छापा खबर


सरकारद्वारा कोरोना नियन्त्रण खर्च सार्वजनिक, कहाँ कति खर्च?

सरकारद्वारा कोरोना नियन्त्रण खर्च सार्वजनिक, कहाँ कति खर्च?

नेपालखबर
जेठ ३१, २०७७ शनिबार २:१८,

सरकारले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ।

कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

नेपालमा पहिलो सङ्क्रमण आशङ्कामा सङ्कलन गरिएको स्वाब नमुना परीक्षणका लागि हङ्कङ पठाइएको थियो । गुणस्तरीय र व्यवस्थित प्रयोगशालाको अभाव रहेको अवस्थाबाट तीन महिनाको अवधिमा देशमा २० भन्दा बढी प्रयोगशाला सरकारले स्थापना गरिसकेको छ।

भारतलगायत विभिन्न देशबाट आएका एक लाख ५८ हजार ५० जना नेपाली अहिले क्वारेन्टाइनमा रहेका छन्।

अर्थ मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा मात्र ९८ करोड ५० हजार रुपियाँ खर्च भएको छ।

यस्तै, औषधि र स्वास्थ्य सामग्री खरिदमा एक अर्ब ४९ करोड ७५ लाख ५० हजार, क्वारेन्टाइन व्यवस्थापनमा चार करोड १९ लाख ९८ हजार र अन्य विविध खर्चका रूपमा १३ करोड चार लाख ३१ हजार रुपियाँ खर्च भएको सरकारले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुई अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपियाँ निकासा भएकोमा अहिलेसम्म एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपियाँ खर्च भएको जनाइएको छ।

त्यस्तै, रक्षा मन्त्रालयमा दुई अर्ब ३८ करोड ५९ लाख २७ हजार निकासा भएकोमा दुई अर्ब ४० करोड २४ लाख ५७ हजार रुपियाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ ।

गृह मन्त्रालयमार्फत दुई करोड ४५ लाख ८८ हजार रुपियाँ खर्च भएको छ । त्यस्तै, परराष्ट्र मन्त्रालयमा ६५ लाख निकासा भएको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छ करोड निकासा भएकोमा पाँच करोड २० लाख रुपियाँ खर्च भएको छ।

त्यस्तै, सहरी विकास मन्त्रालयमा एक करोड ४२ लाख, प्रदेशका सामाजिक विकास मन्त्रालयहरू (सातै प्रदेश) मार्फत १५ करोड ७५ लाख रुपियाँ खर्च भएको जनाइएको छ । जसमध्ये सहरी विकास मन्त्रालयको बजेट क्वारेन्टाइन निर्माणमा खर्च भएको जनाइएको छ ।

त्यस्तै, प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा १४ करोड र औषधि तथा स्वास्थ्य सामग्री खरिदमा एक करोड ७५ लाख रुपियाँ खर्च भएको जनाइएको छ ।

यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत प्रविधि विकास र वैकल्पिक सिकाइका लागि २६ करोड ७५ लाख ७८ हजार निकासा भएकोमा दुई करोड ६९ लाख ७८ हजार रुपियाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ ।

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाममा संलग्न आठ मन्त्रालयमा जम्मा पाँच अर्ब ६२ करोड ९२ लाख ४० हजार निकासा भएकोमा चार अर्ब १० करोड ५५ लाख छ हजार रुपियाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ।

यसैगरी, प्रदेश सरकारमार्फत एक अर्ब ३० करोड चार लाख ९९ हजार रुपियाँ खर्च भएको जनाइएको छ।

जसअनुसार प्रदेश १ ले १९ करोड ३५ लाख ६० हजार, प्रदेश २ मा १३ करोड ३९ लाख ४६ हजार, बाग्मती प्रदेशले १३ करोड ६७ लाख, गण्डकीले १५ करोड ४२ लाख १० हजार, प्रदेश ५ ले सात करोड ७९ लाख ३० हजार, कर्णालीले २३ करोड ९२ लाख ८३ हजार र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपियाँ खर्च गरेको छ।

त्यस्तै, स्थानीय तहबाट दुई अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपियाँ खर्च भएको स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad