छापा खबर


प्रचण्डलाई जुत्ता हान्ने तिरुवा रहेछन् विप्लव कार्यकर्ता

प्रचण्डलाई जुत्ता हान्ने तिरुवा रहेछन् विप्लव कार्यकर्ता

नेपालखबर
फागुन १९, २०७६ सोमबार १:१०,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरेर जुत्ता प्रहार भएको छ।

राष्ट्रिय सभागृहमा प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा दाहालमाथि जुत्ता प्रहार भएको हो।

तर, उहाँलाई जुत्ताले भने नलागेको प्रहरीको भनाइ छ।

जुत्ता प्रहार गर्ने जुम्लाको सिञ्जा गाउँपालिका-२ घोडेंगाका २२ वर्षीय रतन तिरुवालाई नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा लगिएको प्रहरीले जनाएको छ।

जुत्ता प्रहार गर्ने युवक पूर्वमाओवादीमा आन्दोलनमा लागेका शहीदका छोरा भएको भनिए पनि नेकपा जुम्लाले आइतबारै प्रेस विज्ञप्ति जारी गरी उनी शहीदपुत्र नभएको पुष्टि गरेको छ।

नेकपा जुम्लाका जिल्ला अध्यक्ष वीरबहादुर कुँवरद्वारा जारी उक्त प्रेस विज्ञप्तिमा तिरुवा नेकपाको समर्थकसम्म नभएको र विप्लव समूह निकट भई यस्तै गतिविधिमा संलग्न भएकाले प्रहरीले खोजिरहेको व्यक्ति भएको जनाइएको । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ।

प्रहरीका अनुसार नेपालगन्जमा अमिन पढेका तिरुवा लोकसेवा आयोगको परीक्षाको तयारीका लागि काठमाडौं आएका थिए। ‘प्रचण्ड आउने भएपछि भाषण सुन्न गएको थिएँ। उहाँले वर्गसंघर्षको कुरा गर्न थाल्नुभयो। पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मिलेको छैन। मलाई चित्त बुझेन। अनि जुत्ता हानेको हुँ।’ –उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्।

यसअघि २०६९ मंसिर १ गते काठमाडौंमा आयोजित चियापान कार्यक्रममा पनि प्रचण्डमाथि पदम कुँवरले थप्पड हानेका थिए। तर, लगत्तै प्रचण्डको आग्रहमा कुँवर रिहा भएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad