शिवरात्रि तथा सेना दिवसको तयारीका लागि सेनाले रिहर्सल गर्दा मंगलबार नेपाली उडान क्षेत्र अस्तव्यस्त भएको छ।
सेनाका लागि अन्तर्राष्ट्रिय विमानस्थल तीन घन्टा बन्द हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान करिब आठ घन्टा प्रभावित भएका खबर आजको नयाँ पत्रिका दैनिकमा केदार दाहालले लेखेका छन्।
सेनाको अनुरोधमा दिउसो १ः४५ देखि ३ः ४५ सम्म नोटाम नै जारी गरेर विमानस्थल बन्द गरिएको थियो । नोटाम समय दुई घन्टा भए पनि विमानस्थल तीन घन्टा बन्द भएको थियो।
बिहान मौसमका कारण उड्न नसकेका जहाज उड्ने वेला सेनाको रिहर्सलका कारण विमानस्थल बन्द भएपछि यात्रु निराश भएका थिए।
त्यस्तै, अन्तर्राष्ट्रिय उडानको बढी चाप हुने वेला नै विमानस्थल बन्द भएकाले विदेशबाट आएका जहाज आकाशमा डेढ घन्टासम्म होल्ड गर्न बाध्य भएका थिए।
आकाशमा चक्कर लगाइरहेका जहाजको ट्राफिक जाम नै भएको थियो। अझ दिल्लीबाट आएको नेपाल एअरलाइन्सको आरए २०६ उडान काठमाडौंमा अवतरण गर्न नपाएर दिल्ली नै फर्किएको थियो।
विमानस्थलका अनुसार थाई लायन, चाइना इस्टर्न, इत्तेहाद, इन्डिगो, एयर इन्डिया कोलकोत्ता, भिस्तारा र एयर इन्डियाकै दिल्लीबाट आएका जहाज आकाशमा होल्ड भएका थिए । त्यस्तैगरी इन्डिगोको जहाज दिल्ली जानका लागि तीन घन्टा ग्राउन्डमा होल्ड गरिएको थियो।
त्यस्तै आन्तरिकतर्फ श्री एयरलाइन्सको पोखराका दुईवटा, जनकपुर र भैरहवाको एक–एक उडान प्रभावित भए । श्री एयरलाइन्सकै १ बजे काठमाडौंबाट भद्रपुर जाने जहाजका यात्रुले साँझ ६ः४५ मा मात्रै बोर्डिङ गर्न पाएका थिए।
निगमकै ११:४० बजेका लागि विराटनगरका लागि तोकिएको जहाज बेलुका ५:१० सम्म उडान हुन सकेको थिएन । बुद्ध एयरको भैरहवाका लागि १२:१० का लागि उड्ने तयारी गरेको जहाजको बेलुका ४:४५ मा मात्रै बोर्डिङ भएको थियो ।
त्यस्तै यती एयरलाइन्सको १ बजे भैरहवा नै उड्ने तयारी गरेको जहाजको बोर्डिङ ५:२३ मा भएको थियो । बुद्ध एयरको १:३० बजे विराटनगर जाने तयारीमा रहेको जहाजको बोर्डिङ ५:३७ मा मात्रै भएको थियो । बुद्धकै जनकपुर जाने तयारीमा १:१५ मा उड्न लागेको जहाजको बोर्डिङ ५:१० मा गरिएको थियो ।
त्यस्तै यतीको २:३० मा विराटनगर जान लागेका जहाजमा बोर्डिङ ५:२० मा गराइएको थियो । जाने मात्रै होइन, अन्य विमानस्थलबाट काठमाडौं आउने जहाज पनि घन्टौंसम्म उडान प्रभावित भएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले मौसम र नोटामका कारण मंगलबारका उडान प्रभावित भएको बताए । सामान्यतः नोटामको सूचना अघिल्लो दिन नै एयरलाइन्स कम्पनीलाई विमानस्थल कार्यालयले दिनुपर्ने नियम छ।
तर, मंगलबार बिहान ६ बजे मात्रै नोटामको सूचना एयरलाइन्स कम्पनीहरूलाई विमानस्थल कार्यालयले पठाएको थियो । जसका कारण एयरलाइन्स कम्पनीहरूलाई उडान तालिका मिलाउन हम्मेपरेको थियो।
Shares

प्रतिक्रिया