छापा खबर


राजदूतमा सरकारको अनौठो मापदण्ड : लीलामणि पौड्याल अयोग्य, ओलीकी साली र देउवाकी सासु योग्य!

राजदूतमा सरकारको अनौठो मापदण्ड : लीलामणि पौड्याल अयोग्य, ओलीकी साली र देउवाकी सासु योग्य!

नेपालखबर
फागुन १९, २०७६ सोमबार १:२,

सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएको छ।

पूर्वमुख्यसचिवसमेत रहेका पौड्याललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिँदै मन्त्रिपरिषद्ले नेकपा नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई राजदूतका रूपमा चीन पठाउने निर्णय गरेको छ।

पौड्यालको कार्यसम्पादन सन्तोषजनक नभएको भनेर तुरुन्त फर्काउने निर्णय गरेको सरकारले नेताका सासू, साली र व्यापारीका छोरीको काममा भने प्रश्न उठाएको छैन। यो खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाकी सासू प्रतिभा राणा जापानमा राजदूत छिन् । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको कांग्रेस र तत्कालीन माओवादीको संयुक्त सरकारले राणालाई वैशाख ०७४ मा राजदूत बनाएको हो।

जापानजस्तो नेपालको असल विकास साझेदार देशमा बुढेसकालमा आराम गर्न राणालाई पठाइएको हो । उनको कामको विषयमा परराष्ट्र मन्त्रालयका कुनै पनि अधिकारी सन्तुष्ट छैनन्।

कांग्रेस र माओवादीकै सरकारका पाला विजय गच्छदारको पार्टीको कोटाबाट शर्मिला पराजुली ढकालले राजदूत हुने अवसर पाएकी थिइन् । म्यानपावर व्यवसायी उनलाई ओमानका लागि राजदूत बनाइएको थियो।

नेपाली कामदारका लागि ओमान पनि आकर्षक गन्तव्य हो । तर, कामदारको हकहित संरक्षण गर्ने होइन, म्यानपावर व्यवसाय प्रवद्र्धन गर्न दिने उद्देश्यले पराजुलीलाई राजदूत बनाइएको थियो।

तत्कालीन सरकार मात्र होइन, वर्तमान सरकारको नेतृत्वसँग पनि उनले धेरै राम्रो सम्बन्ध बनाएकी छिन् । त्यसैले उनको पद पनि सुरक्षित छ।

ओली सरकारका पाला राष्ट्रिय सम्पत्तिमा सबैभन्दा बढी दोहन गरेको यती समूहले कूटनीतिक क्षेत्रमा पनि परिवारका मान्छे पठाएको छ । यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाकी छोरी दावाफुटी शेर्पालाई सरकारले गत ९ भदौमा राजदूत बनाएको हो।

अघिल्लोपटक प्रधानमन्त्री हुँदा ओलीले साली अञ्जन शाक्यलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक बनाएका थिए । यसपालि उनलाई राजदूत बनाएर इजरायल पठाएका छन् ।

सुशील कोइराला प्रधानमन्त्री हुँदासम्म कांग्रेसको राजनीति गरेका महेशराज दाहाललाई तत्कालीन सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धक बनाएको थियो । तर, गत निर्वाचनमा उनी चितवनमा वाम गठबन्धनको प्रचारमा हिँडे।

एमाले र माओवादी मिलेपछि नेकपामा समाहित भएका दाहाल अहिले अस्ट्रेलियाका लागि राजदूत छन् । यस्ता कुनै पनि राजदूतको कार्यक्षमतामाथि सरकारलाई चासो छैन । तर, लीलामणि पौड्याललाई भने चीनबाट तत्काल फिर्ता बोलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad