छापा खबर


एसईई २०७६ : सबै विद्यार्थीले पाउँदैछन् न्यूनतम ‘सी’ ग्रेड

एसईई २०७६ : सबै विद्यार्थीले पाउँदैछन् न्यूनतम ‘सी’ ग्रेड

नेपालखबर
असार २१, २०७७ आइतबार ०:३५,

यस वर्षको एसईई परीक्षामा सबै विद्यार्थीको ग्रेड ‘सी’भन्दा मुनि नआउने देखिएको छ।

अधिकांश विद्यालयले गर्ने अन्तिम मूल्याङ्कन हेर्दा सबैले ‘ए’ प्लस देखि ‘सी’ सम्मको ग्रेड पठाउने खबर आजको समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन्।

विद्यालयले तीन तहको परीक्षाको आधारमा जिल्ला शिक्षा समन्वय इकाइलाई पठाएको अंकमा इकाइले प्रमाणित गरी परीक्षा नियन्त्रण कार्यालयमा पठाउने छन्।

मन्त्रिपरिषद्को बैठकले विद्यालयले पठाएको अन्तिम मूल्याङ्कनको आधारमा प्रमाणपत्र दिने निर्णय गरेपछि आफ्ना सबै विद्यार्थीलाई ‘ए’ प्लस देखि ‘ई’ ग्रेड आउने सम्मको नम्बर दिने अधिकार विद्यालयलाई नै हुनेछ। अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिएपछि सबै विद्यार्थीले ‘सी’ भन्दा तल नआउने आँकलन गरिएको छ।

बोर्डका अनुसार ९० देखि सय प्रतिशत अंक ल्याउनेलाई ‘ए’ प्लस, ८० देखि ८९ लाई ‘ए’, ७० देखि ७९ लाई ‘बी’ प्लस, ६० देखि ६९ सम्म ‘बी’, ५० देखि ५९ ‘सी’ प्लस र ४० देखि ४९ प्रतिशत अंक ल्याउनलाई ‘सी’ ग्रेड दिने व्यवस्था छ।

राष्ट्रिय परीक्षा बोर्डले तयार गरेको कार्यविधिमा पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र अन्तिम परीक्षाको ६० प्रतिशत अंक दिने उल्लेख छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले यस्तो अवस्थामा विद्यालयलाई अन्तिममा लिएको परीक्षालाई सय पूर्णाङ्कमा परिवर्तन गरी विषयगत अंक दिने व्यवस्था मिलाउन आग्रह गरिएको जानकारी दिए।

‘हामीले कार्यविधि बनाएका छौं, त्यसैलाई आधार मानेर अंक दिनुपर्ने व्यवस्था छ’,उनले भने। सरकारले सेन्टअप वा टेस्ट परीक्षा रद्ध गरेका कारण अधिकांश विद्यालयले विद्यार्थीको परफरमेन्सको आधारमा नम्बर पठाउने भएका छन्।

विद्यालयले कस्ता विद्यार्थीलाई कति नम्बर दिएर पठाउँछन् भन्ने विषय चासोको रुपमा हेरिएको छ । बोर्डका अध्यक्ष प्राडा पौडेलले भने, ‘यो परीक्षामा विद्यार्थीलाई कति नम्बर दिएर पठाउँछन् भन्ने विषयले विद्यालयको समेत मूल्याङ्कन हुन्छ । यो वर्ष विद्यालयको पनि परीक्षण गर्ने समय हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad