ad ad

छापा खबर


नेकपामा वामदेवको वर्चस्व बढ्दै, बने पार्टी विवाद सुल्झाउने कमान्डर

नेकपामा वामदेवको वर्चस्व बढ्दै, बने पार्टी विवाद सुल्झाउने कमान्डर

नेपालखबर
फागुन १, २०७६ बिहिबार २:०,

नेकपामा जिल्लादेखि केन्द्रसम्म हरेक ठाउँमा विवाद छ। तर, प्रदेश २ मा भने अन्यत्रभन्दा अझ बढी विवाद छ।

प्रदेश अध्यक्ष प्रभु साहले केन्द्रीय कमिटी बैठकमा पेस गरेको रिपोर्टअनुसार ‘अन्तरसंघर्षका नाममा पार्टीको प्रतिष्ठा नै ध्वस्त पार्ने गरी आपराधिक गतिविधि’ भएका छन्।

जिल्लाका पदाधिकारी चयनमा खासखास व्यक्तिको चासोमा भागबन्डा गरिएकाले प्रदेश २ का आठवटै जिल्लामा विवादैविवाद र समस्यैसमस्या रहेको अध्यक्ष साहको रिपोर्टमा उल्लेख छ।

प्रदेशमा लफडा कतिसम्म छ भन्ने विवाद विषय केन्द्रीय कमिटी बैठकमा समेत उठेको थियो।

१५ देखि १९ माघसम्म चलेको केन्द्रीय कमिटी बैठकमा प्रदेश २ का अध्यक्ष साहले रिपोर्टिङ गरिरहँदा वामदेव गौतम ध्यानपूर्वक सुनिरहेका थिए।

उनले यसरी ध्यानपूर्वक सुन्नुको रहस्य खुलेको छ, पार्टी विवादको ‘हेडक्वाटर’ बनेको प्रदेश २ मा केन्द्रबाटै हस्तक्षेप गर्ने नेकपाको तयारी छ। र, यसका लागि कमान्डर तोकिएका छन् गौतम नै।

उनले विवाद सुल्झाउने सूत्र र योजना बुन्दै त्यसका लागि पहल सुरु गरेका छन्, आजको नयाँ पत्रिकामा शुरोजंग पाण्डेले लेखेका छन्।

यसअघि संगठन विभाग प्रमुख रहेका गौतम केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव अनुमोदन गरेसँगै उपाध्यक्ष पनि भएका छन् । यससँगै संगठन विभागले तयार पारेको कार्ययोजना पारित भइसकेको छ । नियमावली बदलेर संगठन विभागको अधिकार बढाइएको छ।

पार्टी नियमावलीमा संशोधन गरेर संगठन विभागलाई केन्द्रीय कमिटी मातहतका पार्टी कमिटीहरूमा समस्या उत्पन्न भए कुनै पनि कमिटीको बैठकमा भाग लिन पाउने र समस्या समाधानको पहल लिने अधिकार दिइएको छ।

यसबाहेक पार्टी विधान, नियमावली र संगठनात्मक सिद्धान्तबमोजिम कमिटीहरू सञ्चालित भए नभएको जाँचबुझ गर्ने, पार्टी सदस्य तथा कमिटीहरूको चेतना, क्षमता र कामबारे जानकारी लिन र सम्बन्धित कमिटी एवं पदाधिकारीहरूलाई आवश्यक सुझाब दिन पनि सहभागी हुन पाउने अधिकारसमेत संगठन विभागले पाएको छ।

नियमावली पारितसँगै केन्द्रीय कमिटी बैठकले प्रदेश २ को विवाद समाधानको जिम्मा संगठन विभागलाई दिने निर्णय गरेको थियो । विभागलाई पार्टी विधान, परिपत्र र पार्टी निर्णयका आधारमा विवाद समाधान गर्न केन्द्रीय कमिटीले जिम्मा दिएको छ।

नियमावली र पार्टी केन्द्रको निर्णयका आधारमा संगठन विभागको प्रमुखको हैसियतमा गौतले प्रदेश २ को विवाद सुल्झाउने प्रयत्न सुरु गरेका हुन् । संगठन विभागमा पूर्वमाओवादी समूहबाट जनाद्र्धन शर्मा उपप्रमुख छन्। हाल संगठन विभाग १५ सदस्यीय छ।

संगठन विभाग प्रमुख र पछिल्लोपटक पार्टी उपाध्यक्षको हैसियत पाएपछि वामदेव गौतमले आन्तरिक विवाद सुल्झाउने गृहकार्य थालेका छन्। पार्टी केन्द्रको निर्णय र संशोधित नियमावलीको अधिकार प्रयोग गरेर उनले विवादको केन्द्रमा रहेको प्रदेश २ बाट आफ्नो काम देखाउन चाहेका छन्।

आन्तरिक विवादकै कारण प्रदेश २ का धनुषा, महोत्तरी, रौतहट, सप्तरी र सिराहामा एकीकरण प्रक्रियाले पूर्णता पाउन सकेको छैन।

प्रदेश २ बाट स्थायी र केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरूले विवाद समाधानमा अग्रसरता देखाउनुको सट्टा केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहमा विभाजित छन् । यसले समस्या थप निम्त्याउने देखेपछि गौतमले विभाग प्रमुखको हैसियतमा प्रदेश २ को विवादमा हात हाल्न चाहेका हुन्।

उपाध्यक्ष बनेको अर्कोदिन २० माघमा गौतमले संगठन विभागको बैठक बोलाएर प्रदेश २ का जिल्लामा रहेको विवाद समाधानबारे छलफल गरेका थिए । यसैक्रममा उनले प्रदेश २ बाट प्रतिनिधित्व गर्ने पार्टीका स्थायी कमिटी सदस्यसँग छलफल गरेका छन् ।

२५ माघमा निवासमै बोलाएर गौतमले सत्यनारायण मण्डल, मातृका यादव, रघुवीर महासेठसँग छलफल गरेका थिए । तर, वरिष्ठ नेता नेपाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र गणेश शाह भने अनुपस्थित थिए ।

२५ माघदेखि वरिष्ठ नेता नेपाल ट्युनिसिया भ्रमणमा रहेकाले गौतमको प्रदेश २ झर्ने योजना केही दिन पछाडि सरेको छ । नेपालको गृहजिल्ला रौतहटमा पनि विवाद छ । ५ फागुनमा नेपाल स्वदेश फर्किएलगत्तै विवाद समाधानको मोडालिटी टुंग्याएर प्रदेश २ जाने गौतमको तयारी छ ।

‘वरिष्ठ नेता नेपालसँगको परामर्शमा मोडालिटी टुंगो लागेपछि उहाँ ठोस योजनासहित प्रदेश २ को विवाद समाधानमा लाग्ने तयारी छ,’ गौतमका स्वकीय सचिव दीपक टमटाले नयाँ पत्रिकासँग भने ।

  आरोप छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .