छापा खबर


कोरोना महामारीकै बीच सहसचिव र उपसचिव गरी २८२ पदमा भर्ना खुल्दै

कोरोना महामारीकै बीच सहसचिव र उपसचिव गरी २८२ पदमा भर्ना खुल्दै

नेपालखबर
साउन ३०, २०७७ शुक्रबार १:३१,

कोभिड–१९ को बढ्दो संक्रमणबीच पनि सरकारका विभिन्न निकायमा रिक्त रहेका सहसचिव र उपसचिवमा नयाँ भर्ना प्रक्रिया सुरु हुने संकेत देखिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय सरकारका विभिन्न मन्त्रालय, निकाय, आयोग तथा सचिवालयमा रिक्त सहसचिव र उपसचिवको संख्या पठाउन बिहीबार पत्राचार गरेको छ।

मन्त्रालयले आगामी १० भदौभित्र सबै रिक्त पदको विवरण पठाउन ती निकायलाई पत्राचार गरेको हो।

मन्त्रालयले पदपूर्ति प्रक्रियाका लागि रिक्त दरबन्दीको विवरण माग गरेकाले सहसचिव र उपसचिवमा लोकसेवा आयोगको वार्षिक क्यालेन्डरअनुसार नै परीक्षा हुन सक्ने देखिएको खबर आजको राजधानी दैनिकले छापेको छ।

मन्त्रालयका अनुसार हाल सबै निकायमा गरेर सहसचिवतर्फ अप्राविधिक (प्रशासन) तर्फ ५२ र प्राविधिक सेवा समूहमा ३० गरी ८२ बढी पद रिक्त छन्।

उपसचिवतर्फ दुवै सेवा समूहमा गरी २ सयभन्दा बढी पद रिक्त छ। जसमा प्रशासन सेवाको १ सय ३० र अप्राविधिक सेवाको ७० बढी पद रिक्त रहेको मन्त्रालयले जनाएको छ। दुवै सेवा समूहमा गरी सहसचिवतर्फ ८२ र उपसचिवतर्फ २ सय जना गरी २ सय ८२ पदका लागि परीक्षा हुने देखिएको हो।

सामान्यको सो मागपत्रअनुसार अब सबै निकायले आफ्नो निकायमा रिक्त सहसचिव र उपसचिवको पद संख्या पठाउनु पर्नेछ। त्यसरी पठाइएको पदसंख्याका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त पदपूर्तिका लागि लोकसेवासमक्ष सिफारिस गर्ने कानुनी प्रावधान छ।

लोकसेवा आयोगले आफ्नो वार्षिक परीक्षा क्यालेन्डरअनुसार नै सहसचिवदेखि खरिदारसम्मको परीक्षा सञ्चालन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad