अहिले (बुधबार बिहान) काठमाडौं उपत्यकासहित देशका केही स्थानमा सिमसिम पानी परिरहेको मौसमविद्ले जानकारी दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार एक–दुई घण्टादेखि प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको हो।
‘यो क्रम अझै केही बेर जारी रहने देखिएको छ,’ मौसमविद् पौडेलले बुधबार बिहान नेपालखबरसँग भने, ‘त्यसपछि पानी रोकिने सम्भावना छ।’
मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार फेरि दिउँसो देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भवना छ।
‘यसाे भन्नुकाे अर्थ देशभरकै केही स्थान हो,’ मौसमविद् पौडेलले भने।
साथै दिउँसो गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी राति पनि देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। साथै प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।
आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ :
प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया