ad ad

छापा खबर


आयल निगमको सिनामंगल डिपोबाट चार सय ट्यांकरको ताला खोल्ने ‘मास्टर की’ चोरीएपछि खैलाबैला

आयल निगमको सिनामंगल डिपोबाट चार सय ट्यांकरको ताला खोल्ने ‘मास्टर की’ चोरीएपछि खैलाबैला

नेपालखबर
फागुन १३, २०७६ मंगलबार ०:५८,

नेपाल आयल निगमको सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको ताला खोल्ने साझा साँचो (मास्टर की) हराएको छ।

साँचो हराएको पुष्टि १९ माघमा भएको हो । तर, अहिलेसम्म नभेटिएका खबर आजको नयाँ पत्रिका दैनिकमा अजित अधिकारीले लेखेका छन्।

हराएको ‘मास्टर की’ले भारतीय आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोदेखि सिनामंगलस्थित निगमको हवाई इन्धन डिपोमा तेल ओसार्ने एक सय ८१ ट्यांकरको ताला खुल्छ । त्यस्तै, बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपोका दुई सय ट्यांकरको लक पनि सोही साँचोले खोल्न मिल्छ।

साझा साँचो हराएको संयोग ट्यांकर चालकको माग सम्बोधन भएको समयसँग मिलेको छ । तापक्रम नोक्सानीबापत तेलको जति परिमाण देखाए पनि निगमले छुट दिने लिखित सहमति १४ माघमा आयल निगम र ट्यांकर चालकबीच भएको थियो।

सिनामंगल डिपोमै तेल ओसार्दै आएका ट्यांकर चालकले राखेको माग निगमले सम्बोधन गरेको थियो । त्यसको ५ दिनपछि साँचो हराएको पत्ता लागेको हो । साँचो चालकको हातमा परेको भए आइओसीबाट तेल बोकेर आउनले ट्यांकर बाटैमा रोकेर केही परिमाण तेल चोर्न सहज भएको छ।

चोरी गरेको तेल परिमाणलाई चालकले तापक्रम नोक्सानीमा देखाइदिन सक्छ । यसकारण साँचो चालककै हातमा पुगेको अनुमान छ।

‘ट्यांकरको प्रत्येक चेम्बरमा केही परिमाण तेल झिक्यो भने अहिले कारबाही नहुने व्यवस्था छ । त्यसैले हराएको साँचो ट्यांकर चालकको हातमा पुगेको हुनुपर्छ,’ निगमको केन्द्रीय कार्यालयका एक कर्मचारीले भने।

१ चैत ०७४ देखि तेल चोरी गर्न नमिल्ने लकिङ लगाउन थालेपछि चालकहरूले विरोध गरेका थिए । हवाई इन्धन डिपोमै इन्धन ओसार्ने चालक संगठनका अध्यक्ष पशुपति पाठकले त इन्धन चोरी गर्न पाउनुपर्ने भन्दै सार्वजनिक मञ्चबाटै उद्घोष गरेका थिए।

तत्कालीन निमित्त प्रमुख सुशील भट्टराईले पनि लकिङलाई साथ दिन अनुरोध गर्दै चालकहरूलाई केही न केही सुविधा दिने आश्वासन दिएका थिए।

साँचो हराएको विषयमा छानबिन गर्न नायब प्रबन्ध निर्देशक विशाल ओझाको संयोजकत्वमा २३ माघमा कमिटी गठन भएको छ । तर, यो कमिटीले अहिलेसम्म चोरी घटनाबारे ठोस प्रमाण फेला पारेको छैन।

कमिटीको सदस्यसमेत रहेका प्रवक्ता वीरेन्द्र गोइतले छानबिनकै क्रममा रहेकाले सबै कुरा भन्ने अवस्थामा नरहेको बताए । ‘मास्टर की हराएको सुन्दा हामी पनि अचम्मित छौँ । यस्तो संवेदनशील साँचो हराउनु नै अपराध हो । त्यसैले हामीले यो घटनालाई गम्भीरताका साथ सूक्ष्म ढंगले अध्ययन गरिरहेका छौँ,’ उनले भने, ‘छानबिन सकिएपछि सबै कुरा बाहिर ल्याउँछौँ।’

स्रोतका अनुसार डिपो प्रमुख महेशमान श्रेष्ठको कार्यकक्षमा पासवर्डसहितको गोदरेज दराजमा दुईवटा मास्टर की राखिएको थियो । त्यसमध्ये एउटा हराएको हो।

‘प्रत्येक डिपोमा स्पेयरसहितको मास्टर की राखिएको हुन्छ, सिनामंगलमा रहेका दुईमध्ये एउटा हराएको हो,’ स्रोतले भन्यो । प्रत्येक ट्यांकरमा रहेको ताला खोल्न अलग्गै साँचो पनि हुन्छ । तर, त्यस्तो साँचोले एउटाबाहेक अर्को ताला खुल्दैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .