छापा खबर


फूल टिपेको निहुँमा वडाध्यक्षले नौ वर्षीय बालकको कानको जाली फुट्ने गरी कुटे

फूल टिपेको निहुँमा वडाध्यक्षले नौ वर्षीय बालकको कानको जाली फुट्ने गरी कुटे

नेपालखबर
साउन ३, २०७६ शुक्रबार १:३६,

आँगनको फूल टिपेको निहुँमा घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष भीमबहादुर सार्कीले छिमेकी नौ वर्षीय बालकलाई बायाँ गालामा नीलडाम हुने गरी कुटेका छन् ।

बुधबार गाउँमा साउने संक्रान्तिको लुतो फाल्ने कार्यक्रम चल्दै गर्दा अन्य केटाकेटीसँगै खेल्दै हिँडेका भरत घर्तीलाई वडाध्यक्ष सार्कीले कुटेका हुन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा दाङबाट भुपेन्द्र वलीले लेखेका छन्।

भरतको बायाँ कान र पेटमा समेत चोट लागेको आमा रेवता घर्तीले बताइन् । वडाध्यक्ष सार्कीले पनि भरतलाई कुटेको स्विकारेका छन् ।

पीडित बालककी आमा रेवता घर्तीले वडाध्यक्षले बाबुलाई लखेट्दै घरमै आएर कानमा हानेको र फूल टिप्यो भनेर पाँच हजार जरिवाना तिर भन्दै थकाएको बताइन्।

वडाध्यक्ष सार्कीले भने फूल टिपेपछि सचेत गराउन टाउकोमा प्याट्ट पारेको दाबी गरे। ‘घटनालाई ठूलो बनाउनुपर्दैन, उपचार गरिदिन्छु,’ उनले भने।

कानमा नभई टाउकोमा हल्का हिर्काएको उनको दाबी छ । बालक भरतले भने आफूले वडाध्यक्षको आँगनको फूल नै नटिपेको बताएका छन् ।

बालकको घोराही नयाँ बजारस्थित ‘नयाँ बजार नाक, कान, घाँटी तथा डेन्टल केयर सेन्टर’मा उपचार गरिएको छ । रातभर कान दुखेर छटपटाएपछि छोरालाई बिहीबार बिहान अस्पताल लगेको रेवताले बताइन् ।

भरतले कान नै सुन्न छाडेको उनको भनाइ छ । तर, बालकको कानमा धेरै फोहोर जम्मा भएकाले एक हप्तासम्म फोहोर झिकेपछि मात्रै कानको जालीमा असर परे–नपरेको थाहा हुने चिकित्सक विक्रम बुढाथोकीले बताए ।

छोरो कुटिएपछि रेवताले वडाध्यक्ष सार्कीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएकी छिन् । जिप्रकाका इन्स्पेक्टर राजन गौतमले महिला तथा बालबालिका सेलमा निवेदन दर्ता गराएको बताए । शुक्रबार दुवै पक्ष बोलाएर छलफल गराउने उनले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad