ad ad

छापा खबर


लकडाउनमै तयार भयो बागलुङ र पर्वत जोड्ने ‘संसारकै लामो झोलुङ्गे पुल’

लकडाउनमै तयार भयो बागलुङ र पर्वत जोड्ने ‘संसारकै लामो झोलुङ्गे पुल’

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार १:४२,

बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम बन्दाबन्दीकै समयमा सम्पन्न भएको छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो दाबी गरिएको यो पुल ५६७ मिटर लामो छ।

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीका कारण धेरै आयोजना निर्माणको काम ठप्प भए पनि निर्माण स्थललाई पूर्ण रूपमा बन्द गरेर काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ।

बागलुङतर्फको क्षेत्रमा पर्खालयुक्त पार्क रहेकाले त्यसलाई पूर्ण रूपमा बन्द गरेर कामदारको सुरक्षासहित निर्माणको कामलाई अगाडि बढाइएको खबर आजको गोरखापत्र दैनिकमा बागलुङबाट चन्द्रप्रकाश शर्माले लेखेका छन्।

रङ्गीचङ्गी बत्ती जडान गरिने यो पुल विसं २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने गरी २०७५ चैतमा निर्माण सुरु गरिएको थियो । अहिले भौतिक निर्माणको काम सकिएको र पुलको दायाँबायाँ विभिन्न रङका बत्ती जडानका लागि वायरिङको काम भइरहेको थानी÷बीएलटी÷हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए।

पुल निर्माणका लागि आवश्यक पर्ने सामग्री पहिले नै राखिएको र कामदारसमेत रहेकाले बन्दाबन्दीका बेला पनि निर्माण नरोकी काम सकेर हस्तान्तरण गर्ने तयारी गरिएकोमा बन्दाबन्दीका कारण रोकिएको खड्काले बताए ।

बागलुङको बागलुङ नगरपालिका-१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्न कालीगण्डकी नदीमाथि निर्माण गरिएको उक्त पुल करिब नौ करोड २५ लाख रुपियाँमा सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँ ठेक्का व्यवस्थापन शाखाका इन्जिनियर सागरराम नेपालले जानकारी दिए।

यस्तो प्रकृतिको पुल नेपालमा थुप्रै बने पनि यति लामो पुल पहिलोपटक निर्माण भएको नेपालको भनाइ छ । पुल १३८ मिटर अग्लो छ । त्यो पुल निर्माणपछि दुई जिल्लाका पर्यटन तथा आर्थिक विकासमा ठूलो टेवा पुग्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए।

‘सिङ्गल स्पान’ प्रकृतिका झोलुङ्गे पुलमध्ये यो संसारकै लामो पुल भएको उनले दाबी गरे। ‘अहिलेसम्म स्विट्जरल्यान्डमा रहेको ४९४ मिटर लामो पुललाई संसारकै लामो पुल भनिएको रहेछ, यो पुल निर्माण भएपछि सम्भवतः यो पुल संसारकै लामो पुल हुनसक्छ,’ पौडेलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .