ad ad

छापा खबर


शिशुलाई भोटो र तोरीको तकिया उत्तम, यस्तो रहेछ वैज्ञानिक कारण

शिशुलाई भोटो र तोरीको तकिया उत्तम, यस्तो रहेछ वैज्ञानिक कारण

नेपालखबर
फागुन १७, २०७६ शनिबार ०:५५,

फेसनअनुसार नवजात शिशुदेखि बालबालिकालाई बजारमा पाइने फेसनेबल लुगा लगाइदिन्छौँ तर त्यो स्वास्थ्यका दृष्टिकोणले कत्तिको फाइदाजनक हुन्छ, त्यो कहिल्यै सोच्नुभएको छ?

अवश्य पनि फाइदाभन्दा पनि राम्रो तथा फेसनेबल देखिनुमा नै धेरैजसो अभिभावकको रुचि होला तर रेवती गुरुङलाई भने नेपाली उत्पादक वस्तुमा नै मोह रहेको बताउँछन्। नेपाली मौलिक कटन वा सुतीका भोटा, चौबन्दी र सुरुवाल जाडोका लागि मात्र नभएर गर्मीमा पनि उत्तिकै उपयोगी हुने उनले जानकारी दिए।

लैङ्गिक, राजनीति तथा संस्कृतिबारे छोटो अध्ययनका क्रममा फिनल्यान्ड अध्ययन गर्न पुगेका गुरुङलाई एक परियोजना ‘फिनिस बेबी बक्स’बारे बताइयो। यसअन्तर्गत भर्खरै सुत्केरी भएका आमालाई शिशु सुताउन कार्डबोर्डको एउटा बाकस र शिशुका लागि केही जोर लुगा दिइनेरहेछ।

दोस्रो विश्वयुद्धपछि प्रचलनमा आएको त्यो बेबी बक्साले फिनल्यान्डेली आमा र नवजात शिशुमा अत्यन्त राम्रो प्रभाव परको उनलाई थाहा भयो , आजको गोरखापत्रमा यलु जोशीले खबर लेखेकी छन्।

अध्ययन पूरा भएपछि नेपाल फर्किएका गुरुङलाई त्यो बाक्सामा के–के सामान हुने रहेछन् विस्तृतमा हेर्न मन लाग्यो। हेलसिन्कीका साथीलाई सम्पर्क गरेर उनले एउटा बक्सा मगाइन्।

आम नेपाली जस्तै गुरुङलाई पनि लागेको थियो, युरोपको ‘विकसित’ मुलुकमा नवजात शिशु र आमाका लागि तयार गरिएका सामान अत्यन्तै वैज्ञानिक होलान्, जुन उनले देखेकी थिइनन्। त्यो बक्सामा राखिएको एउटा गन्जी त ठ्याक्कै हामीले सानैमा लगाएको भोटो जस्तै रहेछ।

फिनल्यान्डबाट आयातीत भोटो देखेपछि गुरुङले ‘फिनिस बेबी बक्सा’को नक्कल गर्नुपर्दैन, बरु नेपाली मौलिक कपडाको व्यवसाय सुरु गरे हुन्छ भन्ने सोचाइ आयो। त्यसपछि उनी १ वर्षदेखि नेपाली समाजमा पुस्तौँदेखि चलिआएको शैलीमा भोटो र दौरासुरुवाल सिलाउँदै र बेच्दै छिन्।

पोषणविद् डा अरुणा उप्रेतीका अनुसार बालबालिकालाई पुरानो तरिकाकै लुगाजस्तै तीनपत्रे भोटो, दौरा र सुरवाल लगाइदिनुपर्ने सुझाव दिन्छिन्। कटनको लुगा जाडोलाई मात्र नभएर गर्मीलाई पनि त्यत्तिकै उपयुक्त हुन्छ। जाडोमा चिसोबाट बचाउँछ भने गर्मीमा पनि शीतल प्रदान गर्छ, भोटो लगाउँदा यसले विशेषगरी बालबालिकाको छातीमा सीधै हावा पस्न रोक्ने भएकाले यस समयमा बालबालिकालाई सकेसम्म भोटो लगाइदिन उपयुक्त मानिने उनले बताइन्। 

नेपाली भोटोको वैज्ञानिक पक्ष
गुरुङले आफ्नो अनौपचारिक अनुसन्धानका क्रममा केही चाखलाग्दा कुरा पत्ता लगाउनुभयो । आफ्नै नातागोता र छरछिमेकका हजुरआमालाई उहाँले सोध्नुभयो, किन शिशुको भोटोमा भित्री राख्नुपर्छ? किन तुना हाल्नुपर्छ, टाँक राख्न मिल्दैन रु शिशु सुताउने तकियामा किन तोरीका दाना हाल्नुपर्छ?

भोटोको भित्रीका मुख्य दुई काम रहेछन् गर्मी हुँदा यसले पसिना सोस्छ। आफ्नो सिकाइबारे गुरुङ भन्छिन्– बाहिरको खस्रो कपडाबाट बालबालिकाको नरम छाला जोगाउँछ।

टिकाउका लागि बाहिरी कपडा भित्रीभन्दा अलिक खस्रो नै चाहिन्छ। टाँक लगाउनु हुँदैन । बालबालिकाले खेल्दाखेल्दै निल्न सक्छन्। तुना भयो भने सजिलै सानोठूलो बनाउन मिल्छ र टिकुन्जेल लगाइदिन पाइन्छ।

उनलाई थाहा भयो, शिशुका भोटो र दौरासुरुवाल सिलाउन सुती कपडा खोजिन्छ किनकि यो पूर्णतः प्राकृतिक हुन्छ र शिशुले चपायो, निल्यो नै भने पनि पचाउन सक्छ। तकियाभित्र भरिने तोरीका दानाले शिशुको टाउको सही आकारमा विकसित हुन मद्दत गर्छ।

हेर्दा उस्तै देखिने कोदो वा अन्य दाना हाल्नुहुँदैन । तिनीहरू तोरी जस्ता नरम हुँदैनन् । कोदो त छिट्टै धुलिन्छ र खार लाग्छ । त्यसले शिशुको स्वास्थ्यमा असर पर्न सक्छ।

डा उप्रेती नेपाली मौलिकताको लुगा टिकाउ हुनुका साथै पूर्णरूपमा प्राकृतिक हुने भएकाले पुनः प्रयोग गर्न मिल्छ । तोरीको तकियाले बालबालिकाको टाउको मिलाउन मद्दत गर्छ भन्छिन्।

यस्तै हाडजोर्नी विशेषज्ञ डा। प्रकाश द्वारेले नवजात शिशुको हड्डी धेरै नरम हुने भएकाले सानोमा जस्तो आकार दियो त्यस्तै हुने जानकारी दिँदै तोरीको तकियाले शिशुको टाउको मिलाउन मद्दत गर्छ भने।

उनले बजारमा पाइने टोपीभन्दा पनि नेपाली मौलिक टोपी तुना बाँध्ने खालको चाहिन्छ । जसले टाउको गोलो बनाउनुका साथै चिसोबाट पनि बचाउँछ भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .