छापा खबर


निर्मला पन्त प्रकरणमा फेरि दिलीपसिंह बिष्टलाई नै पक्राउ गर्ने तयारी, यस्ता उनी विरुद्धका प्रमाण

निर्मला पन्त प्रकरणमा फेरि दिलीपसिंह बिष्टलाई नै पक्राउ गर्ने तयारी, यस्ता उनी विरुद्धका प्रमाण

नेपालखबर
माघ २७, २०७६ सोमबार १:५८,

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनामा यसअघि बनेको प्रतिवेदन गलत भएको भन्दै प्रहरीले अर्को प्रतिवेदन बनाएको छ।

डिआइजी सुरज केसी नेतृत्वको पुनरावलोकन समितिले एआइजी धिरु बस्नेत नेतृत्वको प्रतिवेदन गलत रहेको निष्कर्ष निकालेको छ।

नयाँ प्रतिवेदन कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले बताएका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

‘डिएनए परीक्षणमा त्रुटि भएको कुरा आएपछि पहिलाको प्रतिवेदनमा रिभ्यु गर्न कमिटी बनेको थियो,’ डिआइजी क्षेत्रीले भने, ‘अब अन्य कोणबाट पनि अनुसन्धानका लागि कार्य तथा अपराध अनुसन्धान विभागलाई प्रतिवेदन पठाइएको छ।’

नयाँ प्रतिवेदनमा दिलीपसिंह विष्ट नै अभियुक्त हुने प्रबल सम्भावना रहेको औँल्याइएको छ ।

घटनाको करिब एक महिनापछि पक्राउ परेका विष्ट डिएनए नमिलेपछि छुटेका थिए ।

दिलीपविरुद्ध के–के छन् प्रमाण?
घटनाको डेढ वर्षपछि परिस्थितिजन्य प्रमाण र स्थानीयको भनाइका आधारमा दिलीप नै यो घटनाका अभियुक्त भएको निष्कर्षमा प्रहरी पुगेको छ ।

उनले प्रहरीसँग गरेको बयान र घटना प्रकृति ठ्याक्कै मिल्ने भएकाले त्यो नै विष्टविरुद्ध सबैभन्दा ठूलो प्रमाण भएको प्रहरी अधिकारीहरूको भनाइ छ । उनले प्रहरीसामु देबे्र हातले घाँटी अठ्याएर आफूले निर्मलाको हत्या गरेको बताएका थिए ।

रिपोर्टमा देब्रे हात नै प्रयोग भएको आएको थियो । निर्मलाको सुरुवाल फाटेको भनेर उनले बताएका थिए, जुन कुरा प्रहरीको मुचुल्कामा थिएन । तर, निर्मलाकी आमालाई थाहा थियो । निर्मलाको साइकल बिग्रिएपछि बनाइदिने बहानामा आफूले नै खोलापारि लगेर बलात्कार गरेर उखुबारीमा फालेको बताएका थिए ।

उनको भनाइ र घटनास्थलको अवस्था ठ्याक्कै मिलेको थियो । सोही आधारमा निर्मलाकी आमाले उनी नै अभियुक्त भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

त्यस्तै, त्यो दिन विष्टलाई घटनास्थलनजिकै देखेको भनेर दुई स्थानीयले कागज गरिदिएका छन् । घटनापछि तीनजना महिलालाई उनले यौन दुव्र्यवहार गरेको विवरणसमेत प्रहरीले स्थानीयमार्फत संकलन गरिसकेको छ । अर्का एक स्थानीयसँग निर्मलालाई मारेको भनेर स्वीकार गरेको भिडियोसमेत प्रहरीले प्राप्त गरेको छ ।

त्यस्तै, सिआइबीबाट खटिएका अन्य अनुसन्धान अधिकृतहरूले समेत दिलीप नै अभियुक्त हुने परिस्थिति देखिएको भनेर रिपोर्ट दिएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुसन्धान प्रतिवेदनमा यी सबै विवरण उल्लेख गरिएको छ ।

दिलीपलाई पक्राउ गर्नकै लागि महानिरीक्षक खनालले गत १९ माघमा पुनरावलोकन समिति गठन गरेका थिए । समितिले शुक्रबार महानिरीक्षक खनाललाई रिपोर्ट बुझाएको हो ।

समितिमा एसएसपी दीपक थापा, एसपी गोपालचन्द्र भट्टराई, डिएसपीहरू अवदेश विष्ट, गणेशबहादुर श्रेष्ठलगायत थिए । १३ वर्षीया निर्मला पन्तको साथीको घरबाट फर्कदै गर्दै १० साउन २०७५ मा बलात्कारपछि हत्या गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad