नेपालगञ्जका पहिलो संक्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन्।
नेपालगञ्ज उपमहानगरपालिका ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २१ जना कोरोना भाइरस मुक्त भएका हुन्।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा प्रदेश सरकरले स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा उपचार गराईरहेका उनीहरुमध्ये पहिलो सङ्क्रमितको तेस्रो पटकको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश थापाले बताए।
थापाका अनुसार पहिलो सङ्क्रमितको यसअघि गरिएको दोस्रो पटकको परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको थियो। अन्य २० जनाको भने दोस्रो पटक देखिकै रिपोर्ट नेगेटिभ आएको थियो। कोरोना पराजित गरेका २१ जनालाई शुक्रबार स्वास्थ्य परामर्शपछि घर पठाउने तयारी अस्पताले गरेको छ।
सुशील कोइराला अस्पताल खजुराको कोरोना विशेष अस्पतालमा उनीहरुलगायत २५ जना संक्रमितको उपचार भइरहेको छ। अन्य चार जनाको समयावधि नपुगेको हुँदा दोस्रो परीक्षण नगरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
तीन दिनअघि दोस्रो तथा तेस्रो परीक्षणका लागि स्वाब सङ्कलन गरी भेरी अस्पतालको प्रयोगशालामा दुई पटकसम्म गरिएको परीक्षणमा पनि २१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो।
नेपालगञ्जमा गत वैशाख १९ गते पहिलो सङ्क्रमण पुष्टि भएको थियो। हाल बाँकेमा सङ्क्रमितको संख्या १०१ पुगेको छ।बाँकेमा बिहीबार सङ्क्रमण देखिएका दुई जना पनि एकहप्ता अघि भारतबाट आएका थिए।
नेपालमा आएलगत्तै क्वारेन्टिनमा रहेका खजुरा गाउँपालिका ३ का ४२ वर्षीया महिला र नरैनापुर गाउँपालिका ३ का ३२ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालको आरटिपिसिआर प्रयोगशालामा गरिएको स्वाब नमूना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए।
बिहीबार फेला परेका सङ्क्रमित एक हप्ताअघि भारतबाट आएर गाउँकै क्वारेन्टिनमा बस्दै आएका छन्। कोरोना सङ्क्रमितलाई उपचार हुँदै आएको खजुरा गाउँपालिकामा दुई जनामा सङ्क्रमण देखिएपछि खजुराक्षेत्रमा उच्च सतर्कता अपनाइएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए। सङ्कलित स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको छ।
बाँकेमा बिहीबार विभिन्न स्थानबाट १५१ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ।
Shares

प्रतिक्रिया