छापा खबर


सांसद ‘अपहरण’ घटना कानुनी रुपमा पेचिलो बन्दै

सांसद ‘अपहरण’ घटना कानुनी रुपमा पेचिलो बन्दै

नेपालखबर
बैशाख १५, २०७७ सोमबार १:३१,

समाजवादी पार्टी फुटाउने उद्देश्यले पूर्वस्वास्थ्यराज्यमन्त्री तथा सांसद डा. सुरेन्द्र यादवलाई जबर्जस्ती काठमाडौं ल्याइएको घटना कानुनी रूपमा पनि पेचिलो बनेको छ।

अपहरणका योजनाकारको रूपमा सत्तारुढ दलका दुई सांसद र पूर्वआइजिपीको नाम किटान गरिएको उजुरी काठमाडौं प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ।

उजुरी दर्ता भएमा प्रहरीले आरोपीहरूलाई पक्राउपुर्जी जारी गर्न अदालतमा प्रस्ताव गर्नुपर्छ।

अदालतले अनुमति दिएमा पक्राउ गरेर बयान लिने र पर्याप्त प्रमाण नपुगेको भनेर मुद्दा नचलाउने निर्णय सरकारी वकिल कार्यालयले गर्न सक्छ । अपहरणको मुद्दामा सरकार नै वादी बन्ने व्यवस्था छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

नेपाली कागजमा किटानी जाहेरी लेखेर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्री र वकिलहरूसँगै आइतबार गएका सांसदको उजुरी काठमाडौँ प्रहरीले स्वीकार गरेन।

सांसदलाई महोत्तरीबाट ल्याइएकाले काठमाडौंमा उजुरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको हो । तर, मुलुकी अपराध संहिता तथा मुलकी फौजदारी (अपराध) संहिताले कुनै पनि ठाउँमा भएको अपराधको उजुरी कुनै पनि ठाउँको प्रहरी कार्यालयमा दिन सकिने उल्लेख छ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सत्ताको दबाबमा प्रहरीले आफूहरूको जाहेरी दर्ता नगरेको प्रतिक्रिया दिएका छन्।

‘देशका कार्यकारी प्रमुखका निकट रहेका मान्छेहरू र पूर्वप्रहरीप्रमुखको संलग्नताको जुन अपहरणजस्तो जघन्य प्रकृतिको घटना भयो, त्यो स्वतः नै सरकारवादी मुद्दा बन्छ, त्यसबारे जाहेरी नलिई पनि मुद्दा अघि बढाउनुपर्ने हो,’ जिल्ला प्रहरी कार्यालयमा उनले पत्रकारहरूसँग भने, ‘हामी प्रहरीलाई दोषारोपण गर्न चाहँदैनौँ, उहाँहरूको बाध्यता छ, माथिको निर्देशन छ, देशमा प्रहरी प्रशासनलाई आतंकित बनाइएको छ । त्यसकारण यो घटना थप गम्भीर बनेको गएको छ।’

काठमाडौं प्रहरीले भने सांसदलाई महोत्तरीबाट ल्याइएकाले आफ्नो कार्यक्षेत्रमा नपर्ने दाबी गरेको छ। काठमाडौैं परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले भने, ‘घटनाको सुरुवात महोत्तरी भएकाले हामीले जाहेरी दर्ता नगरेका हौँ।’

तर, प्रहरीले उजुरी लिन अस्वीकार गरे अन्य हुलाकमार्फत पनि पठाउन सकिने व्यवस्था मुलुकी अपराध संहितामा छ।

सांसद डा. यादवलाई काठमाडौं ल्याउन दुई सांसद र पूर्वआइजिपीको टोली गत मंगलबार महोत्तरी पुगेको थियो, बुधबार राति यादवलाई लिएर उनीहरू काडमाडौं आएका थिए।

पार्टी फुटाए मन्त्री दिने भन्दै प्रलोभनमा पारिएको र दबाबमा राखेर आफूलाई काठमाडौंमा ल्याएको डा.यादवले बताएका छन् । उनलाई ल्याएर काठमाडौंको म्यारियट होटेलमा राखिएकोमा उनी बिहीबार बिहान होटेलबाट भागेका थिए।

नवगठित जनता समाजवादी पार्टीका दर्जन नेता जाहेरी लिएर आइतबार दिउँसो टेकुस्थित महानगरीय प्रहरी परिसर पुगेका थिए । सांसद यादवसँग पूर्वप्रधानमन्त्री डा. भट्टराई, नेता उपेन्द्र यादव, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, राजेन्द्र श्रेष्ठ, केशव झालगायतको टोली थियो।

सुरुमा उनीहरूले एसपी सोमेन्द्रसिंह राठौरलाई भेटे । कार्यालयप्रमुख रहेका एसएसपी श्यामलाल ज्ञवाली बैठकमा बाहिर थिए । एसपी राठौरले घटना महोत्तरीबाट सुरु भएकाले महोत्तरीमै जाहेरी दिन आग्रह गरे । तर, नेताहरूले मानेनन् । उनीहरूले एसएसपी ज्ञवालीलाई पर्खिए।

करिब ५ बजे कार्यालय आइपुगेका ज्ञवालीले पनि जाहेरी दर्ता गर्न नसकिने बताएपछि नेता उपेन्द्र यादव आक्रोशित भएका थिए । डा. भट्टराईले संयमित भएर ‘तपाईंको कुरा बुझ्यौँ, माथिबाटै यस्तो आदेश आएको होला, हामी कानुनी बाटोमा जान्छौँ’ भन्दै फर्किएका थिए।

घटनाको योजना काठमाडौंमा बनेको तथा काठमाडौंको म्यारियट होटेलमा ल्याएर राखिएकाले काठमाडौंमै मुद्दा दर्ता हुनुपर्नेमा प्रहरी पन्छिएको डा. यादवका कानुन व्यवसायी दिनेश त्रिपाठीको भनाइ छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad