आइतबार गोंगबुमा मृत भेटिएका व्यक्तिको हत्या आर्थिक लेनदेनका कारण भएको हुन सक्ने प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।
प्रहरीले हत्या भएको घरसमेत सोमबार फेला पारेको छ। प्रहरीले आइतबार हत्यापछि जेब्रा झोलामा टाउको र खुट्टा तथा घाँटी मुनिदेखि घुँडामाथिसम्मको भाग सुटकेसमा हालेर फ्याँकिएको अवस्थामा शव फेला पारेको थियो।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार बिहानै मृत व्यक्तिको फोटो सार्वजनिक गरेपछि मृतकको पहिचान खुलेको खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।
प्रहरीले दिउँसो करिब तीन बजे सुटकेसमा शव फ्याँकिएको करिब ५० मिटर परको दुरीमा साढे तीन तले हरियो घरमा हत्या भएको निष्कर्ष निकालेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने हत्याको अनुसन्धानका क्रममा धेरैलाई सोधपुछका लागि बोलाइएको र छाडिएको तर सोमबार साँझसम्म हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको दाबी गरे।
‘हत्याको अनुसन्धानका क्रममा धेरैलाई सोधपुछका लागि बोलाइएको छ र छाडिएको छ तर सोमबार साँझसम्म हत्यामा संलग्न व्यक्ति पक्राउ परिसकेका छैनन्, अनुसन्धान जारी छ,’ परिसर काठमाडौंका प्रमुख ज्ञवालीले भने।
प्रहरी उच्च स्रोतका अनुसार शव फालिएको स्थान नजिकैका तीन तले घरको दोस्रो तलामा रहेको भान्छा कोठामा बोहोराको हत्या गरिएको प्रहरी अुसन्धानले देखाएको छ । भान्छाकोठा ९किचन०मा घाँटीमाथिको भाग छिनाएपछि ट्वाइलेटमा लगेर घुँडामाथिको भाग छिनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो ।
प्रहरीका अनुसार मृतक बोहोरा गत मंसिरबाटै नयाँ बसपार्क मित्रनगरको वीरेन्द्र ऐश्वर्य मार्गस्थित नर्सिङधाम गेस्ट हाउसमा बस्दै आएका थिए।
उनी सोह्रखुट्टेस्थित एक गार्मेन्ट उद्योगमा काम गर्थे । उनले ज्याकेट र रेनकोटको मार्केटिङसमेत गर्ने गरेका थिए।
प्रहरीले आइतबार अबेरसम्मको प्रयासबाट पनि शवको सनाखत गर्न नसकेपछि सोमबार बिहानै मृतकको फोटो सार्वजनिक गरेको थियो। अपराध महाशाखा र काठमाडौं प्रहरीले मृतकको मुहार सार्वजनिक गर्दै कसैले चिनेको भए प्रहरीसँग सम्पर्क गर्न आग्रह गरेको थियो । त्यसपछि उनी दाङ घर भएका कृष्णबहादुर बोहोरा भएको पुष्टि भएको थियो।
फोटो देखेपछि चिन्यौं - गेस्ट हाउस सञ्चालक
बोहोरा दाइ मंसिरदेखि हाम्रो गेस्ट हाउसमा बस्दै आउनुभएको हो । उहाँ एक्लै नै बस्नुहुन्थ्यो । उहाँले भनेअनुसार सोह्रखुट्टेमा गार्मेन्टमा काम गर्ने र ज्याकेट र रेनकोटको मार्केटिङको काम गर्ने भन्ने सुनेका थियौं।
दुई साताअघि ५० लाख खाएर भागेको मान्छे फेला पारें, केही दिन नआउन पनि सक्छु, नडराउनुहोला, फोन पनि नलाग्न सक्छ भन्नुभएको थियो। रुमको भाडा दिन बाँकी भएर त्यसो भनेको होला जस्तो लाग्यो । उहाँले भनेअनुसार पैसा खाएर भाग्ने मान्छे महिला हो भन्ने लाग्छ।
चितवनबाट महिला पक्राउ
गोंगबुमा कृष्णबहादुर बोहोराको बीभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा चितवनको टाँडीबाट एक महिला पक्राउ परेकी छन्।
चितवन प्रहरीले टाँढी, माधवपुरबाट कल्पना शाहीलाई हत्याको आशंकामा पक्राउ गरेको हो । स्रोतका अनुसार उनी प्रहरीले सोमबार फेला पारेको हत्या भएको घरको कोठामा बस्दै आएकी थिइन् । तर, हत्यापछि शव फालेर उनी चितवन गएको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ। प्रहरीले उनलाई सोमबार राति नै काठमाडौं ल्याउँदै छ।
आइतबार गोंगबु चोकनजिकै सुटकेसभित्र टाउको र खुट्टाबिनाको शव फरक फरक स्थानबाट तालिम प्राप्त कुकुरको सहायताबाट प्रहरीले फेला पारेको थियो ।

प्रतिक्रिया