छापा खबर


भूकम्पअघि बजेको त्यो १० सेकेन्डको साइरन, जसले हजारौँको ज्यान जोगियो

भूकम्पअघि बजेको त्यो १० सेकेन्डको साइरन, जसले हजारौँको ज्यान जोगियो

नेपालखबर
असार १६, २०७६ सोमबार ४:३,

गत साता चीनका भीडभाडयुक्त सहरमा एकाएक चर्को आवाजमा ‘काउन्ट डाउन’ घण्टी बज्यो ।

लगत्तै टेलिभिजन स्क्रिनहरूमा एक, दुई, तीन, चार, पाँच... का संकेतहरू ‘पपअप’ हुन थाले ।

चर्को आवाजको उल्टो गन्ती र टेलिभिजन हेरिरहेका दर्शक पहिलो पटकको अनुभव गरिएको संकेतले अचम्मित पारेपछि भागदौड सुरु भयो ।

चीनको दक्षिण–पश्चिम प्रान्त सछान (सिचुवान) को छाङनिङ काउन्टीस्थित यिपिन सहरमा १७ तारिख साँझ गएको ६ रेक्टर स्केलको भूकम्पका क्रममा देखिएको यस्तो दृश्य चिनियाँ सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ ।

भूकम्पमा एक दर्जनभन्दा बढीको ज्यान गयो भने सयौं घाइते भए । भूकम्पमा तुलनात्मक कम मानवीय क्षति हुनुका पछाडि भूकम्प पूर्वसंकेतलाई मानिएको खबर आजको कान्तिपुर दैनिकमा लक्ष्मी लम्सालले लेखेका छन्।

के भूकम्पको भविष्यवाणी गर्न सकिन्छ भन्ने प्रश्नमाथि बहस चलिरहेका बेला प्रविधिले दिएको सानो सफलताले पनि धेरैलाई उत्साहित बनाएको छ । यद्यपि सछान प्रान्तले प्रयोग गरेको प्रविधि भविष्यवाणी नभएर पूर्व संकेत मात्रै हो ।

हालसम्मका विज्ञान प्रविधि वा ज्योतिषशास्त्रले पनि भूकम्पको भविष्यवाणी गर्न नसक्ने भनिन्छ । कुनै पनि देशले भूकम्प आउन सक्ने प्रविधि विकसित गर्न सकेका छैनन् । त्यसैले सछानले प्रयोग गरेको चेतावनी प्रणालीचाहिँ भविष्यवाणी होइन ।

सछान प्रान्तमा प्रयोग गरिएको साइरन १० सेकेन्ड मात्रै बजेको थियो । दस सेकेन्डभित्र कति मानिसको ज्यान जोगाउन सकिन्छ भन्ने यकिन गर्न सकिँदैन ।

सछान प्रान्तीय, भूकम्प प्रयोगशाला पूर्वचेतावनी तथा छङ्तु हाइटेक विपत्ति न्यूनीकरण इन्स्टिच्युटका निर्देशक वाङ वेइले भने, ‘यदि भूकम्पको पूर्वचेतावनी ३ सेकेन्डअघि मात्रै पाउन सकियो भने १४ प्रतिशत मानवीय हताहती कम गर्न सकिन्छ । १० सेकेन्ड अघि पाउन सकियो भने हताहतीको संख्या ३९ प्रतिशतले कम गर्न सकिन्छ।’

उनका अनुसार यदि वनछान भूकम्पको बेलामा यस्तो प्रविधि भइदिएको भए करिब २० देखि ३० हजार मानिसको ज्यान जोगाउन सकिन्थ्यो । २००८ को सो भूकम्पमा ८७ हजारको ज्यान गएको थियो।

चिनियाँ सर्वसाधारणबाट यस पूर्वसंकेत प्रणालीप्रति सकारात्मक प्रतिक्रिया पाइएको छ।

पूर्व चेतावनी पाउनेबित्तिकै हाइस्पिड रेल रोक्न सकिन्छ । लिफ्टबाट बाहिरिन सकिन्छ । विद्युतीय उपकरणहरू छुटाउन सकिन्छ । सुरक्षित क्षेत्रतर्फ भाग्न सकिन्छ । तर त्यसका लागि पर्याप्त सक्रियता चाहिन्छ र एपिसेन्टर नजिक वा टाढा भएअनुसार चेतावनी ढिलोचाँडो हुन सक्छ ।

त्यसो हुँदा भूकम्पको म्याग्निच्युड, केन्द्रविन्दु र अन्य सूचना तत्काल तथ्यगत पाउन नसकिने पनि हुन सक्छ । त्यसैकारण धेरैले यो प्रविधि भरपर्दो नभएको तर्क पनि गर्छन्।

सिन्हवा समाचार समितिका अनुसार छङ्तु भूकम्प पूर्वचेतावनी सञ्जालको निर्माण छङ्तु हाइटेक विपत्ति न्यूनीकरण तथा आपत्कालीन व्यवस्थापन विभागले संयुक्त रूपमा मिलेर बनाएका हुन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad