सरकारले आगामी १६ भदौबाट हुने भनिएको नियमित तथा चार्टर उडानको तालिका बनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका बनाएर स्वीकृत गरी कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ।
पछिल्लो समय काठमाडौं उपत्यकालगायत मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै सञ्चालन गर्न लागेको हवाई उडानका लागि थुप्रै सर्त राखिएका छन् । मन्त्रालयले विभिन्न ८ देशमाथि गत चैतदेखि लगाएको हवाई उडान प्रतिबन्ध खुला गराउँदै अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान तालिका तय गरेको हो।
पर्यटन मन्त्रालयले तय गरेको तालिकाअनुसार अब मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, युएई र कतारलाई अन्तर्राष्ट्रिय नियमित व्यावसायिक हवाई उडानले पुनः नेपालसँग जोडिदिनेछ।
पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको नयाँ उडान तालिकाअनुसार अब नेपाल आउने हवाई यात्रु र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले विभिन्न सर्तको पूर्ण पालना गर्नुपर्नेछ। यो खबर आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन्।
पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्य
पर्यटन मन्त्रालयले तय गरेको यस नयाँ तालिकाअनुसार अब नियमित व्यावसायिक उडानबाट नेपाल आउने हरेक यात्रुको पिसिआर नेगेटिभ आएको रिपोर्ट अनिवार्य बुझाउनुपर्छ, त्यो पनि ७२ घण्टा भित्रको । पिसिआर नेगेटिभ सुनिश्चित भएपछि मात्र सम्बन्धित वायुसेवाले यात्रुलाई बोर्डिङ पास दिनुपर्ने छ।
सबै यात्रुको पिसिआर नेगेटिभ भए सोझै घर जान पाइने
अब एउटै उडानबाट आएका सबै यात्रुले पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ नतिजा भएको देखाएमा सबै यात्रु होम क्वारेन्टिनमा बस्ने गरी विमानस्थलबाट सोझै आफ्नो जान सक्नेछन् । घर गएपछि भने अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्नेछ।
अनलाइन फाराम अनिवार्य
नियमित व्यावसायिक उडानबाट आउने सबै यात्रुले विमान चढ्नुभन्दा ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ भएको प्रमाण र सिसिएमसीको वेबसाइटमा राखिएको फाराम भरेर त्यसको बारकोड वा प्रिन्ट अनिवार्य साथमा ल्याउनुपर्नेछ। कुनै यात्रुले यस्तो फाराम भर्न छुटाएको भए सम्बन्धित वायुसेवा कम्पनीले विमान चढाउनुभन्दा अघिकै समयमा यात्रुलाई फाराम उपलब्ध गराउनुपर्ने सर्तसमेत राखिएको छ।
वायुसेवा कम्पनीले एउटै विमानबाट फाराम नेगेटिभ आएको र परीक्षण नै नगरेका यात्रुलाई ल्याउन पाउने छैनन्।
कोरोना परीक्षण नगरेका यात्रु ल्याए कारबाही
सरकारले फाराम परीक्षण सम्भव नहुने नेपाली रहेका स्थानमा चार्टर उडान राखेको छ । तर, नियमित उडानमा भने अब फाराम नभएका, कोरोना पोजेटिभ देखिएका र सरकारले जारी गरेको सर्त पालना नगरी यात्रु ल्याएमा भने त्यसको सजाय सम्बन्धित वायुसेवा कम्पनीले पाउने भएका छन्।
विदेशी यात्रुको हकमा परिचयपत्र अनिवार्य
सरकारले पहिलो चरणको नियमित उडानको क्रममा विदेशबाट नेपाली नागरिकबाहेक कूटनीतिक नियोगमा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधि, संयुक्त राष्ट्रसंघका नियोगमा कार्यरत कर्मचारी र तिनका परिवारलाई मात्र आउन अनुमति दिएको छ । यस्ता व्यक्तिलाई बोर्डिङ पास दिने क्रममा परराष्ट्र मन्त्रालय, कन्सुलर विभागले जारी गरेको परिचयपत्र र पासपोर्ट हेर्नु पर्नेछ।
नियुक्तिपत्रवाहकलाई छुट
कुनै पनि कूटनीतिक वा पदीय जिम्मेवारी सम्हाल्न पहिलो पटक नेपाल आउने व्यक्तिको हकमा भने उसको नियुक्ति पत्र र पासपोर्टलाई आधार मानेर यात्राको अनुमित दिइनेछ । यस्ता व्यक्तिको पनि पिसिआर परीक्षणसहित अन्य प्रावधान भने नेपालीलाईसरह लागू हुने उल्लेख छ।
स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य
नेपाल आउने सबै यात्रुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्ने छ।

प्रतिक्रिया