ad ad

छापा खबर


सुरु भयो चट्याङको सिजन, कसरी जोगिने यसबाट?

सुरु भयो चट्याङको सिजन, कसरी जोगिने यसबाट?

नेपालखबर
चैत ३०, २०७६ आइतबार १:२९,

नेपालमा बर्सेनि चट्याङबाट मर्नेको सङ्ख्या बढ्दो छ। विगत ११ वर्षे अवधिमा ८२१ जनाको ज्यान गएको छ।

अचेल गड्याङगुडुङ गर्दै, बिजुली चम्कँदै, कतै चर्को आवाजसहित ठोक्किएको धेरै सुनिन्छ। सामान्यतया त्यसलाई नै आम मानिसले चट्याङ परेको बुझ्छन्।

मौसमविद्का अनुसार प्रि–मनसुनको तीन महिनाभित्र, मनसुन सुरु नभएसम्म र हिउँदे वर्षा जाने बेलामा चट्याङ बढी पर्छ। यो खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।

प्रि–मनसुन सुरु हुँदाको करिब एक महिनाको अवधिमा २१ वटा चट्याङका घटना भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालय अन्तर्गत रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार चट्याङबाट २०७५ सालमा मात्र ६८ जनाले ज्यान गुमाए । यस अवधिमा सबैभन्दा बढी २०६९ सालमा १३१ को मृत्यु भएको थियो।

मानिसको ज्यान लिनेमध्ये आगलागी र पहिरोपछि तेस्रो डरलाग्दो प्राकृतिक विपत्तिमा चट्याङ रहेको विपत्को प्रतिवेदन सन् २०१७–२०१८ मा उल्लेख छ।

जस अनुसार त्यस अवधिमा १६० जनाको ज्यान गएको थियो । यसवर्ष पनि गत वैशाखदेखि हालसम्म ४८ जनाको चट्याङले ज्यान लिएको गृह मन्त्रालयले जनाएको छ।

के हो चट्याङ?
मौसमविद् मीनकुमार अर्यालका अनुसार बादल ठोक्किएर मेघगर्जनको आवाज आउँछ । त्यसको विद्युतीय प्रवाह जमिनमा पर्छ, त्यही नै चट्याङ हो। जुन प्रक्रियामा विद्युत्को उच्च भोल्टको प्रवाह हुन्छ, त्यो जेमा पर्छ, नष्ट हुने अत्यधिक सम्भावना हुन्छ।

बादलको तल्लो भागमा माइनस र जमिनको तल्लो सतहमा प्लस भइदियो भने त्यो दुई दूरी बीचमा विद्युत् प्रवाह हुन्छ, त्यसबेला तल ठोक्किँदा आवाज आएर चट्याङ पर्ने उनले बताए।

त्यस क्रममा लाखौँ किलोवाटसम्म विद्युत् प्रवाह हुन्छ। कालो मडारिएको बादल, हावाहुरी सहितको मौसम हुँदा चट्याङ बढी पर्छ।

प्रारम्भिक चरण, वयष्क चरण र अन्तिम चरण गरी तीन चरणमा चट्याङ विकसित हुने जानकारी अर्यालले दिए। मौसमविद् समीर श्रेष्ठ भने बादल घर्षण हुँदा चार्ज धेरै भइसकेपछि त्यो फाल्ने प्रक्रियामै कहिले जमिनमा खस्छ भने कहिले अर्को बादलमा जाने बताउँछन्।

श्रेष्ठले त्यो बादल अर्को बादलमा गएको खण्डमा बिजुली चम्कन्छ भने बादलबाट जमिनमा आयो भने चट्याङ पर्ने बताए। उनका अनुसार अन्यत्रभन्दा पहाडी भेगमा चट्याङ बढी पर्छ।

पहाडतिर एक त उचाइ हुन्छ। बादल १० हजार फिटमा बन्छ भने पहाड आफैँ ५–६ हजार फिटसम्म हुन्छ । बिजुली तल आउन थोरै दूरी मात्र पार गर्नुपर्छ।

रुख चट्याङका लागि बढी सहयोगी हुन्छ किनकि त्यसभित्र पानी, खनिजको मात्रा बढी हुन्छ । त्यस्तै धातुका सामान, अग्ला घरमा जता उँचो हुन्छ, त्यता चट्याङ पर्छ।

आधा घण्टाअघि मात्रै पूर्वानुमान 
मौसम पूर्वानुमान महाशाखाका अनुसार चट्याङको पूर्वानुमान समय आधा घण्टा मात्र हो। छोटो समयमा पूर्वानुमान गर्नुपर्दा अप्ठेरो हुन्छ । बिजुली चम्केपछि मात्र जानकारी दिन सकिन्छ।

जसले बृहत् सूचना प्रसारण गर्न समय नहुने मौसमविद् श्रेष्ठ बताउँछन्। उनका अनुसार प्राप्त समयमा जानकारी दिन लाइटिङ डिटेक्टिङ सिस्टम देशैभरि स्थापना गरिएको छ । जसले नेपालको कुनै पनि ठाउँमा बिजुली चम्केको वा चट्याङ परेको तत्कालै थाहा पाउँछ।

कसरी जोगिने?
विद्युत्का पूर्ण सुचालक र अर्ध सुचालक वस्तु चट्याङका मुख्य आकर्षण हुन्। धातु, हरियो रूख पूर्ण सुचालक हुन्। मानिस भने अर्ध सुचालक हो।

त्यसैले मानिस रूख, धातुका अग्ला टावर र घर जस्ता विद्युतीय सुचालकको नजिक नबस्न मौसमविद् मीनकुमार अर्यालको सुझाव छ। विद्युत् प्रवाह बन्द गर्नुपर्छ । गाडीमा सवार छन् भने गाडीभित्रै सुरक्षित हुन्छ।

घरमा अर्थिङ अर्थात् लाइटनिङ रड राखेर सुरक्षित रहन सकिन्छ । सकभर त्यस्तो बेलामा घरबाहिर ननिस्कने र घर भित्रैका बिजुलीका सुचालक वस्तु बन्द गर्न महाशाखाले सुझाएको छ।

अन्य सावधानीमा पहाडी भेगमा रहँदा सतर्क रहने, घर बाहिर भए दुई कुहिनाले टाउको छोपेर टुक्रुक्क बस्नुपर्छ। मानिसको टाउको र खुट्टाबाट चट्याङको बिजुली पार हुनेगर्छ। चट्याङ लागेमा तत्काल चिकित्सक बोलाएर उपचार गर्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .