छापा खबर


रिएजेन्ट अभाव हुँदा कोरोनाको पिसिआर परीक्षणमा समस्या

रिएजेन्ट अभाव हुँदा कोरोनाको पिसिआर परीक्षणमा समस्या

नेपालखबर
बैशाख २४, २०७७ बुधबार २:१८,

देशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिरहेका बेला नमुना परीक्षणका लागि आवश्यक रिएजेन्टको अभाव हुन थालेको छ।

सरकारले टेन्डर प्रक्रियाबाट ल्याउने भनेको सामग्री बेलैमा नआएपछि पिसिआर परीक्षणमा आवश्यक रिएजेन्ट तथा किटको अभाव हुन थालेको खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।

दिनदिनै संक्रमितको संख्या बढ्दै गएका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षणका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराउन नसकेपछि वीर अस्पतालले सोमबारदेखि नमुना परीक्षण गर्न सकेको छैन।

त्यहाँ संकलित नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन थालिएको अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले बताए। ‘मन्त्रालयमा रिएजेन्ट माग गर्दा सकिएको भनेपछि हामीले नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएका छौं,’ उनले भने।

वीर अस्पतालमा मात्र होइन, देशभरिका अस्पतालमा यसको अभाव देखिएको छ। वीर अस्पतालका कोभिड–१९ व्यवस्थापन संयोजक डा.विद्याननिधि पौडेलका अनुसार नेपालगन्जमा एकैपटक कोरोना पोजेटिभ फैलिएपछि मन्त्रालयले उल्टै वीर अस्पतालसँग पिसिआर रिएजेन्ट मागेको थियो।

पिसिआर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको र प्रयोगशालाबाट नेपालगन्ज पठाएको सुन्नमा आएको उनले बताए। वीर अस्पतालका लागि भनेर मन्त्रालयले डेढ महिनाअघि चार सयवटा रिएजेन्ट दिएको थियो। चार सयमध्ये २ सयजति वीरमै प्रयोग भइसकेको थियो भने बाँकी २ सय राष्टिय जनस्वास्थ्य प्रयोगशालालाई दिइएको अस्पतालले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षणका लागि आवश्यक रिएजेन्ट उपलब्ध गराउन नसकेपछि वीर अस्पतालले सोमबारदेखि नमुना परीक्षण गरेको छैन।

अहिले काठमाडौंमा कोरोना संक्रमित नभएकाले मन्त्रालयले वीरसँग रिएजेन्ट मागेर अलि बढी जोखिम क्षेत्रमा पठाएको डा। पौडेलले बताए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भने पिसिआर रिएजेन्ट अहिलेका लागि पुग्दो रहेको जनाएको छ तर कति छ भन्नेबारे प्रयोगशालाप्रमुख डा. रुना झा बोल्न चाहिनन्। ‘जे–जति भए पनि अभाव भइसकेको छैन’, उनले भनिन्।

वीर अस्पतालमा मात्र नभएर देशका विभिन्न प्रयोगशालामा पिसिआर रिएजेन्ट कमी हुँदै गएको पाइएको छ। हाल देशका विभिन्न स्थानमा सञ्चालनमा आएका प्रयोगशालामा रिएजेन्ट कमी हुँदै गएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य सेवा विभागका अनुसार एक साताअघि नै चितवनमा पिसिआर रिएजेन्ट सकिएपछि मन्त्रालयले पुनः एक सय किट पठाएको थियो। त्यस्तै नेपालगन्जमा २ सय ५० र विराटनगरमा १ हजार किट पठाइएको मन्त्रालयले जनाएको छ।

सरकारले चीन सरकारले दिएको २० हजार, विश्व स्वास्थ्य संगठनले दिएको १ हजार र खरिद गरेको ४० हजार पिसिआर रिएजेन्ट संकलन गरेको थियो।

पिसिआरका लागि आवश्यक आरएनए अट्¥याक्सन किट नभएपछि नमुना परीक्षणमा कमी आएको विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले बताए। ‘दुई÷चार दिनलाई काम चल्छ, त्यसपछि अभाव हुन्छ’, उनले भने।

मन्त्रालयले मंगलबार दिएको तथ्यांक अनुसार अहिलेसम्म १३ हजार ६ सय ४० वटा नमुना पिसिआर बिधिबाट र ५२ हजार २ सय २७ वटा नमुना आरडिटी विधिबाट परीक्षण भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad