छापा खबर


मालपोतका पियनको आम्दानी १० करोड, अख्तियारले थाल्यो छानविन

मालपोतका पियनको आम्दानी १० करोड, अख्तियारले थाल्यो छानविन

नेपालखबर
माघ १७, २०७६ शुक्रबार १:३०,

सरकारी सेवामा काम गर्ने कार्यालय सहयोगी (पियन) को सम्पत्ति कति होला? सामान्यतया यसको सहज उत्तर आउँछ, मुस्किलले जीवनयापन गर्न पुग्नेले कति सम्पत्ति जोड्ला र

तर, यो आमधारणालाई चकित पार्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार एकजना कार्यालय सहयोगीविरुद्ध मुद्दा दायर गरेको छ, जसले सरकारी सेवामै रहेर करिब नौ करोड रुपैयाँ अवैध सम्पत्ति जोडे।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन्।

आयोगले मालपोत कार्यालय चाबहिल (हाल निलम्बित) का कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध अकुत सम्पत्ति आर्जनको कसुरमा आठ करोड ९८ लाख ५८ हजार रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

लामो समय मालपोत कार्यालयमा बसेका उनले अवैध गतिविधिबाटै पैसा कमाएको आयोगले जनाएको छ।

‘वैध आय ७४ लाख ७३ हजारको तुलनामा आठ करोड ९८ लाख ५८ हजारबराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएबाट निजको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आयो,’ आयोगले अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ, ‘निजले राष्ट्रसेवक भएपश्चात् के–कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भनेर पुष्टि गर्न नसकेबाट गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐनबमोजिम कसुर गरेको पुष्टि भयो।’

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम आठ करोड ९८ लाख ५८ हजार रुपैयाँ बिगो तथा बिगोबमोजिम जरिवाना र कैद सजाय माग गरेको छ।

त्यस्तै, उनले पुष्टि गर्न नसकेको बिगो रकम जफत गर्नसमेत आयोगले माग गरेको छ । सम्पत्ति जफत गर्ने प्रयोजनका लागि श्रीमती, आमा र भतिजासमेतलाई आयोगले प्रतिवादी कायम गरेको छ।

बस्नेत १९ कात्तिक ०४५ मा मालपोत विभाग काठमाडौंबाट सरकारी सेवा प्रवेश गरेका थिए । त्यसयता आर्थिक वर्ष ०७५–७६ सम्मको ३० वर्ष सेवाअवधिमा बस्नेतले आर्जन गरेको सम्पत्ति र लगानी तथा खर्चमाथि आयोगले अनुसन्धान गरेको थियो ।

बस्नेतले पदीय दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको तथा अस्वाभाविक र उच्च जीवनयापन गरिरहेको उजुरी परेपछि आयोगले बस्नेतको सम्पत्ति छानबिन गरेको थियो ।

सरकारी सेवामा प्रवेश गरेयता आव ०७५–७६ सम्ममा बस्नेतको आम्दानी ७४ लाख ७३ हजार रुपैयाँ देखिएको अख्तियारले जनाएको छ । यो उनको तलब तथा पारिश्रमिक बचत, घरजग्गा तथा सवारीसाधन बिक्री, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कर्जा र आमा टुककुमारी बस्नेतको पेन्सन बचतसहितको आय हो । जब कि त्यही अवधिमा उनको लगानी तथा खर्च नौ करोड ७३ लाख ३१ हजार रुपैयाँ भेटिएको छ।

पक्राउ पर्दा ११ लाख बरामद
उजुरी परेपछि आयोग टोलीले २५ असोज ०७५ मा बस्नेतलाई पक्राउ गरेको थियो । पक्राउ गर्दा आयोगले उनीबाट ११ लाख रुपैयाँ बरामद गरेको थियो । सो रकमको स्रोत खुल्न सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad