काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार काठमाडौंमा एक व्यक्तिलाई प्रतिदिन १३५ लिटर पानी आवश्यक पर्छ ।
यो आधारमा उपत्यकाका ३० लाख जनसंख्यालाई दैनिक ४२ करोड लिटर पानी आवश्यक पर्छ । तर, केयुकेएलसँग अहिले प्रतिदिन १० करोड लिटर मात्रै उपलब्ध छ ।
योमध्ये ३५ देखि ४० प्रतिशत पानी त चुहिएरै सकिन्छ । त्यसैले उपभोक्ताको घरमा ५ देखि ६ करोड लिटर मात्रै पुग्छ ।
यस आधारमा दैनिक एक व्यक्तिको भागमा २० लिटर मात्रै पर्छ । तर, उपभोक्ताले यही पानी पनि दैनिक नपाउने भएकाले जटिल समस्या छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।
‘उपत्यकाभित्रका सर्फेसमा रहेका पानीका स्रोत अधिकतम प्रयोग गरिएको छ । जमिनमुनिको पानी पनि ८० ठाउँबाट उत्पादन हुँदै छन् । यी सबैबाट दैनिक १० करोड लिटर पानी मात्रै उत्पादन हुन्छ । तर, माग ४२ लाख लिटरको छ । यति ठूलो मागलाई १० करोड लिटरले कसरी धान्न सक्छ,’ केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले भने ।
बालुवाटार र शीतल निवास क्षेत्रमै पानीको चरम अभाव
राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास रहेको क्षेत्रमै खानेपानीको हाहाकार छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का अनुसार काठमाडौंमा शीतलनिवास, बालुवाटार, वसुन्धरा, नयाँबजार, गोंगबु, महाराजगन्ज, ठमेल, नक्साल, हाँडीगाउँ, सामखुसीलगायत क्षेत्रमा खानेपानीको चरम अभाव छ ।
शीतलनिवास र बालुवाटार क्षेत्रका घरहरूमा २० दिनमा बिराएर बढीमा तीन घन्टा खानेपानी वितरण गरिँदै आएको छ ।
दक्षिणी सामाखुसी क्षेत्रमा १९ दिनमा, बाँसबारी र कपन क्षेत्रमा १८ दिनमा र बसुन्धरा पश्चिम क्षेत्रमा १७ दिनमा एकपटक खानेपानी वितरण हुँदै आएको छ । बानेश्वर आसपासका क्षेत्रमा पनि खानीपानीको अभाव छ । उक्त क्षेत्रका घरका धारामा आठ दिनमा दुई घन्टा मात्रै खानेपानी आउँछ ।
क्षेत्रपाटी आसपासमा नौ दिन बिराएर आउँछ । बौद्ध, महांकाल, चुच्चेपाटी, चाबहिल क्षेत्रमा पनि नौ दिनमा एकपटक खानेपानी वितरण हुन्छ । त्यस्तै, त्रिपुरेश्वर, कालिमाटी, डल्लु आसपासका क्षेत्रका घरमा सातामा एकपटक सरकारी पानी आउँछ ।
ललितपुरको कुपन्डोल, जावलाखेल क्षेत्रमा पनि समस्या उस्तै छ । यहाँ एक सातामा पानी वितरण हुन्छ ।
Shares

प्रतिक्रिया