ad ad

छापा खबर


डाक्टर भन्छन्: १४ दिन क्वारेन्टाइनले पुग्दैन, काेराेनाका लक्षण ४० दिनपछि पनि देखिन सक्छन्

डाक्टर भन्छन्: १४ दिन क्वारेन्टाइनले पुग्दैन, काेराेनाका लक्षण ४० दिनपछि पनि देखिन सक्छन्

नेपालखबर
फागुन १३, २०७६ मंगलबार १:६,

चीनको उहानमा देखापरेको कोरोना भाइरसबारे नेपालमा चालिएको सुरक्षाका कदम न्यूनतम  पनि अपर्याप्त छन्।

चीनमा दैनिक एक सय जनाको हाराहारीमा मानिसको ज्यान लिइरहेको कोरोना भाइरस नेपाल छिर्‍यो भने यसबाट उत्पन्न परिणाम निकै भयावह हुनेछ।

त्यतिखेर नेपालको कुनै पनि स्रोत साधनले रोग प्रतिरोध वा उपचार गर्न सक्ने क्षमता राख्दैन। अतः नेपालले जिम्मेवारीपूर्वक रोग लाग्नै नदिने कदम चाल्नु बुद्धिमानी हुन्छ।

पहिलो कुरा, कोरोना भाइरस प्रतिरोधका लागि पूर्वतयारी आवश्यक हुन्छ। विश्व स्वास्थ्य संगठन र चीन आफैंले परीक्षणबाट बताएबमोजिम यो भाइरसको उत्पत्ति दुई दिनदेखि १४ दिनभित्रमा हुने भनेको थियो। चीनले पनि सोहीबमोजिम एक महिनाजति हेर्‍यो तर वुहानमा एक व्यक्तिमा २७ दिनपछि पनि संक्रमण देखिएपछि भने कोरोना देखापर्ने अवधि लम्ब्याइयो।

जापानमा डाइमन्ड क्रुजबाट लगिएका व्यक्तिको अवस्था १४ दिनको क्वारेन्टाइनमा नेगेटिभ देखिएको थियो तर ३० दिनपछि पुनः भाइरस देखापर्‍यो। अतः विशेषज्ञले भाइरस देखापर्ने समय बढाएका छन्।

कोरोनाको अवधि व्यक्तिको रोग प्रतिरोधी क्षमताअनुसार फरकफरक हुन्छ। रोग प्रतिरोधी क्षमता नभएका, छातीसम्बन्धी कुनै रोग भएका, क्यान्सर वा एचआईभी भएका व्यक्तिमा भने ३० दिन नपुग्दै कोरोनाको लक्षण देखापर्न सक्छ।

रोग प्रतिरोधी क्षमता भएको र दीर्घरोग नभएको मानिसले लामो समयसम्म दबाएर राखे ३० देखि ४० दिनको बीचमा पनि संक्रमण देखापर्न सक्छ। तसर्थ १४ दिनमै ढुक्क हुन सकिँदैन। चीनको फुच्यान मेडिकल युनिभर्सिटी युनियन हस्पिटलका डा. दिलजान मन्सुरले आजको कान्तिपुरमा भनेका छन्–

कोरोना भाइरसको उद्गमस्थल वुहानबाट शंका गरिएका वा सामान्य व्यक्तिलाई सम्बन्धित देशमा फर्किएपछि १४ दिनसम्म क्वारेन्टाइनमा राखिन्छ। तर स्वस्थ व्यक्तिलाई पनि ‘आइसोलेसन’ मा राख्नुपर्छ। चीनबाट फर्किएकाहरूले १४ दिन क्वारेन्टाइन बसेपछि घर फर्केर पनि बाँकी २० दिन ‘स्वयं अलग’ बस्नुपर्छ।

आइसोलेसनको अर्थ एक्लै रहनु हो। त्यसको अर्थ घरमा रहँदा पनि मास्क लगाएर बस्ने, घरका सदस्यसँग सम्पर्कमा नआउने र शौचालय अलग प्रयोग गर्ने उपाय अपनाउनुपर्छ। रुमाल र टुथपेस्ट पनि सबैको उही हुनु भएन। अर्काको कोठामा जानु भएन। मास्कको आयु हुने भएकाले प्रयोग गरिसकेपछि खाल्डोमा पुर्ने वा जलाउने गर्नुपर्छ।

भाइरस हावामा उडेर अरूलाई संक्रमित बनाउन सक्छ। र्‍याल र थुकका कण उडेर नजाओस् भनेर सतर्क रहनुपर्छ। क्वारेन्टाइनमा संक्रमण देखिएन भन्नुको अर्थ सबैसँग हेलमेल गर्न र सँगै खानपिन गर्न मिल्छ भन्ने होइन।

नेपालमा मास्क लगाउनेबारेमा यथोचित ध्यान पुर्‍याएको देखिँदैन । सबैभन्दा पहिला मास्क लगाउँदैमा संक्रमण रोकिन्छ भन्ने होइन । मास्क लगाउनुपूर्व स्यानिटाइजर वा डिटोल पानीले हात धुनुपर्छ। मास्क उल्टोरसुल्टो के हो त्यसमा ध्यान दिनुपर्छ।

सामान्य सर्जिकल मास्क ४ घन्टाभन्दा बढी लगाउन सकिँदैन। मास्कको सेतोपट्टिको भाग भित्र पार्नुपर्छ ताकि त्यसमा खोकी, र्‍याल, थुक सोस्ने क्षमता हुन्छ । घर फर्किएपछि मास्क उतार्नुपर्छ र तुरुन्तै हात धोइहाल्नुपर्छ। मास्क नभएका मानिसले रुमाल वा सलको फेरो मुखमा बेरेका हुन्छन्, यसले धूलो, धूवाँबाट जोगाए पनि भाइरसबाट जोगाउन सक्दैन। उपाय भएन भने रुमालभित्र टिस्यु पेपर टाँस्न सकिन्छ।

कोरोना भाइरस जनावरको संसर्गबाट नभएर मानिसबाट सर्ने हुँदा व्यक्तिको अनुशासित सरसफाइ जीवनशैली नै धेरै उपयोगी हुन्छ। राज्यले कुनै पनि विपत्तिपूर्व जनताका लागि पूर्वसचेतनाका कार्यक्रम गर्नुपर्छ। कोरोनाविरुद्ध लड्नका लागि राज्यले जनतालाई मास्क लगाउन प्रेरित वा अनिवार्य गर्नुपर्छ । मास्क कसरी लगाउने भनेर समुदाय वा सानो-ठूलो प्रसारको माध्यम अपनाएर सुसूचित गराउनुपर्छ।

घरबाट बाहिर निस्केपछि भीडभाडबाट जोडिने पद्धति अपनाउनुपर्छ। बाटोमा हिँड्दा मानिसको हूलमूलमा के रहेछ भनेर हेर्ने, सार्वजनिक यातायात वा बाटोघाटोमा खकार्दै, सिँगान फ्याँक्दै वा रेलिङ समात्दै हिँड्नुभएन। पाका र बालबच्चाको रोग प्रतिरोधी क्षमता कमजोर हुने भएकाले उनी झन् सजग हुनुपर्‍यो।

बालबालिकादेखि नै मास्क लगाउने तरिका सिकाउनुपर्‍यो। विद्यालय, क्याम्पसले गेटमै विद्यार्थीलाई ज्वरो आएरनआएको जाँच्नुपर्‍यो। हरेक क्षेत्रमा थर्मल स्क्यानर वा डिजिटल थर्मोमिटर राख्ने परिपाटी बसाल्नुपर्‍यो।

कुनै व्यक्तिमा लक्षण देखियो भने आफैं अस्पताल जान खोज्दा बाटोभरिमा उसले कैयौंलाई संक्रमित पारिसकेको हुन्छ। होटलररेस्टुरेन्टमा चेकिङ गर्नुपर्‍यो, शंकास्पद भए अलग्गै खाने व्यवस्था गर्न सक्नुपर्‍यो। सरकारले हटलाइनमा तालिमप्राप्त जनशक्ति परिचालन गर्नुपर्छ।

जुन पायो त्यही अस्पताल होइन कि यस्ता रोगका लागि निश्चित अस्पताल व्यवस्था गर्न सकिन्छ । घरमा कसैलाई ज्वरो भयो भने प्यारामेडिक्सको टिम आएर डिस्इन्फेक्ट गराएर लैजानुपर्छ।

नेपालमा छिमेकी मुलुकमा महामारीको रूपमा फैलिएको कोरोनाप्रति स्वास्थ्य निकायहरू उति चनाखो भएको देखिँदैन । टाउको दुखेको, श्वासप्रश्वासमा समस्या वा अक्सिजनको कमीजस्तो लाग्छ भने हटलाइनमा खबर गर्नेजस्तो सामान्य व्यवस्थापन पनि सरकारले गर्न नसक्ने भन्ने होइन। भिजिट नेपालभन्दा ठूलो कुरा मानिसको स्वास्थ्य हो।

विमानस्थलमा चीन वा अन्य संक्रमित भएका मुलुकबाट आउने पर्यटकको र्‍याल र खकारको स्वाबसँगै उनीहरूको सम्पर्क इत्यादि लिन सक्ने एउटा मेडिकल टिम खटाउन जरुरी छ। साँझ-बिहान वा मध्यराति भनेर रोगलाई स्वतन्त्र छोडिदिनुभएन।

रुघाखोकीको मौसम पूर्ण रूपमा गइसकेको छैन । कोरोना भाइरसको संक्रमण घट्नेभन्दा पनि बढ्ने क्रम जारी रहेकाले बेलैमा सचेत र भयावह अवस्था भित्रिनबाट रोक्न गम्भीर बन्नैपर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .