विश्वभर कोरोना भाइरसको संक्रमण दर झन् झन् तीब्र बन्दै गएको छ। गएको २४ घण्टामा विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन्।
वल्र्डओमिटरका अनुसार गएको २४ घण्टामा विश्वभर एक लाख ९२ हजार चार सय २३ जनामा संक्रमण देखिएको छ। यो संख्या अहिलेसम्म देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो।
विश्वभरका अधिकांश देशले लकडाउनलाई खुकुलो बनाएसँगै कोरोना संक्रमणदर तीब्र बन्न थालेको विज्ञहरुले बताएका छन्।
अहिलेसम्म विश्वभर ९८ लाख ९६ हजार सात सय ९२ जनामा संक्रमण पुष्टि भएको छ। यो शनिबार बिहान ६ बजेसम्मको तथ्यांक हो।
अहिलेसम्म कोरोना संक्रमणको कारण विश्वभर चार लाख ९६ हजार २८ जनाको मृत्यु भइसकेको छ। शुक्रबार विश्वभर चार हजार आठ सय ४२ जनाले ज्यान गुमाएका छन्।
शनिबार सबैभन्दा धेरै संक्रमण र मृत्यु ब्राजिलमा भएको छ। ब्राजिलमा एकै दिन ४६ हजार नौ सय सात जनामा संक्रमण पुष्टि भएको छ भने एक हजार ५५ जनाले कारण ज्यान गुमाएका छन्।
त्यसैगरी अमेरिकामा गएको २४ घण्टामा ४६ हजार सात सय सात जनामा संक्रमण पुष्टि भएको छ भने ६ सय २५ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी मेक्सिकोमा सात सय ३६ जनाले ज्यान गुमाएका छन्।
भारतमा शनिबार एकै दिन १८ हजार दुई सय ७६ जनामा संक्रमण पुष्टि भएको छ भने तीन सय ८१ जनाले ज्यान गुमाएका छन्। गएको २४ घण्टामा ब्राजिल र अमेरिकापछि धेरै संक्रमित भारतमा थपिएका छन्।
भारतमा अहिलेसम्म संक्रमितको संख्या पाँच लाख नौ हजार चार सय ४६ पुगेको छ। त्यहाँ अहिलेसम्म संक्रमणबाट १५ हजार ६ सय ८९ जनाले ज्यान गुमाएका छन्।
त्यसैगरी गएको २४ घण्टामा रुसमा एक सय ७६, बेलायतमा एक सय ८४, पेरुमा एक सय ७८, चिलीमा एक सय ६५, इरानमा एक सय नौ, कोलम्बोमा एक सय ५७, इराकमा एक सय २२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

प्रतिक्रिया