नेपाल प्रहरीका लत्ताकपडा स्वीकृत नमूनाभन्दा फरक खरिद गरिएको छ।
ज्याकेट, ऊनी पाइन्ट–स्वेटर, कटन सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजाजस्ता स्केलमा सामान स्वीकृत नमूनाभन्दा बाहिर गएर खरिद गरिएको खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।
ठेकेदारले स्वीकृत नमुनाभन्दा बाहिर गई बुझाएका सामान प्रहरी प्रधान कार्यालय भण्डारण शाखाले बिनाहिचकिचाहट बुझेको छ।
अहिले ठेकेदारले बुझाएका जर्सी, बुट, झोला, चुस्ता, ऊनका सर्ट पाइन्ट, कटन पाइन्ट, ट्र्याक सुट, ब्यारेक क्याप, टप बुट पार्कर ज्याकेट स्वीकृत नमुनाभन्दा फरक छन्। ठेक्का सम्झौतामा फागुनभित्र सबै सामान बुझाइसक्नुपर्छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार लत्ताकपडाका सामान सबै आउन थालिसकेका छन्। जसमध्ये टप बुट २४ हजार जोडी आइसकेका छन्। डिएसएम बुट पनि आउन थालिसकेको छ। टेन्डर गर्दा नमुना परीक्षण गरी स्वीकृत गरिन्छ।
त्यसैअनुसार ठेकेदारले सामान ल्याउने कबुल गरेपछि मात्रै ठेक्का दिइन्छ। तर ठेकेदारले दाखिला गर्ने बेलामा स्वीकृत नमुनाभन्दा फरक सामान हुन्छ। यसमा आर्थिक अनियमितता भएको स्रोतको दाबी छ।
प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखा स्रोतका अनुसार लत्ताकपडा खरिदमा मात्रै प्रहरीले ७३ करोड रुपैयाँको टेन्डर गरेको थियो। लत्ताकपडाको नमुना परीक्षण नेपालको नापतौल तथा गुणस्तर विभागमा हुँदैन। भारतको इन्टरटेक प्राइभेट लिमिटेडमा परीक्षण गराइन्छ।
भण्डारण शाखाले सामान पठाउँदा त्यहाँ सिलबन्दी गराउँदैन। जुन ठेकेदार कम्पनीले सामान बुझाएको हो, उसैलाई नमुना परीक्षणका लागि भारत पठाइन्छ। ‘ठेकेदारलाई नै नमुना परीक्षणका लागि सामान पठाउँदा उसले कस्तो रिपोर्ट लिएर आउला सहजै अनुमान गर्न सकिन्छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो।
स्रोतका अनुसार प्रहरी प्रबन्ध शाखामा रहेका कर्मचारी र ठेकेदारबीच मिलेमतो हुने गरेका कारण प्रहरी कर्मचारीले स्वीकृत नमुनाअनुसार विगत तीन वर्षदेखि कपडा पाएका छैनन्।
दुई वर्षसम्म टिक्नुपर्ने डिएसएम बुट चार महिनामा तलुवा उप्किने गरेको तथा ६ महिनामा फाट्ने गरेको छ। त्यसैगरी कपडाको रङ खुइलिने र च्यातिने गरेका कारण प्रहरी कर्मचारीले अर्को कपडा किन्नुपरेको छ।
सेटिङमा नमुना परीक्षण भएकाले अनियमितता हुने गरेको रहस्य खुलेको एक प्रहरी कर्मचारीले बताए। ‘एक वर्षदेखि हामीले यो कुरा प्रबन्ध शाखाका प्रमुखलाई भन्यौं तर उहाँले वास्ता गर्नुभएन। अहिले सामान आउन थालेको छ। के–कस्तो प्रक्रियाले सामान बुझाउँदा रहेछन् भनेर हामीले नियाल्दा सेटिङमा काम भएको पाइयो,’ ती प्रहरीले भने।
स्रोतका अनुसार प्रहरीको लत्ताकपडा खरिद टेन्डरमा पाँचजना व्यापारीको सिन्डिकेट चल्दै आएको छ।

प्रतिक्रिया