छापा खबर


चीनको प्रगति देख्न नसकेर अमेरिकाले फैलाएको त होइन कोरोना भाइरस?

चीनको प्रगति देख्न नसकेर अमेरिकाले फैलाएको त होइन कोरोना भाइरस?

नेपालखबर
माघ २७, २०७६ सोमबार १:४०,

नोबल कोरोना भाइरसलाई पराजित गर्न चीन युद्धस्तरमा लागेको छ। कोरोनाको उद्गमस्थल मानिने उहान सहर सबैभन्दा बढी प्रभावित छ।

३ हजार वर्षभन्दा लामो इतिहास बोकेको यो ठाउँ चीनको मध्य भागमा रहेको हुपै प्रान्तमा पर्छ। हानच्याङ र छाङच्याङ नदीको बीचमा रहेको च्याङहान क्षेत्रको उर्वर भूमि उहान मध्य चीनको व्यापार र पारवहन ‘हब’ हो। उहानलाई नौ प्रान्त र सहरको ‘गेटवे’ नै मानिन्छ।

दोक्लम काण्डमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सन् २०१८ मा उहानमै अनौपचारिक वार्ता भएको थियो। त्यसलाई ‘उहान भावना’ भनेर व्याख्या गरिएको थियो। यसकै दोस्रो संस्करणस्वरूप २०१९ अक्टोबरमा भारतको ममल्लापुरम (महाबलिपुरम)मा वार्ता भएको थियो।

उहानमा गत डिसेम्बरमा पहिलो पल्ट कोरोना संक्रमित व्यक्ति भेटिएको थियो। यहाँ संक्रमितको संख्या हजारौं पुगेको छ। १ करोड १० लाख जनसंख्या भएको उहानसँगै आसपासका जोखिमपूर्ण सहरबाट अरू क्षेत्रमा भाइरस फैलिन नदिन जनवरी २३ देखि आवतजावत ठप्प छ।

यति ठूलो प्रान्तको सदरमुकामबाट बहिर्गमन तथा आगमनमा रोक सन् १९४९ पछि यो पहिलो हो। अरू दर्जनौं चिनियाँ सहर पनि ठप्प छन्। जसबाट अरू सहर, प्रान्त र क्षेत्र भाइरसबाट संक्रमण हुने अवस्थाबाट धेरै हदसम्म सुरक्षित छन्। आउजाउ तथा सार्वजनिक स्थानमा जमघट कम हुँदा संक्रमणको प्रसार रोकिन्छ।

चिनियाँहरू आफ्नो नयाँ वर्ष मनाउने तयारीमा रहेका बेला भाइरस देखापरेको थियो। चिनियाँ पात्रोअनुसार जनवरी २४ नयाँ ‘मुसा’ वर्षको पूर्वसन्ध्या थियो। योसँगै उनीहरू वसन्त चाड मनाउँछन्। पुनर्मिलनका लागि सबै जना घर फर्किने अवधिमा हुने करौडौं चिनियाँको आवतजावतलाई विश्वमै ठूलो परिमाणमा आवतजावत हुने अवधि मानिन्छ।

चीनले वसन्त चाडको बिदा सात दिनबाट लम्ब्याएको थियो। विश्वविद्यालय, विद्यालयको नयाँ सत्रलाई पछि धकेलिएको छ। उहानसहित आसपासका सहर मात्रै होइन, राजधानी बेइजिङसहित धेरै सहर र प्रान्तले महामारीविरुद्ध लड्न पहिलो स्तरको स्वास्थ्य संकटकाल घोषणा गरे।

कार्यालय र बस/रेल/सबवेमा भीड नियन्त्रण गर्न घरबाटै काम गर्ने ‘रिमोट वर्क’को प्रणाली लागू भएको छ। छिट्टै सर्ने यो भाइरस उहानको सम्पर्कमै नभएकामा पनि फैलिएको पाइएको छ। यो भाइरस संक्रमित कतिपय व्यक्तिमा लक्षण नदेखिने तर अरूमा सर्ने गरेको पाइएको विज्ञ बताउँछन्।

ल्याटिन शब्दमा क्राउनलाई कोरोना भनिन्छ। यो भाइरस पनि त्यस्तै देखिने भएकाले नयाँ कोरोना भाइरस २०१९ नाम दिइएको थियो। तर, यो भाइरसको प्रकृति कोरोना भाइरसभन्दा केही फरक पाइएको विज्ञ बताउँछन्। तत्काललाई चिनियाँ विज्ञले यसलाई कोरोना भाइरस निमोनिया नामकरण गरेका छन्। सार्सलगायत हालसम्म भएका भाइरस प्रकोपभन्दा यसले धेरैको ज्यान लिएको छ।

विज्ञले पहिला यो भाइरस उहान सहरस्थित एक सिफुड बजार (जहाँ जंगली पशुपक्षी बिक्री गरिन्छ, त्यहाँबाट सर्प, घोडखुट्टे चमेरोबाट फैलिएको) संक्रमण भएको भनिएको थियो। पछि सालकबाट सरेको हुन सक्ने अनुमान गरिएको छ। यथार्थ पत्ता लागेको छैन।

चिनियाँ वसन्त चाडको समय र विशेषतः सुरुमा उहानमा मात्र यो संक्रमण देखिनुले कतै चीनको तीव्र प्रगति देख्न नसकेर ‘अमानवीय हर्कत’ गरेको हो कि भन्ने शंकासमेत उब्जिएको छ। विश्वमा आणविक युद्धको त्रास छँदै छ, शत्रु ठानेकालाई परास्त गर्न विषाक्त वा रोगजन्य ब्याक्टेरिया वा भाइरसलाई जैविक हतियारका रूपमा प्रयोग गर्ने सम्भावना नभएको पनि होइन।

बेइजिङस्थित जनबृहत् सभा भवनमा जनवरी २८ मा विश्व स्वास्थ्य संगठनका महाप्रबन्धक टेड्रोस अधानोभसँग भेटवार्ता गर्दै राष्ट्रपति चिनफिङले यस महामारीलाई ‘दुष्ट राक्षस’को संज्ञा दिएका थिए। उनले भाइरस रोकथामलाई उच्च महत्त्व दिई परास्त गर्न सबैसँग आह्वान गरेका थिए।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेलगत्तै अमेरिकाले आफ्ना नागरिकलाई चीन उच्च जोखिममा रहेको भन्दै भ्रमण नगर्न आदेश जारी गर्‍यो। चीनबाट जाने चिनियाँ र चीनमा रहेका विदेशीलाई पनि अमेरिका प्रवेशमा अस्थायी रोक लगाइएको छ। यसले अमेरिका र चीनबीचको घर्षण फेरि सतहमा आएको देखाउँछ।

भाइरसविरुद्धको युद्धमा धेरै मुलुकले साथ दिए पनि अमेरिकाले ठोस सहयोग नगरेको र आवश्यकताभन्दा बढी चासो राखेको चिनियाँ विदेश मन्त्रालयले बताएको थियो। अन्य मुलुकमा भाइरस फैलिएपछि संगठनले अन्तर्राष्ट्रिय चिन्ताको विषय भन्दै संकटकाल घोषणा गरेको थियो।

‘यो समय तथ्यका लागि हो, भयका लागि होइन। विज्ञानका लागि हो, हल्लाका लागि होइन’, उसले भनेको थियो, ‘यो समय एकताका लागि हो, निन्दाका लागि होइन।’ अमेरिकासहित धेरै मुलुकले चीनसँगको हवाई सम्पर्क विच्छेद गर्दै व्यापार र पर्यटनको क्षेत्रमा खलल पुर्‍याएका छन्।

अस्ट्रेलियाका मिडियाले कोरोनालाई ‘चाइनिज भाइरस’ भनेर लेखे। विश्वका अरू भागमा चिनियाँमाथि नकारात्मक व्यवहार गरिन थालेको छ। कोरोना महामारीले तीन सातादेखि चिनियाँ र चीनमा रहेका सबैको दैनिक जीवनमा ठूलो असर पारेको छ। सार्वजनिक स्थलहरूमा भेला वर्जित गरेकाले देशको अर्थतन्त्रमा धक्का पुगेको छ। तर, सबल अर्थतन्त्र भएकाले ठूलो असर नपर्ने चीनले जनाएको छ। बेइजिङबाट अजय अलौकिकले लेखेकाे यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएकाे छ। 

महामारीले विश्व अर्थतन्त्रलाई भने ठूलो क्षति पुर्‍याएको छ। चिनियाँ पर्यटकमा भर परेका धेरै मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको छ। भ्रमण वर्ष मनाइरहेको नेपाललाई चिनियाँबाट ठूलो आशा थियो। नवीन रेशममार्गअन्तर्गत विश्वका धेरै क्षेत्रमा पूर्वाधार परियोजनाका कामसमेत ठप्प छन्।

चीन सरकारले उहानसहित विभिन्न सहरलाई शिल गरेबाट भाइरस सजिलै फैलिन पाएको छैन। प्रधानमन्त्री ली खछ्याङ पनि निरीक्षण र निर्देशनका लागि उहान पुगे। चीनले चमत्कारको नमुना पेस गर्दै १० र १४ दिनमा हजार र १३ सय शैय्याको मोबाइल अस्पताल बनाएर उपचारको प्रत्याभूति गर्‍यो।

उसले सभागृह, खेल भवनलाई अस्पतालमा परिणत गरिदिएको छ। हजारौं चिकित्सक तथा स्वास्थ्यकर्मी अति जोखिम क्षेत्रमा खटिएका छन्। चीनसँग सन् २००३ मा फैलिएको महामारी ‘सार्स’लाई परास्त गरेको अनुभव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad