छापा खबर


सवारी साधनमा फेरि जोर बिजोर लागू गर्ने तयारी, विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री

सवारी साधनमा फेरि जोर बिजोर लागू गर्ने तयारी, विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री

नेपालखबर
साउन २०, २०७७ मंगलबार ०:१८,

सरकारले काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमणको गति तीव्र रूपमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ।

त्यसका लागि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)सहित स्वास्थ्यका विज्ञसँग मंगलबार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो अवस्था र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न लागेका खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन्।

सिएमसीका एक सदस्यका अनुसार सिसिएमसी बैठकमा संक्रमण बढ्दै गएपछिको वर्तमान अवस्थामा अति आवश्यक क्षेत्र बाहेकलाई बन्द गरेर निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर लागू गर्ने विषयमा छलफल भइरहेको छ।

सोमबार उपत्यकामा मात्रै ५१ जनामा संक्रमण देखिएपछि प्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न लागेका हुन्।

‘संक्रमणको अवस्था बढ्दो क्रममा छ, समितिको बैठकमा अब अति आवश्यक बाहेकका क्षेत्रलाई बन्द गरेर निजी तथा सार्वजनिक दुवै सवारी साधनलाई जोर बिजोर लागू गराउनुपर्छ भन्ने सन्दर्भमा छलफल भएको छ। प्रधानमन्त्रीज्यूलाई मंगलबार बिफ्रिङ हुनेछ,’ सिसिएमसीका ती सदस्यले भने।

सरकारले यसअघि निजी सवारीमा मात्रै जोर बिजोर लागु गरेको थियो। सिसिएमसी स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले समेत सिसिएमसीमा जोर बिजोरको प्रस्ताव गरेको छ।

सरकारले लकडाउनलाई खुकुलो गरेसँगै गत २६ असारबाट निजी सवारी साधनमाथि लगाइएको जोर बिजोर प्रणाली हटाइएको थियो । सरकारले १ भदौबाट लामो दुरीको सवारीसमेत सञ्चालन गर्ने निर्णय गरिसकेको छ। तर, जोखिम दिनदिनै बढ्दै जाँदा लामो दुरीका सवारी सुचारु गर्ने विषयमा समेत सरकार पछि हट्ने सम्भावना छ।

मन्त्रालयले उपत्यका प्रवेश गर्ने तीन नाका थानकोट, साँगा र फर्पिङमा १० देखि १३ साउनसम्म गरी १० हजार ८ सय २७ नमुना संकलन गरेको थियो । त्यसमध्ये करिब ३७ सय नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad