छापा खबर


आफूले सिर्जना वा उत्पादन नगरेका ५० हजार गीतको कपिराइट म्युजिक नेपालद्वारा कब्जा

आफूले सिर्जना वा उत्पादन नगरेका ५० हजार गीतको कपिराइट म्युजिक नेपालद्वारा कब्जा

नेपालखबर
माघ ५, २०७६ आइतबार १:१६,

सन् १९७० अर्थात् ०२७ तिर प्रेमध्वज प्रधान मुम्बईमा थिए । चर्चित संगीतकार मनोहर सिंहसँग संगत थियो ।

मनोहरले सुझाब दिए– गीति एल्बम निकाल्नुस् । रहर त थियो, तर उनीसँग पर्याप्त लगानी थिएन । दुःख गरेर पैसाको जुगाड गरे । मनोहरले नै म्युजिक एरेन्ज गरिदिए । यसरी १० गीतको एल्बम तयार भयो । २४ वटा कपी बोकेर प्रेमध्वज काठमाडौं आए ।

अनि रेडियोमा गुन्जिन थाल्यो– घुम्तीमा नआऊ है । गायक र संगीतकारका रूपमा प्रेमध्वजको चर्चा चुलियो । सँगै थियो अर्को गीत- मेरो मखमली घामको झुल्काझुल्का मायालु ।

सबैभन्दा ठूलो कमाइ श्रोताको माया हो । प्रेमध्वज कृतज्ञ छन्, तर उनी आश्चर्यमा परे जब उनले दुःखले रेकर्ड गराएका गीत अचानक म्युजिक नेपालको डिजिटल प्लेटफर्ममा बज्न थाले ।

‘मलाई कुनै जानकारी नदिई त्यो एल्बमका गीत म्युजिक नेपालले आफ्नै कपिराइट बनाएछ । युट्युब, सिआरबिटी, पिआरबिटी, आइट्युन्स, अमेजनलगायत विभिन्न डिजिटल प्लेटफर्ममा बेची पनि सकेछ । यत्रो ठूलो बदमासी कुनै सर्जकले कल्पना पनि गर्न सक्दैन,’ उनी भन्छन्।

यसबारेमा सोधखोज हुन थालेपछि म्युजिक नेपालका सञ्चालक सन्तोष शर्माले फोन गरेर प्रेमध्वजलाई भने, ‘तपाईंलाई सम्मान गर्ने तयारी गर्दै छौँ, नगद पुरस्कार पनि दिन्छौँ ।’

प्रेमध्वजले जवाफ फर्काए, ‘तपाईंको सम्मान र पुरस्कार म लिन सक्दिनँ । मैले मुम्बईमा दुःखले रेकर्ड गरेको गीत तपाईंले सोध्दै–नसोधी बेचिदिनुभयो । तपाईंको पुरस्कार होइन, क्षतिपूर्ति चाहिन्छ।’

त्यो गीत मात्र होइन, उनले रेडियो नेपालमा रेकर्ड गराएकामध्ये करिब ४० गीत विनाअनुमति म्युजिक नेपालले बिक्री–वितरण गरिरहेको छ ।

‘मेरो छोराले अमेरिकाबाट खबर गरेपछि मात्र थाहा पाएँ । त्यस्तै, रत्न रेकर्डिङबाट उत्पादन भएका मेरा अरू गीत पनि उनीहरूले विनाअनुमति व्यवसाय गरिरहेका छन्,’ प्रेमध्वजले भने।

नारायणगोपाल, भक्तराज आचार्य, अम्बर गुरुङ, प्रेमध्वज प्रधान, यादव खरेल, अरुणा लामा, तारादेवीदेखि नयाँ सर्जकसम्मका सिर्जना अनधिकृत रूपमा रिङ ब्याक टोन र युट्युबलगायत डिजिटल प्लेटफर्ममा बेचेर म्युजिक नेपालले करोडौँ लुट गरिरहेको छ।

न्यायका लागि सर्जकहरू संगठित हुँदै गएका खबर आजको नयाँ पत्रिका दैनिकमा नवीन प्यासीले लेखेका छन्।

अम्बर गुरुङले कति गीत गरे, यकिन तथ्यांक छैन । तर, सबैजसो गीत म्युजिक नेपालले लगेको छ ।

अम्बर गुरुङका छोरा किशोर भन्छन्, ‘मसमेत सहभागी भएर सन् १९८६÷८७ तिर पुल्चोकको स्याङ स्टुडियोमा ‘कहिले लहर कहिले तरंग’ एल्बम रेकर्ड गराएका थियौँ । त्यतिवेला क्यासेट निस्किएको थियो । पछि त्यो एल्बमलाई सिडीमा निकाल्न म्युजिक नेपालले सम्झौता गर्यो । त्यही सम्झौताका आधारमा एल्बमका गीतहरू म्युजिक नेपालले संसारभर बेचिरहे ।’

बिरामी बाबुको सहयोगार्थ गत वैशाखमा भक्तराज आचार्य सहयोग साँझ भएको थियो । त्यहाँ छोराहरूले बाबुको गीत ‘हजार सपनाहरूको माया लागेर आउँछ’ गाएका थिए, जसको भिडियो उनीहरूले युट्युबमा अपलोड गर्न खोजेका थिए ।

‘तर, विडम्बना १’ सत्यराज भन्छन्, ‘म्युजिक नेपालले कपीराइट दाबी गरेको भनेर युट्युबले हटाइदियो । यहाँसम्मको अन्याय छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad