नेपालका विभिन्न क्षेत्रमा भेल पहिरोको उच्च जोखिम बढ्दै गएको पछिल्ला दिनका केही घटनाले पुष्टि गरेको छ।
विभिन्न पहाडी भूभागमा सामान्य खोल्सा र पहरामा वर्षाको भेलसहित पहिरो बनेर झर्ने क्रम बढेको खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।
शनिबार बिहान करिब २ बजेतिर बझाङको केदास्युँ गाउँपालिका-८ मल्लेसीमा त्यस्तै भयो । गाउँ माथिको खोल्सीमा आएको बाढीमै मिसिएर पहिरो खस्न थाल्यो । माथि खिरिलो पहिरोले तलको कमलो जमिन सोहोर्दै फराकिलो बनेर झण्डै आधा गाउँ बगायो।
यसपाला भेल पहिरो आएको यो पहिलो पटक होइन । मनसुन सुरु भएकै दिन जुन १२ मा पर्वतमा सामुदायिक वनबाट भेलपहिरो खस्दा दुई परिवारका नौ जनाले ज्यान गुमाए ।
गुल्मीमा गएको पहिरो, सिन्धुपाल्चोकमा गएको पहिरोको स्वरूप पनि भेल पहिरोकै रहेको विज्ञ बताउँछन् । पर्वतमा गएको भेल पहिरोको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको पहिरो अनुसन्धान शाखाबाट विशेष टोली नै खटिएको छ।
पहिरोविज्ञ कृष्ण देवकोटाका अनुसार सामान्य रूपमा तीन किसिमका पहिरो हुन्छन् । पहिलो भेल पहिरो अर्थात् गेग्रान बहाव, दोस्रो स्लोप फेलर अर्थात् सानो–सानो भिरालो जमिनमा जाने पहिरो र तेस्रो बिस्तारै सर्ने पहिरो हुन् ।
पहिलो खालको भेल पहिरो अग्ला पहाडमा बढी जान्छ भने तेस्रो प्रकारको पहिरो चुरे क्षेत्रमा जाने पहिरोमा पर्छ । दोस्रो खालको पहिरो भने नारायणगढ मुग्लिन सडक खण्डका जस्ता विकासे बाटो र निर्माणका कारण डाँडा काटिएपछि पहराबाट सुक्खा रूपमा झर्ने पहिरोलाई लिन सकिने देवकोटाले बताए।
भेल पहिरो भने अधिक वर्षाका कारण कमजोर बनेका पहाडमा जानेगर्छ । देवकोटाका अनुसार जतासुकै पहाड खनेर कमजोर पारिएको छ । त्यसपछि जोखिमको क्षेत्र पहिचान नगरी बस्ती बसेको छ, पछिल्लो कमजोरी यही हो।

प्रतिक्रिया