छापा खबर


सहर बजारमा भिडभाड बढ्यो, अब कोरोनाबाट कसरी जोगिने?

सहर बजारमा भिडभाड बढ्यो, अब कोरोनाबाट कसरी जोगिने?

नेपालखबर
असार १३, २०७७ शनिबार ०:३,

बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै सहर बजारमा विभिन्न बहानामा भिडभाड हुने क्रम बढेको छ।

सडक, सपिङ मल, होटल, रेस्टुरेन्ट र ससाना भट्टीमा समेत अनियन्त्रित रूपमा भिडभाड बढ्न थालेपछि कोरोना संक्रमण दर बढ्न सक्ने चिकित्सकले बताएका खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

भिडभाडमा भौतिक दूरी र सुरक्षाका विधिसमेत अवलम्बन नगरिँदा कोरोनाको संक्रमण भयावह हुन सक्ने भन्दै सावधानी अपनाउन चिकित्सकले सल्लाह दिएका छन् । व्यक्ति व्यक्तिबीच भौतिक दूरी कायम हुन नसक्दा कोरोना भाइरसको जोखिम बढ्ने सम्भावना देखिएको छ।

बिस्तारै देशैभर बजार क्षेत्र पुरानै अवस्थामा फर्किन थालेको छ । ठेलमठेल गरेर हिँड्न थालिएको छ । काठमाडौं उपत्यकालगायत देशभरका सहरी क्षेत्रमा कोरोना संक्रमण समुदायमा फैलन सक्ने भयसमेत बढेर गएको छ।

जोखिम कसरी कम गर्ने?
– दुई मिटर दूरी कायम गर्ने
– कतै निस्किँदा अनिवार्य रूपमा मास्क लगाउने
– साबुनपानीले हात धुने
– हात नाकमुखमा नलैजाने
– कार्यस्थलमा जमघट नगर्ने

सरकारी कार्यालय, उद्योगधन्दा, ठूला तथा साना पसल, निर्माण क्षेत्र, बैंक तथा वित्तीय संस्थालगायत खोलिएको छ । हरेक दिनजसो दूरी नै कायम नभई आन्दोलनसमेत हुने गरेको छ। लकडाउन खुकुलो हुँदै गएपछि भौतिक दूरी कायमको कार्यान्वयनमा समस्या देखिएको छ । सरकारले पनि कडाइ गर्न सकेको छैन भने नागरिकस्तरबाट लापारवाही गर्न थालिएको छ ।

चिकित्सकले भौतिक दूरी कायम गर्दै आफ्ना गतिविधि अगाडि बढाउन आग्रह गरे पनि पूर्णतः कार्यान्वयनमा आउन सकेको छैन । व्यवस्थित तरिकाले मास्क लगाउँदा संक्रमणको दर घटेको विभिन्न अध्ययनले देखाएको छ । तर, अहिले पनि सहर बजारमा कतिपय व्यक्ति मास्कविनै हिँडडुल गरिरहेका छन्।

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले भौतिक दूरी कायम नहुँदा जोखिमको सम्भावना बढी रहने बताए । उनले भने, ‘सार्वजनिक स्थलमा जाँदा व्यवस्थित तरिकाले मास्क नलगाउँदा जोखिम हुने सम्भावना रहन्छ । बाहिर हिँड्दा हात नाक र मुखमा लैजानुहुँदैन।’

कार्यस्थलमा काम गर्दा भौतिक दूरी कायम गरेर बस्ने र कम कर्मचारीमार्फत काम गर्दा जोखिम कम हुने डा.पुनले बताए। विज्ञहरू कार्यस्थलमा जमघट नगर्ने, भौतिक दूरी कायम गरेर कुराकानी गर्नुपर्ने बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad