छापा खबर


उपत्यकाका सबै क्वारेन्टाइनलाई अब आइसोलेसनमा रुपान्तरण गरिने

उपत्यकाका सबै क्वारेन्टाइनलाई अब आइसोलेसनमा रुपान्तरण गरिने

नेपालखबर
भदौ ५, २०७७ शुक्रबार ०:३६,

काठमाडौँ उपत्यकामा दैनिक कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपत्यकाका नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी गरिएको छ।

पहिलो चरणमा भक्तपुरको खरिपाटीमा निर्माण गरिएको क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गरिसकिएको छ।

अब क्रमिक रूपमा सबै नगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनलाई आइसोलेसन बनाइने खबर आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन्।

उपत्यकामा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइनले मात्र काम नगर्ने र निश्चित सङ्ख्यामा नियमित परीक्षण गर्ने सहितको आइसोलेसन कक्ष आवश्यक पर्ने उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बताए।

पहिलो चरणमा भक्तपुरबाट सुरु गरिए पनि क्रमिक रूपमा उपत्यकाका सबै नगरपालिकाभित्र आइसोलेसन कक्ष निर्माण गरिने उनले बताए। अहिले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा तीन सय बेड र भक्तपुर अस्पतालमा २५ बेडका आइसोलेसन कक्ष छन्।

उपत्यकामा दैनिक बढ्दै गएको कोरोना भाइरस नियन्त्रण गर्न सबै नगरपालिकाले एकीकृत कार्ययोजना निर्माण गर्नुपर्नेमा उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख सहमत छन्।

काठमाडौँ उपत्यकामा बढ्दो कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था गम्भीर बन्दै गए प्रत्यक्ष चिकित्सकको निगरानीमा आइसोलेसन अत्यावश्यक भएको उपत्यका नगरपालिका फोरमले जनाएको छ।

फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले उपत्यकामा बढ्दै गएको कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था हेरचाहका लागि हाल भएका आइसोलेसनले नपुग्ने भएकाले सबै नगरपालिकाभित्र आइसोलेसन निर्माण गर्ने गरी आन्तरिक तयारी भएको बताए।

उपत्यकाका १८ वटा नगरपालिकामा अहिले करिब एक हजार क्षमताको क्वारेन्टाइन निर्माण भएका छन् । उक्त क्वारेन्टाइन सबै पूर्वाधारयुक्त छैनन् । उपत्यकामा कोरोनाका सङ्क्रमित बढ्दै गएपछि कतिपय सङ्क्रमित घरमै परिवारभन्दा अलग्गै बस्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad