छापा खबर


डेपुटी गभर्नर श्रेष्ठले पाए सफाइ, भन्छन्,‘अब गभर्नर हुने हो’

डेपुटी गभर्नर श्रेष्ठले पाए सफाइ, भन्छन्,‘अब गभर्नर हुने हो’

नेपालखबर
माघ ३, २०७६ शुक्रबार २:५६,

सम्पत्ति शुद्धीकरणमै संलग्न र यससम्बन्धी क्रियाकलापमा अहसयोगलगायत आरोप लागेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाइ दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सफाइ दिएको सञ्चार, सूचना प्रविधी मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताए।

असोज ३० गतेको मन्त्रिपरिषद बैठकले श्रेष्ठले सम्पत्ति शुद्धीकरण गरेको, वित्तीय क्षेत्रमाथि अनुचित गतिविधी गरेको, सम्पत्ति शुद्धीकरण निवारणका प्रयासलाई अवमूल्यन गरेको, बैंक तथा वित्तीय संस्थाको नियमनमा बदनियत राखेको, विदेश भ्रमण जाँदा फर्जी कागजात पेश गरी भत्ता भुक्तानी लिएको आरोप किटान गरी छानबिन गर्ने निर्णय गरेको थियो। राष्ट्र बैंकका सञ्चालक समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा गठित समितिले उल्लेखित आरोपमाथि छानबिन गरी प्रतिवेदन मन्त्रीपरिषदमा पेस गरेको थियो।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले प्रश्न उठेका विषयमा केही पनि नभेटिएपछि सफाइ दिएको बताए।

‘उहाँमाथि छानबिन भएको हो। राष्ट्र बैंकबाट छानविन प्रतिवेदन पनि प्राप्त भएको हो। छानविनमा कुनै त्यस्तो नदेखिएपछि सफाइ पाएको अवस्था हो,’ उनले भने।

यसबारेको मन्त्रिपरिषदको निर्णय भने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छैन। एक सञ्चारकर्मीले गरेको प्रश्नमा उनले केही पनि फेला नपरेपछि सफाइको निर्णय भएको सुनाएका हुन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

‘प्रश्न उठेपछि छानबिन हुनु स्वभाविक हो, छानबिन हुँदा केही पनि पाइएन भने फटाहा हो, भ्रष्ट हो भनेर करार गर्न मिल्दैन,’ उनले भने, ‘जे कुरा खोजबिन भयो, त्यो नभेटिएपछि सफाई पाएको अवस्था छ।’

प्रधानमन्त्री केपी शर्मा ओली नै श्रेष्ठमाथि लागेको आरोपमाथि सहमत भएपछि उनलाई निलम्वन गरी स्पष्टीकरण सोध्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो।

अर्थमन्त्री युवराज खतिवडा अमेरिका भ्रमणमा रहेको बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले श्रेष्ठका क्रियाकलापबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएलगत्तै निर्णय भएको थियो।

‘सफाइ दिने निर्णय पनि प्रधानमन्त्री ओलीकै चाहनाअनुसार भएको हो,’ एक मन्त्रीले भने, ‘प्रधानमन्त्री पत्नी राधिका शाक्य राष्ट्र बैंकमा कार्यरत रहँदा निकटसम्बन्ध रहेका श्रेष्ठले पटक–पटक भेट गरी बरखास्त नगरिदिन अनुरोध गरे पनि यस्तो निर्णय भएको अनुमान गरेका छौ।’

शाक्यले राष्ट्र बैंकको निर्देशक पदबाट अवकास पाएकी हुन्। ‘उनी राष्ट्र बैंकको बैंकिङ विभाग प्रमुख छँदा श्रेष्ठनजिक रहेर काम गरेका व्यक्ति हुन,’ राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘प्रधानमन्त्री दम्पतीलाई श्रेष्ठले धेरैपटक अनुरोध गरेपछि सफाइ पाएको बुझिन्छ।’

श्रेष्ठले मन्त्रिपरिषदको निर्णय पाइनसकेको बताए। ‘सञ्चारमाध्यममा सुनेको हो। कसैले गलत नियतले दुख दिए पनि डराउनु पर्दैन भन्ने सरकारको यो निर्णयले देखाएको हो। मुलुकमा कानुन र विधिको शासन छ भन्ने प्रमाणित भएको छ,’ उनले भने, ‘गलत नगर्दा डराउनु पर्दैन भन्ने भएको छ। अब गभर्नर हुने हो। अब त गभर्नर पद चाहियो भनेर कराउने हो।’

आगामी फागुनमा वर्तमान गभर्नर चिरन्जिवी नेपालको कार्यकाल पूरा हुँदैछ। आफू अब त्यसको दावेदार रहेको श्रेष्ठले बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad