घटनाको कारण पहिल्याउन प्रहरीले हत्या भएकी मुना कार्की र हत्यापछि आत्महत्या गरेका विजय चौधरी दुवैको मोबाइल फरेन्सिक ल्याबमा पठाएको छ।
कार्की परिवारको फोन डिटेल्सको पनि सूक्ष्म विश्लेषण गरिरहेको छ।
‘घटना संवेदनशील भएकाले विविध कोणबाट अध्ययन हुनु जरुरी छ । त्यसैले, घटनाअघि र घटनापछि घटनास्थल क्षेत्रमा एक्टिभ भएका फोन र एप्सहरूको अध्ययन भइरहेको छ। कल डिटेल्सको पनि अध्ययन भइरहेको छ,’ परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘डिलेट गरिएका कल, म्यासेज, भ्वाइस रेकर्डलगायत फरेन्सिक ल्याबमा रिकभर हुन्छ । अहिले नै निष्कर्ष निकाल्न सक्ने अवस्था छैन।’ यो खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका हुन्।
दुवै परिवारले शव बुझे, घटनाको निष्पक्ष छानबिन गर्न जाहेरी
दुवै मृतकको शव परिवारले बुझेका छन्। बुधबार कार्की र चौधरी परिवारले शव बुझेको प्रहरीले जनाएको छ । त्यस्तै, कार्कीका श्रीमान् अर्जुन र चौधरीका बुबा जानकीले घटनाको निष्पक्ष छानबिन गर्न प्रहरीमा छुट्टाछुट्टै जाहेरी दिएका छन् ।
‘सद्गतका लागि दुवै परिवारले शव बुझेका छन्, घटना अनुसन्धानका लागि दुवै पक्षबाट जाहेरी पनि परेको छ,’ परिसर प्रमुख एसएसपी राईले भने ।
सोमबार सानेपास्थित कार्कीनिवासमै कार्की र चौधरी मृत भेटिएका थिए । निवासमा भएका सिसिक्यामेरा फुटेज हेरेपछि प्रहरीले कार्कीको हत्या घरेलु मजदुर चौधरीले नै गरेको पुष्टि गरेको छ । हत्यापछि चौधरीले आत्महत्या गरेको प्रहरी निष्कर्ष छ । तर, हत्याको कारणबारे थप अनुसन्धान गरिरहेको छ ।
याे पनि : सानेपा हत्या प्रकरण : मुनाको शरीरमा भेटियो अर्कै आशंका गराउने डोब!
प्रतिक्रिया