छापा खबर


जब कालिमाटीका एक युवाले फेसबुक लाइभ गर्दै आत्महत्याको प्रयास गरे...

जब कालिमाटीका एक युवाले फेसबुक लाइभ गर्दै आत्महत्याको प्रयास गरे...

नेपालखबर
फागुन ७, २०७६ बुधबार १:३३,

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)को साइबर अपराध सम्बन्धी अनुसन्धान गर्ने युनिट पिलर–६ मा तीन बजेर १५ मिनेटमा एउटा सूचना आयो।

फेसबुकमार्फत प्रहरीलाई आएको सूचना आत्महत्याको प्रयास गरिरहेको एउटा लाइभ भिडियोसँग सम्बन्धित थियो।

आजको कान्तिपुर दैनिकका अनुसार फेसबुकले दिएको सूचनाका आधारमा सिआईबीले कालीमाटी नजिकैको एक युवाले आफूलाई बाच्न मन नलागेको त्यसैले आफूले आफैलाई सिध्याउने प्रयास गरिरहेको भन्दै आफूले आफ्नै छातीमा चक्कु प्रहार गर्दै फेसबुकमा लाइभ गरिरहेका थिए।

दुई वर्ष अघि फेसबुकले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधीको प्रयोगमार्फत फेसबुकमा आत्महत्यागर्नेसंकेत भएको पोस्ट, फोटो, भिडियो वा लाइभबारे स्वचालित रुपमा सूचना संकलन गरी सम्बन्धित देशका प्रहरी वा फेसबुक प्रयोगकर्ताको आफन्तलाई त्यसबारे जानकारी दिने अभ्यास सुरु गरेको थियो।

सूचना पाउने बित्तिकै डीएसपी पशुपति राय नेतृत्वको टोलीले टेक्निकल इन्टेलिजेन्समार्फत फेसबुक प्रयोगकर्ताको लोकेसन यकिन ठेगाना पत्ता लगायो। प्रयोगकर्ता कालीमाटी छेउको रविभवनमा रहेको पत्तो पाएपछि सिआईबीले महानगरीय प्रहरी वृत्त कालीमाटीलाई घटनाबारे जानकारी दियो।

वृत्तका डीएसपी रुगम कुँवर नेतृत्वको टोलीले आत्महत्याको प्रयास गरिरहेका युवाको घर पत्ता लगाउन एकछिन समय लगायो। डीएसपी कुँवरले भने, ‘सुरुमा छिरेको घरमा ती प्रयोगकर्ता भेटिएनन्। लगत्तै दोस्रो घरको भुइँतलामा ती युवा भेटिए। जसले आफैंमाथि चक्कु प्रहार गर्दै लाइभ गरिरहेका थिए।’

वृत्तको टोलीसँगै सिआईबीको टोली पनि उक्त घरमा पुगेको थियो। सिआईबीका अनुसार फेसबुकबाट सूचना पाएको एक घन्टा पनि नबित्दै प्रहरीले आत्महत्याको प्रयास गरिरहेका युवाको डेरामा पुगेको थियो।

प्रहरीले आमासँग डेरामा बस्दै आएका ती २९ वर्षीय युवा डिप्रेसनको सिकार भएको अनुमान गरेको छ। विज्ञापन एजेन्सीमा काम गर्ने ती युवाले प्रहरीलाई अष्ट्रेलियामा रहेकी प्रेमिकालाई लामो समयदेखि भेट्‍न नपाएको बताएका छन्।

डीएसपी कुँवरले ती युवा मानसिक तनावमा रहेको र मदिराको मातमा भेटिएको बताए। प्रहरीका अनुसार अष्ट्रेलियामा रहेकी प्रेमिकाले उनलाई बारम्बार आर्थिक सहयोग पठाएको देखिए पनि एकल आमासँग बस्दै आएका एक्लो छोरा के कारणले आत्महत्या गर्ने बिन्दुमा पुगे भन्ने खुलीसकेको छैन्।

चक्कु धारिलो नभएका कारण उनले छातीमा प्रहार गरेको चक्कुले गहिरो चोट पुर्याइसकेको थिएन। प्रहरीको टोलीले उनलाई कालीमाटीकै एक अस्पतालमा उपचारका लागि पुर्‍याएर आमाको जिम्मा लगाएको छ।

डीएसपी कुँवरले भने, ‘उपचार सकिएपछि घटनाबारे आमालाई सबै बताएर घर पठाएका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad