कोरोना भाइरस महामारीका सम्बन्धमा चीन सरकारको आलोचना गर्ने एकजना चिनियाँ प्राध्यापकलाई सोमबार पक्राउ गरिएको छ।
कोरोना महामारीबारे चीन सरकारको आलोचना गर्दै यसअघि नै लेख लेखेका प्राध्यापक सु झानग्रुनलाई सोमबार हिरासतमा लगिएको हो। त्यो लेख लेखेदेखि नै उनलाई घरमै नजरबन्दमा राखिएको थियो।
उनका साथीका अनुसार बेइजिङस्थित ती प्राध्यापकको घरमा सोमबार बिहानै २० जना प्रवेश गर्दै उनलाई पक्राउ गर्नाका साथै उनका कम्प्युटरसहित विभिन्न दस्तावेजन जफत गरेका हुन्।
ती प्राध्यापकका अर्का मित्र जेङ जिओनेनले न्युयोर्क टाइम्ससँग भनेका छन्- उनी हिरासतमा जान मानसिक रूपमा तयार भएर बसेका थिए। उनले एउटा झोलामा कपडा, दाँत माझ्ने ब्रस तथा मञ्जनलगायत हालेर राखेका थिए।
बीबीसीका बेइजिङ संवाददाताका अनुसार प्राध्यापक सुले चीनमा अभिव्यक्ति स्वतन्त्रतामा लगाइएको रोकविरुद्ध आवाज उठाउने जोखिमपूर्ण बाटो रोजेका थिए।
उनले चीनमा एउटा व्यक्ति जतिपटक पनि राष्ट्रपति हुन पाउने प्रावधानको पनि विरोध गरेका थिए। जुन प्रावधानका कारण वर्तमान राष्ट्रपति सी चिनफिङले जीवनभर राष्ट्रपति रहन पाउने सुविधा पाए।
त्यसबेलादेखि नै उनलाई चीनको शीर्ष शैक्षिक संस्था सिन्ह्वा विश्वविद्यालयमा पढाउन रोक लगाइएको थियो। बीबीसी

प्रतिक्रिया