छापा खबर


काठमाडौंमा बढ्यो चहलपहल, लकडाउन खुल्ने औपचारिक निर्णय हुन बाँकी

काठमाडौंमा बढ्यो चहलपहल, लकडाउन खुल्ने औपचारिक निर्णय हुन बाँकी

नेपालखबर
जेठ २६, २०७७ सोमबार २:२८,

कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी(लकडाउन) सुरु गरेको ७६ दिनपछि आइतबार राजधानीमा केही चहलपहल बढेको छ।

गत वर्ष चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरिएको हो। सरकारले बन्दाबन्दी खुकुलो पार्नेसम्बन्धी आधिकारिक निर्णय सार्वजनिक नगरे पनि आइतबार विभिन्न कामका लागि स्वतःस्फूर्त रूपमा घर बाहिर निस्कने सर्वसाधारणको चहलपहल देखियो।

काठमाडौँ उपत्यकाको सडकमा यातायातका सवारी साधनको बाक्लो चाप देखिन्थ्यो। सार्वजनिकभन्दा निजी सवारी साधनमा कार, मोटरसाइकल र ट्याक्सीलगायतका सवारी साधन प्रशस्त मात्रामा चलेको खबर आजको गोरखापत्रमा देवराज कुँवरले लेखेका छन।

अन्य दिनको तुलनामा सडकमा पैदल हिँडेर गन्तव्य जाँदै गरेका सर्वसाधारण तथा बन्दाबन्दीको उकुसमुकुसबाट घर बाहिर निस्कनेको चाप बाक्लै देखिन्थ्यो ।

न्युरोड धर्मपथस्थित नेपाल बैङ्क लिमिटेडको मुख्यालयमा सेवाग्राहीको भीड लाग्दा मुख्य प्रवेशद्वारमा नै सेवाग्राहीलाई रोक्नु परेको सो बैङ्कले जनाएको छ। त्यस्तै, अन्य वाणिज्य बैङ्कमा पनि ग्राहकको भीड लागेको छ।

असन–इन्द्रचोक बजार हल्का खुले पनि बढी भीडभाड हुने विशाल बजार, सुरज अर्किड, सिभिल मल, काठमाडौँ मल र दरबारमार्गलगायतका बजार तथा पसलहरू भने खुलेका छैनन्।

कोरोना सङ्क्रमणको जोखिम प्रतिदिन बढ्दै गएकाले व्यापारी नै पनि पसल खोल्न डराएको भनाइ सुरक्षा अधिकारीको छ। न्युरोड क्षेत्रका केही सुनचाँदी पसल भने खुलेका छन्। सुनचाँदी पसल खुलेसँगै मूल्यसमेत सार्वजनिक भएको छ। बन्दाबन्दी भएपछि पहिलो पटक सुनचाँदीको औपचारिक मूल्य सार्वजनिक भएको छ।

गृह मन्त्रालयले बन्दाबन्दी खुकुलो पार्ने सम्बन्धमा कुनै निर्णय भइनसकेको अवस्थामा सर्वसाधारण आफूखुसी सडकमा निस्कँदा कोरोनाको जोखिम बढ्दै जाने चेतावनी दिएको छ। गृह प्रवक्ता केदारनाथ शर्माले यस विषयमा निर्णय भइसकेको छैन, सङ्क्रमण बढ्न सक्छ भन्नुभयो।

नेपाल प्रहरीले पनि अन्य दिनको तुलनामा आइतबार काठमाडौँ उपत्यकामा सवारी साधनको चाप बाक्लो देखिएको जनाएको छ। विभिन्न स्थानमा खटिएका प्रहरीले अनावश्यक रूपमा यात्रा गरिरहेका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad