छापा खबर


जनप्रतिनिधिदेखि डनसम्म रोडा-बालुवा तथा क्रसर उद्योगका ठेकेदार

जनप्रतिनिधिदेखि डनसम्म रोडा-बालुवा तथा क्रसर उद्योगका ठेकेदार

नेपालखबर
माघ ३, २०७६ शुक्रबार २:५४,

पूर्वसांसद तीर्थ लामाले काभ्रेको खार्पाचोकमा नाङसाल क्रसर चलाएका छन् ।

सो क्रसरका कारण बिपी राजमार्ग नै जोखिममा परेको भन्दै पटक–पटक स्थानीयले विरोध गर्दै आएका छन् । कांग्रेसकै अर्का नेता कुन्साङ लामाको नमोबुद्ध–६ मा ब्लु साइन स्टोन क्रसर उद्योग छ ।

उनी नमोबुद्ध नगरपालिकाको मेयरमा पराजित उम्मेदवार हुन् । त्यसको नजिकै डन पृष्ठभूमिका गणेश लामाको क्रसर छ । उनी कांग्रेस नेता विजयकुमार गच्छदारका विश्वासपात्र हुन्।

यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

नेकपाका नेताहरू प्रेम लामा र उज्ज्वल लामाले पनि क्रसर चलाएका छन् । प्रेम जिल्ला समन्वय समितिका सदस्यसमेत हुन् । त्यस्तै प्रदीप बोगटीले लामो समयदेखि ढुंगाखानी चलाउँदै आएका छन् ।

गुल्मीको रेसुंगा नगरपालिकाका मेयरको क्रसर उद्योग छोराको नाममा इस्मा गाउँपालिका–२ पनाहामा ठूलो बेनामे क्रसर सञ्चालनमा छ।

दर्ता त परको कुरा, वातावरणीय मूल्यांकनसमेत नगरी सञ्चालन गरिएको यो क्रसर सञ्चालकमध्ये एक वीरेन्द्र भुसाल रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालका छोरा हुन्।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ स्थित रक्तमाला र पाल्चोकी इन्फ्रास्ट्रक्चर क्रसरमा भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको लगानी छ।

मेलम्ची–१३ को गंगा–इन्द्रावती क्रसरमा पनि उनको सेयर छ । त्यस्तै मेलम्ची–१३ का वडाध्यक्ष देवेन्द्र घोरासैनीले पनि चौतारा–साँगाचोकगढी नगरपालिका–११ मा कालिन्चोक भगवती एग्रिगेट क्रसर चलाएका छन्।

हुलाकी राजमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी शर्मा जेभीले कञ्चनपुरको वेदकोट नगरपालिका–३ भम्कामा अवैध रूपमा क्रसर चलाएको छ।

सो कम्पनीका सञ्चालक भीम साउद परशुराम नगरपालिका डडेल्धुराका मेयर हुन् । जनप्रतिनिधि भएरसमेत मापदण्डविपरीत क्रसर चलाएको भन्दै स्थानीयले विरोध गरेका छन्।

दोलखाका आठमध्ये दुई क्रसरमा जनप्रतिनिधिको लगानी छ । कालिञ्चोक गाउँपालिका–७ स्थित गुमुखोला रोडा–ढुंगा उद्योग नेकपा दोलखाका अध्यक्षसमेत रहेका तामाकोसी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलको हो । मापदण्डविपरीत चलेको उनको उद्योगले तामाकोसी दोहनमा गरिरहेको छ।

झापाको बिर्तामोड–६ स्थित बुट्टाबारीमा पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको छ, कञ्चनजंगा क्रसर उद्योग जसका सञ्चालक हुन्, केदार गिरी । झापामा ‘क्रसर किङ’ भनेर चिनिने गिरी कांग्रेसका क्रियाशील सदस्य हुन् ।

क्रसरमा लगानी गर्नेमा मोरङका जनप्रतिनिधि झनै अगाडि छन् । केराबारी गाउँपालिका अध्यक्ष रोहती कार्कीले खदमखोला क्षेत्रमा कृष्ण क्रसर चलाएका छन् । त्यस्तै केराबारी–१० का वडाध्यक्ष जंग खवास र वडा नम्बर ८ का अध्यक्ष मनोज खड्का र वडा नम्बर ३ का अध्यक्ष भक्त श्रेष्ठको पनि महादेव क्रसर छ।

बाराका सिडिओ भन्छन्–अवैध डोजर चलाउने ठेकेदारलाई जिससले पुरस्कृत गर्‍यो

बाराको पसाहा खोलामा मापदण्डविपरीत डोजरले बालुवा निकालेको उजुरी परेपछि सिडिओ फणीन्द्रमणि पोखरेल गत बिहीबार अनुगमनमा गए ।

ओम सप्लायर्स एन्ड ट्रेडर्सनामक कम्पनीलाई जितपुर–सिमरा नगरपालिकाले एउटा डोजर लगाएर बालुवा निकाल्न ठेक्का दिएको थियो । तर, खोलामा दुईवटा डोजर प्रयोग भइरहेको देखेपछि सिडिओ पोखरेलले एउटा डोजरको साँचो खोसे ।

साँचोसहित उक्त कम्पनीलाई कारबाही गर्न जिल्ला समन्वय समितिलाई पत्र लेखे । तर, समन्वय समितिले कारबाही होइन, सो कम्पनीलाई डोजरको साँचो फिर्ता गरिदिएर थप दोहनको बाटो खोलिदियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad