छापा खबर


नेपालमा कोरोना : यस्ताे छ वृद्धवृद्धाको मृत्युदर, बालबालिका पनि जोखिममा

नेपालमा कोरोना : यस्ताे छ वृद्धवृद्धाको मृत्युदर, बालबालिका पनि जोखिममा

नेपालखबर
साउन २३, २०७७ शुक्रबार १:४०,

नेपालमा हालसम्म ८० वर्ष नाघेका २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ जनाको मृत्यु भएको छ। यो ८ प्रतिशत हो।

यस्तै, १० वर्षमुनिका ८ सय ५५ जना संक्रमित पाइएका छन्। तीमध्ये ३ जना (०.३५ प्रतिशत) को मृत्यु भएको छ।

‘विश्वव्यापी प्यारामिटरमा हेर्दा बालबालिका मृत्युको यो दर निकै ठूलो हो। कोरोनाले बालबालिकालाई केही असर गर्दैन भन्ने सन्देश सुरुआती दिनमा गयो। त्यो सच्चिनुपर्छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्यविज्ञ डा.सुरेश तिवारीले भने, ‘बालबालिकालाई सुरक्षित राख्न अभिभावकीय कर्तव्य हुनुपर्छ। जनस्वास्थ्यका दृष्टिले यो विशेष सन्देश हो।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेको समाचार अुनसार वृद्धवृद्धामा भने रोग प्रतिरोधात्मक क्षमता नै न्यून हुन्छ। ‘संख्यात्मक हिसाबले २ जनाको मृत्यु भए पनि अन्य उमेरसमूहभन्दा यो उच्च मृत्युदर हो। ६० वर्षभन्दा माथिका व्यक्तिको स्वास्थ्यलाई ख्याल गर्दा मानवअधिकारभन्दा पनि जनस्वास्थ्य अधिकारका दृष्टिले पनि हेरिनुपर्छ’, डा.तिवारीले भने, ‘यो उमेरसमूहमा मृत्युदर अधिक छ। सरकार र नागरिकले विशेष रूपमा ध्यान दिन जरुरी छ।’

लक्षणसहितको संक्रमितबाट वृद्धवृद्धामा रोग स¥यो भने त्यसले मृत्युदर अझ बढाउने उनको भनाइ छ।

६१ वर्षमाथिको समूहमा संक्रमण न्यून देखिन्छ। तर, मृत्युदर बढी छ। ६१ देखि ७० वर्ष समूहमा ११ जनाको ज्यान गएको छ। यो समूहमा ३ सय १० जना संक्रमित छन्। यो झन्डै ३.२३ प्रतिशत हो। ७१ देखि ८० वर्षसम्मका ५ जनाको मृत्यु भएको छ। यो उमेर समूहमा ९४ जना संक्रमित छन्। मृत्युदर ३।१९ प्रतिशत हो।

संक्रमितको संख्याका दृष्टिले ६० भन्दा कम उमेर समूहका व्यक्ति धेरै छन्। डा.तिवारीका अनुसार चलायमान उमेर समूहका व्यक्तिलाई कोरोना संक्रमण बढी देखिएको हो। यो समूहका व्यक्ति चलायमान हुने हुँदा संक्रमण र मृत्यु संख्यात्मक रूपमा बढी देखिएको उनको भनाइ छ।

२१ देखि ३० वर्षसम्मका झन्डै ९ हजार संक्रमित छन्। यीमध्ये ७ जना (०.०८ प्रतिशत)को ज्यान गएको छ। यसैगरी ३१ देखि ४० वर्षसम्मका ५ हजार संक्रमित छन्। यीमध्ये ६ जना (०.१२ प्रतिशत)को मृत्यु भएको छ। ४१ देखि ५० वर्षसम्मका संक्रमितमध्ये १८ जना (०.६२)को ज्यान गएको छ। यो समूहका संक्रमितको संख्या २ हजार २ सय ६४ छ। ५१ देखि ६० वर्ष उमेर समूहमा ११ जनाको मृत्यु भएको छ। यो समूहमा ८ सय ७९ जना संक्रमित छन्। यो मृत्युदर १.२५ प्रतिशत हो। ११ देखि २० वर्षसम्मका ३ हजार २ सय ३९ संक्रमित छन्। यीमध्ये २ जना (०.०३ प्रतिशत)को ज्यान गएको छ।

कोरोना समुदायमा फैलिएको अवस्थामा स्थिति भयावह हुने विज्ञको भनाइ छ। जनस्वास्थ्यविद् डा.समीरमणि दीक्षितका अनुसार कोरोना संक्रमण समुदायको तहमा फैलिसकेको छैन। ‘अहिलेको संक्रमण केही केही ठाउँमा फैलिएको हो, जुन क्षेत्रका रूपमा देखिएको छ’, डा.दीक्षितले भने।

नेपालमा संक्रमणको पछिल्लो अवस्थालाई विश्वका अन्य मुलुकसँग तुलना गर्दा मृत्युदर न्यून छ। हालसम्म २१ हजार ७ सय ५० जनामा संक्रमण भइसकेको छ। जसमध्ये ६५ जनाको ज्यान गएको छ। यो ०.३ प्रतिशत हो। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रति १० लाख जनसंख्यामा मृत्यु २.२३ प्रतिशत छ। कोरोनाबाट मुक्त हुनेको दर भने ७०.५७ प्रतिशत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad