ad ad

छापा खबर


बिरानो भयो मातृभूमि : ‘मरे पनि आफ्नै देशमा मर्छु भनेर महाकालीमा हाम्फालेँ’

बिरानो भयो मातृभूमि : ‘मरे पनि आफ्नै देशमा मर्छु भनेर महाकालीमा हाम्फालेँ’

नेपालखबर
चैत १९, २०७६ बुधबार २:३३,

नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेर अस्ट्रेलिया सरकारले बुधबार आफ्ना नागरिक स्वदेश फर्काउँदै छ।

तर, भारतीय प्रहरीको लाठी र बुट खाँदै महाकाली किनारमा आइपुगेका नेपालीलाई राज्यले तिरस्कार गरिरहेको छ।

तीन दिनसम्म नारा लगाउँदा पनि सरकारले नसुनेपछि नेपाली मजदुर महाकालीमा पौडेर वारि आउन थालेका छन् । मातृभूमि टेक्नेलाई दुर्व्यवहार गर्न प्रहरी तम्तयार छ ।

यो तस्बिसहितको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

मंगलबार दिउँसो करिब १ बजे, महाकाली नदी पारिपट्टि किनारमा एक युवकले एकाएक लुगा फुकाले । लुगा झोलामा हाले, झोला टाउकोमा बाँधे, अनि महाकालीमा हेलिए ।

केहीबेरमै वारि किनार आइपुगे । उनले देशको माटो त टेके, तर खुसीको सास फेर्न सकेनन् । किनभने वारि आएलत्तगै प्रहरीले पक्राउ गर्‍यो।

महाकालीको चिसो पानीमा चोबलिएर काम्दै देश छिरेका उनी प्रहरीले समातेपछि झन् अत्तालिए । आफ्नै देश टेक्दा, आफ्नै देशका सुरक्षाकर्मीसामु अवाक भए।

उनी हुन्– बैतडीको डिलासैनी गाउँपालिका–२ सिमराका २१ वर्षीय लोकेन्द्र बोहरा । घरमा कमाउने कोही नभएपछि दुई महिनाअघि गाउँका साथीसँगै रोजगारीका लागि भारत गएका थिए ।

पिथौरागढ जिल्लाको पञ्चाचुली क्षेत्रमा सडक निर्माणको काम पनि पाए । तर, चैत नलाग्दै कोरोनाको हल्ला फैलियो । ठेकेदारले घर जान भनेपछि शनिबार उनीसहित ११ नेपाली मजदुरले नेपालको यात्रा तय गरेका थिए । सोमबार धार्चुला आइपुगेका थिए ।

‘दुई दिनसम्म लगातार हिँडेर सोमबार धार्चुला आइपुगें । त्यहाँ अन्य नेपालीलाई राखिएको ठाउँमा खाना खाएँ । कान्जीहाउसमा शौचालयको छतमा रात काटेँ,’ उनले भने, ‘आफ्नै देश छिर्न रोक लागेकोमा कटक्क मन काट्यो । जे होला भनेर आज महाकाली तरेको हुँ । अब नेपाल सरकारले जे गर्छ, त्यही टर्छ।’

बैतडीकै डिलासैनी–७ धामी गाउँका २१ वर्षीय अमरसिंह धामीले पनि मंगलबार महाकालीमा पौडेर नेपालमा पाइला टेके । उनीसहित १३ जनाको समूह भारतबाट आइतबार बिहान हिँडेर सोमबार बेलुका सीमावर्ती क्षेत्र बालुवाकोट आइपुगेको थियो।

अमरसिंह पनि रहरले भारत गएका थिएनन् । १० कक्षासम्म पढेका उनी परिवारको पेट पाल्न रोजगारी खोज्दै पुगेका थिए । कोरोनाको त्राससँगै सडक निर्माणको रोजगारी गुमेपछि घर फर्किएका हुन् ।

तर, सीमामा सरकारले रोकेकोमा उनको चित्त दुखाइ छ । ‘परिवार धान्न भारत जानुपर्‍यो । अहिले दुःखमा आफ्नो घर फर्किन पनि नपाउने?’ उनले भने, ‘बालुवाकोटमा खानबस्नको व्यवस्था नभएपछि जे त पर्ला भनेर महाकाली तरेर आएको हुँ ।’ उनीसँगै डिलासैनी–३ र पुर्चौडी नगरपालिका–३ का ६ जना महाकाली तरेर नेपाल छिरेका छन् ।

पौडिन सक्ने तरेर आए, तर नसक्ने सयौँ नेपाली भारतीय क्षेत्रमै अलपत्र छन् ।

अमरसिंहसँगै महाकाली तरेर आएका पुर्चौडी–८ का २५ वर्षीय दीपक साउद भारततर्फ बाटाभरि बालबच्चासहित सयौँ अलपत्र परेको बताउँछन्। भारतीय प्रहरी र पसलेले नेपालीलाई अपराधी आएजस्तो व्यवहार गर्ने गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .