ad ad

छापा खबर


प्रचण्डले डीआईजीमा प्रस्ताव गरेको नाम जब ओलीले काटे....

प्रचण्डले डीआईजीमा प्रस्ताव गरेको नाम जब ओलीले काटे....

नेपालखबर
चैत ३०, २०७६ आइतबार १:५१,

प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई बालुवाटार बोलाए।

काम थियो–डीआईजी बढुवा सिफारिस कार्यसूचीमा छलफल गर्ने। गृह स्रोतका अनुसार प्रधानमन्त्री ओलीले डीआईजी बढुवा सूची मागे।

सूचीमा राष्ट्रिय सुरक्षा परिषद्मा रहेका एसएसपी गणेश ऐरको नाम नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा गृहमन्त्री थापाले राख्न लगाएका थिए। दाहालले ऐरलाई पहिलो नम्बरमै राख्न भनेकामा थापाले पाँचौं नम्बरमा पारेका थिए।

गृहसचिव न्यौपाने अध्यक्ष रहेको सिफारिस समितिले तयार पारेको सूचीबाट ऐरको नाम मात्र हटाएर प्रधानमन्त्रीले बाँकी कायम राखे।

२४ चैतको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्ति गर्ने निर्णय गर्‍यो। दाहाल मीनबहादुर श्रेष्ठलाई गभर्नर बनाउन चाहन्थे।

तर, प्रधानमन्त्रीले यो विषयमा उनीसँग कुनै छलफल नै चलाएनन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका

चैत २ गते सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कार्यवाहक महासचिवमा गोपालनाथ योगीलाई जिम्मेवारी तोके। महासचिव मनोहरप्रसाद भट्टराईको ५ वर्षे कार्यकाल सकिएपछि योगीलाई कार्यवाहक तोकिएको हो। योगीलाई कार्यवाहक तोक्ने क्रममा पनि दुई अध्यक्षको मतैक्य भएन।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनु अघिल्लो दिन १८ फागनुमा बसेको मन्त्रिपरिषद् बैठकले चीनका लागि राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउने निर्णय गर्‍यो।

दाहाल प्रधानमन्त्री भएका बेला नियुक्त पौड्याललाई फिर्ता किन बोलाइयो? यो निर्णयबारे मन्त्रीहरू नै बेखवर थिए। पौडेललाई फिर्ता बोलाउन प्रधानमन्त्रीले धेरै अघि तयारी गरेका थिए।

यी र यस्तै प्रकरणले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच दूरी बढेको छ। गत ४ मंसिरमा ओली र दाहालबीच कार्यविभाजन भएयता सम्बधमा चिसिएको छ।

अझ गत २३ पुसमा उपाध्यक्ष वामदेव गौतमको निवासमा दाहालसहितका ओलीइतर बहुमत सचिवालय सदस्यहरूको भेलापछि त अध्यक्षद्वयबीच चिसिएको सम्बन्धमा सुधार हुनै सकेको छैन।

ओली पूर्वएमाले समूहभित्र खेलेर आफूलाई घेराबन्दीमा पार्न खोजेको भन्दै दाहालसँग असन्तुष्ट छन्। ओलीले सरकार सञ्चालन एकलौटी गरेको र पार्टीमा पनि आफूलाई काम गर्न असहज पार्न मात्र खोजेको दाहालको आरोप छ।

दाहालनिकट स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने, ‘पार्टीमा प्रचण्ड हाबी हुँदै जान थालेको उहाँ (ओली) हरूलाई पाच्य भएको छैन। यसले समस्या समाधान हुँदैन। छलफल र बहसबाटै निकास निकाल्नुपर्छ।’

सभामुख चयनमा ओलीको इच्छाविपरीत दाहालले आफूनिकट नेता अग्नि सापकोटालाई पार्टी निर्णय गराउनु, केन्द्रीय समिति बैठकबाट एमसीसी अध्ययन कार्यदल बनाउनु र कार्यदलले परिमार्जन नगरी एमसीसी पारित हुन नसक्ने प्रतिवेदन बुझाउनु, त्यसपछि पनि उपाध्यक्ष वामदेव गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कोटामा राष्ट्रियसभामा लैजान पार्टीमा निर्णय गराउनुमा दाहालले आपूmलाई घेराबन्दीमा पार्न खोजेको ओलीको बुझाइ छ।

दुई अध्यक्षबीच समझदारी बिग्रिएको थप दुई तथ्यले पनि देखाउँछन्। पहिलो, प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गरेर फर्केपछि गत १ चैतमा दाहाल र वरिष्ठ नेता माधव नेपालसँग बालुवाटारमा भेटवार्ता गरे।

दाहालले ओलीको स्वास्थ्य अवस्थासँगै पार्टीमा देखिएको विवाद समाधानका लागि राजनीतिक कुराकानी गर्न खोजेका थिए। तर, ओलीले उनीसँग त्यसदिन खासै राजनीतिक वार्तालाप गर्न चाहेनन्। वरिष्ठ नेता नेपालसँग भने स्वस्थ्यका विषयभन्दा राजनीतिक कुराकानी ओलीले बढी नै गरेका थिए।

ओलीनिकट एक स्थायी समिति सदस्यले भने, ‘प्रधानमन्त्रीले पूर्व एमाले भिडाएर दाहालले पार्टीमा आफ्नो वर्चस्व राख्न खोजेको बुझ्नुभएको छ। त्यही भएर पनि उहाँ वरिष्ठ नेता माधव नेपालसँग अलिक खुल्न चाहन थाल्नुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .