छापा खबर


कोरोना विरुद्ध भन्दै प्रमाणिकताविनाका औषधि बाँड्न थालियो, सरकारले नै दियो अनुमति

कोरोना विरुद्ध भन्दै प्रमाणिकताविनाका औषधि बाँड्न थालियो, सरकारले नै दियो अनुमति

नेपालखबर
असार २२, २०७७ सोमबार २३:५७,

कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भन्दै दुई निजी संस्थाले अप्रमाणित औषधि गैरकानुनी रूपमा वितरण गरिरहेका छन्।

‘आर्सेनिकम एल्बम ३० सी’ नामक औषधिले कोरोनासँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने भन्दै दुई मारवाडी संस्थाले देशभर निःशुल्क औषधि वितरण गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा सागर चन्दले लेखेका छन्।

त्यस्ता औषधि नियन्त्रण र नियमन गर्नुको साटो मन्त्रिपरिषद्को निर्णयबाटै तोक लगाएर केही आइसोलेसन केन्द्र र क्वारेन्टाइनमा समेत वितरण भएको पाइएको छ।

नेपाल राष्ट्रिय मारवाडी परिषद् र नेपाल मारवाडी सेवा समितिले ७७ वटै जिल्लामा ६० लाखभन्दा बढी मानिसलाई औषधि वितरण गरेको परिषद्का अध्यक्ष पवन मित्तलले जानकारी दिए ।

‘आर्सेनिकम एल्बम ३० सी’ औषधि डायरिया, कन्सिटपेसन, छाला, खोकीजस्ता रोगका लागि प्रयोग हुने भन्दै औषधि व्यवस्था विभागमा दर्ता छ । तर, अन्य प्रयोजनका लागि दर्ता भए पनि यसलाई कोरोना प्रतिरोधी भन्दै वितरण भइरहेको छ।

‘यो गैरकानुनी काम भएको मैले पहिलेदेखि नै भन्दै आएको हुँ । अहिले जुन उपयोगका लागि भनेर बाँडिएको छ, त्यसअनुसार यो औषधि औषधि व्यवस्था विभागमा दर्ता नै छैन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले भने ।

सामाजिक कार्यका लागि दर्ता भएका परिषद् र समितिले अनधिकृत रूपमा औषधि वितरण गरेर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दासमेत सरोकारवाला निकायले चासो नदेखाएकोमा जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

खाद्यान्न र लत्ताकपडा बाँडेजसरी औषधि बाँडिएको भन्दै जनस्वास्थ्यविद् शरद वन्त भन्छन्, ‘सरकारी निकायको अनुमति छैन । चिकित्सकको निगरानी छैन । खाद्यान्न, लत्ताकपडा बाँड्याजसरी जसले पनि औषधि बाँड्दै हिँडेको छ । यो त जनस्वास्थ्यमाथि भएको गम्भीर खेलबाड हो । मन्त्रालयले तुरुन्तै एक्सन लिनुपर्छ।’

स्वयंसेवकले बाँडिरहेको यो औषधि चिकित्सकको निगरानीबेगर बिक्रीवितरण गर्न नमिल्ने होमियोप्याथिक चिकित्सक डा.प्रेमनारायण श्रीवास्तव बताउँछन् । ‘चिकित्सको निगरानी नभई त वितरण गर्न मिल्दैन । बिरामीको विवरणअनुसार चिकित्सकले औषधिको मात्रा तय गर्छन् । चकलेट हो र जसले पायो त्यसले बाँड्न,’ उनले भने ।

महामारीको समयमा व्यापारीहरू सामेल सामाजिक संस्थाले भ्रम फैलाउँदै औषधि बाँड्नुलाई ‘माल मेडिकल प्राक्टिस’ अर्थात् गलत मेडिकल अभ्यासका रूपमा अथ्र्याउँछन् चिकित्सा मानवशास्त्री डा.सचिन घिमिरे ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad