ad ad

छापा खबर


नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न सांसदहरूलाई मनाउँदै प्रधानमन्त्री

नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न सांसदहरूलाई मनाउँदै प्रधानमन्त्री

नेपालखबर
जेठ ४, २०७७ आइतबार १:१०,

संसदीय दलको बैठक नबस्ने भएपछि नीति तथा कार्यक्रम पास गराउन सत्तारुढ दल नेकपाभित्र प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले सांसदहरूसँग बेग्लाबेग्लै छलफल गरेका छन्।

प्रमुख प्रतिपक्षी कांग्रेसले नीति तथा कार्यक्रमको कडा आलोचना गर्ने गरी शनिबार तयारी गरेपछि प्रधानमन्त्री ओलीले पनि प्रधानमन्त्रीनिवास बालुवाटारमा केही सांसदहरूसँग स-साना समूहमा अलग–अलग छलफल गरेका छन् ।

पार्टीभित्रबाट सकेसम्म असहयोग नहोस् भन्ने प्रधानमन्त्री ओलीको चाहना रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

प्रतिनिधिसभामा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्मा, प्रमुख सचेतक खिमलाल भट्टराई, सांसद टोपबहादुर रायमाझीलगायतका नेताहरूसँग प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमबारे सांसदहरूले राख्नुपर्ने धारणामा केन्द्रित रहेर परामर्श गरेका हुन् । पार्टीभित्र पर्याप्त छलफल नभई नीति तथा कार्यक्रम आएकोमा नेकपाका नेताहरू असन्तुष्ट छन्।

उता, वरिष्ठ नेता माधवकुमार नेपालले पनि नीति तथा कार्यक्रमका साथै पार्टीभित्रको पछिल्लो अन्तरविरोधलगायतका विषयमा केन्द्रित रहेर स्थायी समिति सदस्यसमेत रहेका सांसद रायमाझीसहित स्थायी समिति सदस्य देवेन्द्र पौडेल र मणि थापासँग कोटेश्वरमा परामर्श गरेका छन्।

दुवै छलफलमा सहभागी भएका सांसद रायमाझीले प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि केन्द्रित रहेर सुझाब लिएको बताए।

‘नीति तथा कार्यक्रममाथि सुझाब लिन आन्तरिक छलफलका लागि बोलाउनुभएको हो, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपालले पनि त्यसरी नै बोलाउनुभएकाले छलफल भएको छ,’ रायमाझीले भने, ‘दलको बैठक बस्ने परिस्थिति नभए पनि सरकारले ल्याएको नीति तथा कार्यक्रम समग्रमा राम्रै रहेकाले त्यसउपर संसद्मा छलफल भएर पास गर्ने विषयमै केन्द्रित रहेर छलफल भएको हो।’

वरिष्ठ नेता नेपालले भने पार्टीभित्र संस्थागत विधि र प्रक्रियालाई लत्याउने क्रम बढेको भन्दै पार्टीलाई एकताबद्ध ढंगले कसरी सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रित रहेर पनि नेताहरूसँग सुझाब लिएका छन्।

नेताहरूसँगको छलफलमा नेपालले नीति तथा कार्यक्रम मूल रूपमा ठीकै भए पनि आर्थिक वर्षभित्र ठोस रूपमा गर्नेभन्दा पनि यसअघिको समीक्षा र दश–बीस वर्षपछिसम्म गर्न नसकिने खालका विषयसमेत समेटेर भद्दा रूपमा ल्याइएको विचार राखेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .