ad ad

छापा खबर


टेकु र पाटन अस्पताल बिरामीले भरिए, अरु अस्पतालले रुघाखोकीका बिरामी भर्ना लिन मानेनन्

टेकु र पाटन अस्पताल बिरामीले भरिए, अरु अस्पतालले रुघाखोकीका बिरामी भर्ना लिन मानेनन्

नेपालखबर
चैत १२, २०७६ बुधबार ३:३०,

कोरोना संक्रमणको आशंकामा अस्पतालमा बिरामीको भिड बढेको छ । टेकु र पाटन अस्पतालका आइसोलेसन वार्ड भरिएका छन्।

तर, यो संगिन घडीमा अरू अस्पताल रुघाखोकी र ज्वरोका कुनै पनि बिरामी भर्ना नलिएर जिम्मेवारीबाट पन्छिएका खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

सरकारले ५० बेडभन्दा माथिका सबै अस्पताललाई ज्वरो क्लिनिक सञ्चालन गरेर उपचार गर्न निर्देशन दिए पनि अटेर गरेका हुन् । सरकारको निर्णयमा सहमति जनाएर पनि कार्यान्वयन नगरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोरोना भएको हुन सक्ने भन्दै ज्वरो आएका बिरामीलाई फिर्ता पठाउने ग्रान्डी इन्टरनेसनल र अल्का अस्पताललाई मन्त्रालयले स्पष्टीकरणसमेत सोधेको छ।

मंगलबार मन्त्रालयमै बोलाएर स्पष्टीकरण सोधिएको मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए । अस्पतालहरूले उपचारको जिम्मा मेडिकल अफिसरलाई दिने र बिरामी आए माथिको निर्देशन भनेर फर्काउने गरेको भेटिएको मन्त्रालय स्रोतले जनायो।

हेटौँडाका ६५ वर्षका एक बिरामी सोमबार रातभर काठमाडौंका विभिन्न अस्पताल चहारे । वीर, त्रिवि शिक्षण, कान्तिपुर, ब्लुक्रस र किस्ट अस्पताल धाउँदा पनि कतै भर्ना पाएनन् । यस्तो सूचना पाएपछि मन्त्रालयको दबाबमा उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो।

टेकु र पाटनका आइसोलेसन वार्ड भरिएपछि र अन्य अस्पतालले भर्ना नलिएपछि नयाँ बिरामीको उपचारमै समस्या भएको छ । टेकुमा ५ आइसोलेसन र ४ आइसियु बेड छन्।

त्यस्तै, पाटनमा ५ आइसोलेसन र ७ आइसियु बेड छन् । आइसियु बेडमा भने अन्य बिरामी राख्ने गरिएको पाटन अस्पतालले जनाएको छ।

सरकारले कोरोना संक्रमितको उपचारका लागि टेकु र पाटनसँगै वीर, त्रिवि शिक्षण र सिभिल अस्पताललाई पनि जिम्मा दिएको थियो । तर, सिभिल, त्रिवि शिक्षण र वीर अस्पतालले कुनै तयारी नै गरेका छैनन्।

उनीहरूले बिरामीका लागि बेडसमेत छुट्याएका छैनन् । शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। प्रेमकृष्ण खड्गाले कुनै तयारी नभएको बताए।

यी अस्पतालले गरिब बिरामीको उपचार गर्ने अस्पताल भएकाले कोरोना संक्रमितलाई भर्ना गर्न नसक्ने बताउँदै आएका छन् । टेकु अस्पतालका अनुसार तयारी अपुग भएको भन्दै सशस्त्र प्रहरी अस्पतालले समेत बिरामी लिन मानेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .