नेपाली समाजमा आत्महत्या लगायतका सामाजिक समस्याका अनेक क्रम देखिए पनि कारण भने एकै देखिँदैन।
कतिपय घटनामा ऋणभारलाई दोष दिइएको पनि विभिन्न अनुसन्धानमा पाइएको छ। यस्तै आत्महत्याका घटनाको मूल कारण ऋणभार देखाइने र यसले अनेकन विकृतिजन्य समस्या ल्याउने गरेको पाइएको खबर आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन्।
ऋण तिर्न नसकेकै कारण विनय लामिछानेको परिवारले सामूहिक आत्महत्या गरेको भनिएको छ । प्रहरी अनुसन्धानअनुसार भने सोही कारण नै हो भन्ने ठाउँ नदेखिएको बताइन्छ।
त्यस्तै कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्काले पनि बैङ्कको ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका छन्।
लामिछाने परिवारको सामूहिक आत्महत्या घटना भएको एक दिनअगाडि बिहीबार वडाध्यक्ष खड्का भारतको बहराइचमा मृत अवस्थामा भेटिएका हुन्।
खड्काको साथमा फेला परेको दुई पेज लामो ‘सुसाइड नोट’मा वाणिज्य बैङ्कलाई दोषी देखाइएको छ । घरकर्जास्वरूप लिएको ऋण तिर्न नक्सदा बैङ्कले तनाव दिएकाले गलत बाटो रोज्न बाध्य भएको सुसाइट नोटमा उल्लेख छ।
चर्चित गायक रामकृष्ण ढकालको घरपरिवार टुक्य्राउन वित्तीय संस्थाको ऋण नै मुख्य दोषी रहेको बताइएको छ।
यस विषयमा गायक ढकालले मुख खोल्न नचाए पनि केही समयअघि ढकाल र पत्नी नीलम शाहबीच रहस्यमय ढङ्गले सम्बन्धविच्छेद भएको छ।
ललितपुर सैँबुस्थित घरजग्गा धितो राखी एक करोड ८० लाख रुपियाँ ऋण लिएको ढकाल दम्पतीलाई पाँच करोड ऋण नतिरेको भन्दै एक सहकारीले सार्वजनिक सूचना नै जारी गरेको थियो। तर पारिवारिक समस्याजनाउँदै ढकाल दम्पतीले सम्बन्ध विच्छेद गरेको हो।
उल्लिखित यी तीन घटनाबाट प्रस्ट हुन्छ, बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण कति जटिल र अकल्पनीय बन्छ।
“ब्याज तिर्न नसकी ऋणीले आत्महत्या जस्तो गलत बाटो रोज्नुपछाडि बैङ्क तथा वित्तीय संस्था दोषी देखिन्छन्”, राष्ट्र बैङ्कका प्रवक्ता डा. गुनाकर भट्ट भन्छन्, ‘यस्ता समस्या आउन नदिन (वेस्ट इनकम टु सर्भिस रेसियो) आम्दानीको आधारमा ऋण तिर्न सक्ने अनुपात नीति लागू गरिएको छ। घाँटी हेरी हाड निल्नू भनेझैँ घरजग्गा, गाडीलगायत विलासितामा ऋण दिँदा ऋणीको किस्ता तिर्न सक्ने क्षमता मूल्याङ्कन गरी ऋण प्रवाह गर्नुपर्छ।’
राष्ट्र बैङ्कले निर्धारण गर्ने ब्याजदरभन्दा अतिरिक्त सेवा शुल्क चर्को र त्यसमाथि बैङ्क तथा वित्तीय संस्थाले दिने तनाव मुख्य चुनौती देखिएको छ ।
बैङ्क तथा वित्तीय संस्थाका सञ्चालकहरू भने इमानदार ऋणीको अभाव खड्किएको बताउँछन्।
चल–अचल सम्पत्ति तथा धितो जमानत मूल्याङ्कन गरी ऋण प्रवाह गरिने भएकाले ऋणीहरूले गर्ने गलत निर्णयमा बैङ्कहरू दोषी नभएको दाबी बैङ्कर्स एसोसिएसन अफ नेपालको छ।
आत्महत्याका घटना बढ्नुमा प्रेम, पैसा र पागलपनलाई मुख्य दोषी ठानिएको छ। मनोचिकित्सक रविन श्रेष्ठका अनुसार किशोरकिशोरीले प्रेमसम्बन्धका कारण आत्महत्या गर्ने गर्छन्, त्यसभन्दा माथिकाले भने आर्थिक कारोबार बिग्रिएर पनि आत्महत्या गर्छन्।
विशेष गरी आत्महत्याका पछाडि आर्थिक पक्ष (पैसा) र प्रेम सम्बन्ध जोडिएको हुन्छ । यी दुई तनाव व्यवस्थापन गर्न नसक्दा पीडित गलत बाटो रोज्न बाध्य हुने मनोचिकित्सक श्रेष्ठले बताए।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार आत्महत्याका घटना प्रत्येक वर्ष १३ प्रतिशतले वृद्धि भइरहेको छ । आत्महत्यामा जानुअघिको अवस्थालाई डिप्रेसन पनि भनिन्छ।
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा मात्र पाँच हजार ३४६ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ८० प्रतिशत डिप्रेसनका बिरामी छन्।
प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री डिप्रेसन भएकाका लागि सहज र सर्वसुलभ मनोपरामर्श अभाव रहेको बताउछन्। ‘यस्ता बिरामीलाई परामर्श दिने दक्ष जनशक्तिको खाँचो छ,’ उनले भने, ‘यसको सुरुआत परिवारको सदस्यबाटै हुनुपर्छ।’

प्रतिक्रिया