छापा खबर


नेपालमै तयार भयो कोरोनासम्बन्धी जानकारी दिने एप, संक्रमितकाे नजिक पुगे सतर्क गराउने

नेपालमै तयार भयो कोरोनासम्बन्धी जानकारी दिने एप, संक्रमितकाे नजिक पुगे सतर्क गराउने

नेपालखबर
बैशाख २८, २०७७ आइतबार १:४५,

कोरोना भाइरस (कोभिड-१९) महामारी रोगको पहिचान, रोकथाम तथा प्रतिकार्यसम्बन्धी जानकारीसहित सङ्क्रमितको ट्रेसिङका लागि बहुउपयोगी ‘कोभिडएनपी एप’ सार्वजनिक गरिएको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड-१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) बाट निर्माण गरिएको उक्त एप शनिबार सार्वजनिक गरेका खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

केन्द्रका संयोजक उपप्रधानमन्त्री पोखरेलले एपमा सर्वसाधारणको पहुँच बढाउनुपर्नेमा जोड दिए।

एप कोभिड–१९ महामारीका सम्बन्धमा सही सूचना, सङ्क्रमणका बारेमा जानकारी, विज्ञ चिकित्सकसँग परामर्श, कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका प्रयास र सङ्क्रमित व्यक्तिलाई उपचारका अतिरिक्त टे«सिङ गर्ने एप सहयोगी हुने छ।

एप यसअघि विभिन्न सरकारी निकायबाट विकास गरिएका मोबाइल एप्सहरूसँंग आबद्ध गरी एकीकृत रूपमा सूचना सङ्कलन तथा आदानप्रदान गर्न सकिने गरी निर्माण गरिएको हो।

प्राविधिक विज्ञ रामप्रसाद ढुङ्गानाका अनुसार मोबाइलमा एप डाउनलोड गर्दा सोधिएका प्रश्नको उत्तर दिने क्रममा प्रयोगकर्ता कोरोना भाइरस सङ्क्रमित हो वा होइन सजिलै पहिचान हुनेछ। सङ्क्रमणको शङ्का लागेमा विज्ञ चिकित्सकसँंग भिडियो कलबाट पारमर्श लिन सकिनेछ।

त्यस्तै कोरोना सङ्क्रमित व्यक्तिको पहिचान भइसकेको अवस्थामा उपचारका क्रममा तथा उपचारपछि पनि सो व्यक्ति कहीँ कतै हिँडडुल गरेको वा त्यसअघि कोही कसैसँग भेटघाट गरेको स्थानको समेत सजिलै पहिचान गर्न सकिने व्यवस्था गरिएको छ।

मोबाइलको ब्लुटुथ खुला राखी समन्वयात्मक ढङ्गले प्रयोग गरेमा एप प्रयोगकर्ताले अपरिचित सङ्क्रमित व्यक्ति आफू नजिक रहेको सूचना प्राप्त हुनेछ र तत्कालै स्वास्थ्य सतर्कता अपनाउन सक्नेछ । कोरोना सङ्क्रमित व्यक्ति नजिक भएको कुरामा एपले नै सतर्क गराउनेछ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकारका विभिन्न निकायले गरेका कामकारबाही, प्रतिकार्य अभियान, कोरोनासँंग सम्बन्धित सार्वजनिक सरोकारका सूचना, निर्देशनहरू र श्रव्यदृश्यहरूसमेत समेटिएका छन्।

कोरोना सङ्क्रमितको उपचारमा संलग्न मुलुकभरका विभिन्न अस्पतालबाट सम्पादन भएका स्वास्थ्य उपचारसम्बन्धी कामहरू, विज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको सक्रियता, सङ्क्रमितहरूको अवस्था र स्वास्थ्य परीक्षणसम्बन्धी सूचनाहरू समेटिएका छन्।

स्वास्थ्य विज्ञका रूपमा एप निर्माणमा सहभागी सङ्क्रमण रोग विज्ञ डा. प्रभात अधिकारीले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले निर्माण गर्न लागेको एपको निर्देशिकाअनुरूप यो एप निर्माण गरिएको जानकारी दिए।

यस एपमा उच्च जोखिम (रेड जोन), जोखिम (एल्लो जोन) र सामान्य (ग्रिन जोन) गरी तीन चरण विभाजन गरिएको छ । प्रयोगकर्ताले आफू कुन जोनमा समावेश भएको कुरा एपमा उल्लिखित प्रश्नबाट स्पष्ट पार्न सक्नेछन्।

त्यस्तै विभिन्न लक्षण, व्यक्तिगत ट्राभल विवरण एपबाट सार्वजनिक गर्न सक्ने व्यवस्था गरिएको छ । चिकित्सक अधिकारीले विश्वका धेरै देशले अपनाएको यस किसिमको एपको विकासबाट ताइवानमा कोरोना नियन्त्रणमा सहयोग पुगेको दाबी गरे।

क्वारेन्टाइन तथा आइसोलेसनमा बसेका व्यक्तिको गतिविधि, यात्रा, भेटघाट तथा सङ्क्रमणसम्बन्धी सूचना सजिलैसँग लिन सक्ने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad