ad ad

छापा खबर


यी हुन् मुख्यसचिवको लबिङमा रहेका ६ सचिव, को पुग्ला निजामती सेवाको सर्वोच्च पदमा?

 यी हुन् मुख्यसचिवको लबिङमा रहेका ६ सचिव, को पुग्ला निजामती सेवाको सर्वोच्च पदमा?

नेपालखबर
असार १४, २०७७ आइतबार १:१०,

निजामती क्षेत्रको सर्वोच्च पद मुख्य सचिव बन्न सरकारका वरिष्ठ सचिवहरूको दौडधुप सुरु भएको छ।

मुख्यसचिव लोकदर्शन रेग्मीको तीन वर्षे कार्यकाल सकिनै लाग्दा सो पद हत्याउन दाबेदार सचिवहरूको दौडधुप सुरु भएको खबर आजको राजधानी दैनिकले छापेको छ।

मुख्यसचिव रेग्मीले आगामी ३ कात्तिकमा अवकाश पाउँदै छन् । उनको अवकाशको मिति साढे तीन महिनाभन्दा केही दिन मात्र बढी रहँदा आकांक्षीहरूले दौडधुप तीव्र पारेका हुन्।

मुख्यसचिवको प्रतिस्पर्धामा रहेका सचिवहरूमा परराष्ट्र मन्त्रालयका शंकरदास वैरागी, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका केदारबहादुर अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा, उद्योग मन्त्रालयका चन्द्रकुमार घिमिरे, वन तथा वातावरण मन्त्रालयका विश्वनाथ ओली र सहरी विकास मन्त्रालयका मधुसूदन अधिकारी छन्।

राजनीतिक नेतृत्वसँग प्रत्यक्ष सम्बन्ध राख्ने यो पदमा पुग्न ठूलै राजनीतिक लबिङ आवश्यक पर्छ । मुख्यसचिव रेग्मीले अन्तिम समयसम्म काम गर्दा र १५ दिनअघि मात्रै राजीनामा दिँदा पनि फेरबदलमा ठूलो परिवर्तन आउने देखिएको छ।

अवकाशको एक महिनाअघि नै बिदामा बस्ने परम्परा भने पछिल्ला केही वर्षदेखि तोडिएकाले मुख्यसचिव रेग्मी पनि एक महिनाअघि बिदामा बस्ने सम्भावना छैन।

यसकारण शक्तिशाली छ मुख्यसचिव पद
– सरकारको प्रमुख प्रशासकीय अधिकारी
– प्रधानमन्त्रीको प्रमुख प्रशासनिक सल्लाहकार
– सबै सचिवलाई कमान्डिङ गर्ने ‘हेडमास्टर’
– मन्त्रिपरिषद्को निर्णय प्रमाणीकरण र कार्यान्वयन गराउने व्यक्ति
– मन्त्रालयको अंग नपुगेको प्रस्ताव फिर्ता गर्ने अधिकार
– सबै मन्त्रालयको सुपरिवेक्षण गर्न सक्ने अधिकारी

निजामती सेवा ऐन २०४९ को दफा १९ को उपदफा २ (क) अनुसार मुख्य सचिवको पदमा बढुवा गर्दा बहालवाला सचिवमध्येबाट सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा छनोट गरी बढुवा गर्ने प्रावधान रहेको छ।

सोही प्रावधानअनुसार सरकारले बहालावाला सचिवमध्ये ज्येष्ठता र कार्यकुशलताका आधारमा एक जनालाई बढुवा गर्ने भएकाले यी ६ मध्ये एक जना मुख्य सचिव बन्नेछन्।

हाल विभिन्न मन्त्रालय र निकायमा गरी झन्डै ७० जना सचिव कार्यरत छन् । प्रधानमन्त्रीको मुख्य प्रशासनिक सल्लाहकारका रूपमा रहने मुख्यसचिव कसलाई बनाउने भन्ने विषयको निक्र्योल प्रधानमन्त्रीकै रुचिमा भर पर्छ त्यसैले यतिखेर मुख्य सचिवको दौडमा रहेका सचिवहरूले प्रधानमन्त्री निकटका नेता तथा सल्लाहकारमार्फत तीव्र लबिङ गरिरहेको स्रोतको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .