ad ad

छापा खबर


सुस्ताए गृहमन्त्री, त्यस्ता बादल यस्ता भए!

सुस्ताए गृहमन्त्री, त्यस्ता बादल यस्ता भए!

नेपालखबर
फागुन १७, २०७६ शनिबार ०:५४,

केपी ओली नेतृत्वको सरकारले सय दिन मनाउँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सबैभन्दा बढी चर्चामा थिए।

यातायात क्षेत्रको सिन्डिकेटदेखि समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई पक्राउ गरेर कारबाही गर्ने उनको योजनाको सर्वत्र प्रशंसा भएको थियो।

सुन तस्करीमा संलग्न हाइप्रोफाइल व्यक्तिहरू धमाधम पक्राउ परिरहेका थिए । सरकारका मन्त्रीहरूमध्ये सबैभन्दा चर्चा र प्रशंसा उनकै थियो।

बादल गृहमन्त्री भएको गत १३ फागुनमा दुई वर्ष पुगेको छ । अहिले उनी विगतमा जस्तो चर्चामा छैनन्।

उनका आक्रामक कार्य योजनाहरू सेलाउँदै गएका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

निर्मला पन्तको हत्यादेखि कुमार पौडेलको इन्काउन्टरसम्मका घटनाको विवादमा उनको छविमा धक्का लाग्यो । पछिल्लो समय उनको कार्यशैली फेरिँदै गएको छ।

ओली सरकारको पहिलो राम्रो कामका रूपमा यातायात क्षेत्रको सिन्डिकेटविरुद्धको कारबाहीलाई लिइएको थियो । जिल्ला प्रशासन कार्यालयमा एनजिओका रूपमा यातायात समितिहरू दर्ता गरेर करोडौँको व्यवसाय गरिरहेका थिए ।

ती सबै समिति खारेज गर्ने र कम्पनीमार्फत यातायात व्यवसाय सञ्चालन गर्नुपर्ने निर्णय भयो । त्यसको कार्यान्वायनमा गृह मन्त्रालयको महत्व्पूर्ण भूमिका थियो । तर, अहिलेसम्म यातायात समिति खारेज भइसकेका छैनन् । सार्वजनिक यातायात क्षेत्रमा स्वच्छ प्रतिस्पर्धाको वातावरण नहुँदा सुधार आउन सकेको छैन।

त्यसपछिको मन्त्री बादलको अर्को महत्वपूर्ण योजना समयमा काम नगर्ने निर्माण व्यवसायीमाथि कारबाही थियो । गृह मन्त्रालयको निर्देशनमा विभिन्न जिल्लामा केही ठेकदार पक्राउ पनि परे। यो कामको जनस्तरबाट प्रशंसा भए पनि प्रधानमन्त्री तथा पार्टीकै नेताहरूको दबाबपछि उनले यो अभियानलाई निरन्तरता दिन सकेनन्।

मन्त्री बादलको एउटा सफलता सुन तस्करीमा संलग्न संगठित समूहविरुद्धको कारबाही हो । तस्करीको सुन हराएको विवादमा सनम शाक्यको हत्या भएको घटनामाथि अनुसन्धान गर्दा यसमा संगठित समूह देखियो।

त्यसको अनुसन्धानका लागि उनले सहसचिवको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरे । टोलीले प्रहरीसहित संगठित गिरोहविरुद्ध मुद्दा चलायो र पाँच वर्षदेखि विमानस्थलमा संगठित रूपमा हुँदै आएको तस्करी बन्द भयो । तर, अनुसन्धान टोलीको प्रतिवेदन अहिलेसम्म कार्यान्वायन हुन सकेको छैन । गिरोहका कतिपय मुख्य नाइके अझै फरार छन्।

बादलले गृह मन्त्रालयमा सुधारका लागि समयसीमासहित ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरे । कार्ययोजनामा थोरै मात्र काम समयसीमाभित्र सम्पन्न भएको छ।

उनले सार्वजनिक गरेको बुँदा नम्बर २४ मा भनिएको छ, ‘पुरस्कार र दण्डको नीति कार्यान्वायनको नियमित अनुगमन गर्नका लागि मन्त्रालयमा एक संयन्त्र निमार्ण गर्ने ।’ यस्तो संयन्त्रले काम गरेको छैन।

कतिसम्म भने सिंहदरभित्रकै पार्किङ व्यवस्थित बनाउने उनको कार्ययोजनाको सामान्य कामसमेत लागू हुन सकेको छैन।

पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीको मूल्यांकनमा गृहमन्त्री बादल इमानमा चुकेका छैनन् तर कतिपय कुरामा अनुभवको कमी देखिन्छ।

‘विगतमा कतिपय गृहमन्त्रीहरू लाइन नै चलाउँथे, त्यस्तो प्रवृत्ति अहिले देखिएको छैन, गृहमन्त्रीको इमानमा प्रश्न गर्ने ठाउँ छैन,’ उनी भन्छन्,‘कतिपय अवस्थामा भने उहाँमा अनुभवको कमी देखियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .