छापा खबर


भारतबाट आउने तरकारीको विषादी परीक्षण एक सातादेखि बन्द

भारतबाट आउने तरकारीको विषादी परीक्षण एक सातादेखि बन्द

नेपालखबर
बैशाख २४, २०७७ बुधबार २३:५१,

एकातिर स्थानीय तरकारी संकलन केन्द्र बन्द भएर नेपाली किसानको तरकारी खेतबारीमै सडिरहेको छ भने अर्कोतिर भारतबाट ट्रकका ट्रक निर्वाध रूपमा आइरहेको तरकारीको विषादी परीक्षण पनि बन्द भएको छ।

कीटनाशक विषादी परीक्षण गर्ने किट नै सकिएकाले राजधानीलगायतका क्षेत्रमा एक सातादेखि परीक्षण ठप्प रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा अजित अधिकारीले लेखेका छन्।

परीक्षण गर्ने किट वर्षमा कति चाहिन्छ भन्ने हिसाब हुन्छ । तर, सरकारले पर्याप्त तयारी नगर्दा लकडाउन सुरु भएको डेढ महिनामै कीटनाशक विषादीको परीक्षण ठप्प भएको छ । भारतबाट आएको तरकारी विषादी परीक्षणविना सीधै नेपालीको भान्सामा पाकिरहेको छ।

कृषि मन्त्रालयअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाले काठमाडौंको कालिमाटी, कास्कीको पोखरा, रूपन्देहीको बुटवल, बाँकेको नेपालगन्ज, कैलालीको अत्तरिया, सर्लाहीको नवलपुर र झापाको काँकडभिट्टामा विषादी अवशेष द्रुत विश्लेषण इकाइ स्थापना गरेको छ।

पोखरामा विगत ६ महिनादेखि नै परीक्षण रोकिएकाले विषादी परीक्षण नगरी तरकारी बजारमा पठाउने गरिएको छ । काठमाडौंको कालिमाटीस्थित दु्रत परीक्षण पनि गत असोजदेखि नै बन्द छ, नाकामा नै परीक्षण हुने भएकाले कालिमाटीको इकाइ बन्द गरिएको थियो ।

देशका सात स्थानमा राखिएका ल्याबले सबै किसिमका विषादी परीक्षण गर्दैैनन् । तरकारीमा २९ किसिमका विषादी प्रयोग हुन्छन्, तर यी ल्याबले जम्मा दुईथरी विषादी मात्र परीक्षण गर्ने सामथ्र्य राख्छन् । केन्द्रीय प्रयोगशालामा भने २९ वटै विषादी परीक्षण हुन्छ।

नाकाबाट सिफारिस गरेर पठाइएका नमुना राजधानीको केन्द्रीय प्रयोगशालाले परीक्षण गर्दै आएको थियो । तर, अब किट सकिएकाले नाका र राजधानी सबैतिर परीक्षण रोकिएको छ।

‘बुटवलमा एक–दुई दिनलाई पुग्ने किट बाँकी छ, तर त्यहाँ कार्यालय सहयोगी मात्रै रहेकाले परीक्षण हुन सकेको छैन, अन्य सबै कार्यालयमा एक सातादेखि परीक्षण बन्द छ,’ प्रयोगशालाकी प्रमुख सावित्री बरालले भनिन्, ‘अहिले तरकारीको विषादी परीक्षण हुन सकेको छैन ।’

किट सकिने सम्भावना भएकाले प्रयोशालाले थोरै–थोरै परिमाणमा मात्र तरकारीको नमुना परीक्षण गर्दै आएको थियो, त्यतिन्जेल पनि किट प्राप्त नभएकाले अहिले परीक्षण ठप्प भएको प्रयोगशालाको भनाइ छ।

तरकारीको विषादी परीक्षण जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो, यो पनि औषधि र मेडिकल साधनजस्तै प्राथमिकतामा मगाउनुपर्ने हो । तर, कृषि मन्त्रालयले टेन्डर गरिएको र लकडाउनका कारण रोकिएको भन्दै दु्रतमार्गबाट मगाउन पहल गरेको छैन ।

प्रयोगशालाका अनुसार ताइवानबाट आयात भएको किट सिंगापुरमा रोकिएको छ । ‘चैत २०–२५ गतेसम्ममा सामान आइपुग्ने गरी व्यवस्था मिलाइएको थियो, तर लकडाउन भएपछि किट नै आउन सकेन,’ बरालले भनिन् ।

अब एक महिनाभित्र किट ल्याउन नसके तरकारीको विषादी आगामी मंसिरसम्म परीक्षण हुन नसक्ने बरालले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad