छापा खबर


सुत्नुअघि सबैले कोरोनाविरुद्धको औषधि खाएका थिए, तर पहिरोले उठ्नै दिएन

सुत्नुअघि सबैले कोरोनाविरुद्धको औषधि खाएका थिए, तर पहिरोले उठ्नै दिएन

नेपालखबर
असार ३०, २०७७ मंगलबार १:१८,

तनहुँको ऋषिङ-८ भैंसीकिलेका आनबहादुर र उनका भाइ हरिकुमार थापाको संयुक्त परिवार थियो।

नछुट्टिई बसेको उनीहरूको परिवारलाई आइतबार मध्यरात पहिरोले उजाड पारिदिएको छ। एकै परिवारका पाँच जनाले ज्यान गुमाएका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा तनहुँबाट पवन पौडेलले लेखेका छन्।

आनबहादुरका साहिला छोरा भेषबहादुर, बुहारी नानीमाया, अर्की बुहारी मनिसरालाई पहिरोले खोसेको छ। मनिसरा तीन महिनाकी गर्भवती थिइन्। भेषबहादुरकी छोरी अमिषासँगै आनबहादुरका अर्का छोरा महादेवको पनि ज्यान गएको छ।

अघिल्लो दिनदेखि पानी अविच्छिन्न परिरहेको थियो। दुई परिवार सँगै भए पनि आनबहादुरका छोराबुहारी छेउको घरमा बस्थे। खाना सँगै खाने उनीहरू आइतबार राति अबेरसम्म एकसाथ थिए। ‘पानी परेको पर्‍यै छ, कति खेर के हुने हो? ’, भेषबहादुरको बोली सम्झिँदै काका हरिकुमारले भने, ‘आज बरु सँगै बसौं।’

केही समयअघि घरनजिकै ढिस्को खसेकाले घनघोर वर्षा हुँदा भेषबहादुरलाई चिन्ता परेको रहेछ। ‘आज सँगै बस्नुपर्छ के हो’, भेषबहादुरले यसो भने पनि परिवारले गम्भीरतापूर्वक लिएन। ‘ऊ सधैं ठट्टा गथ्र्यो’, हरिकुमारले भने, ‘हामी दाजुभाइ एउटै घरमा बस्ने भएकाले सँगै भए पनि उनीहरू खाना खाएपछि गए।’

सुत्न जानुअघि भेषबहादुरले कोरोनासँग लड्ने भन्दै प्रतिरोध क्षमता बढाउने औषधि बाँडेका थिए। ‘बेलुका सबैले सँगै खाइयो’, भेषबहादुरको भनाइ उद्धृत गर्दै हरिकुमारले भने, ‘भोलि बाँचियो भने सबैले सँगै खाउँला।’ भेषबहादुरले सधैंझैं ठट्टा गरेका होलान् भन्ने लाग्यो अरूलाई। तर, यसो भनेर गएको केही घण्टामै सधैंका लागि विलीन भए।

हरिकुमार र आनबहादुर बसेको घरमा पनि पहिरो खस्यो। तर, सँगै भएकाले उनीहरूले हत्तपत्त ज्योतिमायालाई उद्धार गर्न भ्याए। ‘भाउजूलाई त सँगै भएकाले जोगाउन सक्यौं’, हरिकुमारले ग्लानि भावमा भने, ‘उसले (भेषबहादुर) भनेझैं सँगै बसेको भए सबै बाँचिन्थ्यो कि।’

मध्यरातमा भएको घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसँगै स्थानीय उद्धारमा खटिएका थिए।

गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले मानिसले मात्र नसकेकाले जेसीबी ल्याएर बेपत्ताको खोजी थालिएको बताएका थिए। गाउँपालिकाले पीडित परिवारलाई तत्काल १ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad