प, सिन्धुपाल्चोक केन्द्र बिन्दु
Shares

प्रतिक्रिया